|

सिन्धुली : भूकम्प गएको ५१ महिना बित्न लाग्दा सिन्धुलीमा करिब ५१ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्।

लाभग्राहीको सूचीमा परेकामध्ये १९ हजार २३८ जना अर्थात् ५० दशमलब ६३ प्रतिशत भूकम्प पीडितले घर निर्माण गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीले जनाएको छ।

सिन्धुलीमा निजी आवास पुनर्निर्माण लाभग्राही सूचीमा ३८ हजार ५४ जना सूचीकृत रहेका छन्। त्यस्तै, प्रवलीकरण (घर मर्मत)तर्फका लाभग्राहीको सङख्या १४ हजार २०६ रहेको छ। कार्यालयका अनुसार पुनर्निर्माणतर्फका लाभग्राहीमध्ये निजी आवास निर्माण गर्न पहिलो किस्ताका लागि ३६ हजार ९४८ जना (९७.०९ प्रतिशत), दोस्रो किस्ताका लागि २८ हजार ८८ जना (९४.३९ प्रतिशत) र तेस्रो किस्ताका लागि १९ हजार २३८ जना (५०.६३ प्रतिशतले सम्झौता गरेका छन्।

प्रवलीकरणका लाभग्राहीमध्ये नौ हजार ४६ जना (८८.६२ प्रतिशत)ले मात्रै पहिलो किस्ताका लागि सम्झौता गरेका र दोस्रो किस्ताका लागि अहिलेसम्म कसैले पनि सम्झौता नगरेको कार्यालयका प्रमुख सूर्यप्रकास विष्टले जानकारी दिए। २०७६ जेठ समान्तसम्म लाभग्राहीको सूचीमा परेर पनि असार २१ सम्म सम्झौता नगर्ने पुनर्निर्माणतर्फका एक हजार १०६ जना र प्रवलीकरणतर्फका चार हजार ८४२ जनालाई आलटाल गरेको भन्दै सम्झौता तथा पहिलो किस्ता निकासा तत्काललाई  रोक्का गरिएको प्रमुख विष्टले बताए। 

त्यस्तै, सम्झौता गरी २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिने पुनर्निर्माणतर्फका एक हजार २९ जना र प्रवलीकरणतर्फका पाँच हजार १६० जना लाभग्राहीको पहिलो किस्ता रोक्का गरिएको छ। केन्द्रबाट अर्को आदेश नआइञ्जेलसम्म उनीहरुको सम्झौता तथा पहिलो किस्ता निकासा नहुने कार्यालय प्रमुख विष्टले जानकारी दिए।

भूकम्पीय आपतकालीन सहायता आयोजनाअन्तर्गत २९ किमी लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माण भएको। यस अवधिमा १० जना लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन्। निजी आवास बनाउन आवश्यक नपरेको भन्दै उनीहरुले रकम फिर्ता गरेका अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ।

सुनकोसी गाउँपालिका–६ शीतलपाटीमा नेपाल रेडक्रस जिल्ला शाखाले भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत ९०२ जना लाभग्राहीको निजी आवास बनाउने जिम्मा लिएकोमा ७९९ घर बनाएका छन्। 

शीतलपाटीका कुल ९०२ लाभग्राहीमध्ये ८९५ जनाले निजी आवासका लागि सम्झौता गरेका र बाँकी ९६ जनाको निजी आवास निर्माणको काम अन्तिम चरणमा रहेको रेडक्रसका जिल्ला शाखा सभापति अशोक श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.