|

म्याग्दी : सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका कार्यकर्ताबाट मागको रकम चन्दा नदिएको आक्रोशमा आफूमाथि आक्रमण भएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताएका छन्।

बिहीबार बिहान करिब ९ बजे थापालाई प्रतिबन्धित विप्लव समूहका ४ जना कार्यकर्ताले वडा कार्यालयमा नै आएर मोसो र चप्पलको माला लगाइदिएर भागेका थिए।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बेनी नगर कमिटीले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफूमाथि भएको अमानवीय व्यवहारको प्रमुख कारण नै चन्दा नदिएको भएको बताए। उनका अनुसार विप्लव समूहले थापाले आर्थिक अनियमितता गरेको, सेवाग्राहीलाई पक्षपातपूर्ण व्यवहार गरेकोलगायतका सातबुँदे आरोप लगाएका थिए।

पत्रकार सम्मेलनमा आफूलाई मासिक तलब बराबरको रकम चन्दा दिनभन्दै ३ पटकसम्म फोन आएको वडाअध्यक्ष थापाले बताए। उनले अनियमितताको कुनै पनि प्रमाण पुष्टि भएमा अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिनेसमेत बताए। ‘मैले जनताको एक पैसा पनि दुरुपयोग गरेको छैन, चन्दा नदिएपछि आरोप लगाएर आक्रमण गरेका हुन्' उनले भने ।

त्यसैगरी वडा कार्यालयको सेवा लिने क्रममा राजश्वमा कुनै भेदभाव नभएको समेत उनले प्रष्ट गरेका छन्। वडामा विनियोजित विभिन्न शीर्षकमा बजेटमा अनियमितता गरेको ७ बुँदासहित कार्यालयमा प्रवेश गरेका विप्लव समूहका चारजना कार्याकर्ताले थापालाई मोसो लगाएपछि असुरक्षित भएको थापाको भनाइ छ।

नेकपा बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी र सचिव राजकुमार थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा वडा अध्यक्षलाई मासिक तलब बराबरको चन्दा माग गरिएका र पटकपटक चन्दाको नाममा धम्कीसमेत आउने गरे पनि वेवास्ता गरेकाले योजनाबद्ध तरिकाले आक्रमण भएको बताइएको थियो।

विज्ञप्तिमा पटकपटक चन्दा आतंक मच्चाउँदै नदिए भौतिक कारबाहीमा उत्रिने, विकास निर्माणका कार्यमा अवरोध गर्ने, कानुनलाई हातमा लिएर आतंक मच्चाउने काम विप्लव समूहबाट भएकोले कारबाहीको दायरामा ल्याउन प्रशासनसंग पार्टीले माग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.