विचार

संस्कृतको संस्कृति...

एशियाली देशमा बोलिने धेरै भाषाको आधार हो संस्कृत

साउन ३१, २०७६

    म संस्कृतको ज्ञाता होइन। मलाई संस्कृत मन पर्छ त्यसैले संस्कृतको पक्षमा बोल्छु, लेख्छु। मेरा पिताजी र मेरा दीक्षा गुरु दुवै संस्कृतका साधक हुनुहुन्थ्यो। मैले आफ्नो बाल्यकाल बटुकहरूका बीचमा बटुक नै बनेर बिताए। एउटा प्राकृतिक गुरुकुल नै मेरो पहिलो शिक्षालय थियो। आज यी सबै कुरा इतिहास बनेका छन्।

    मेरो कार्यक्षेत्र दर्शनशास्त्र र मनोविज्ञानमा समेटिएको छ। अल्पज्ञानी भए पनि संस्कृतले नै हाम्रो नेपालीपनको रक्षा गर्छ भन्ने मेरो विश्वास हिजोभन्दा आज बलियो भएको छ। नेपालमा संस्कृतको विकास होस् र मुलुक संस्कृतिको निर्यातक बनोस् भन्ने मेरो इच्छा बलवान हुँदैछ। बुबाको उत्तराधिकारमा मैले धेरै हस्तलिखित पुस्तकहरू प्राप्त गरेको छु। धेरै पुस्तकहरू आमासँग मागेर लगे। ती कहिल्यै फर्किने छैनन्। केही मसँग छन् तर चाँदीकीराले खाएर दिक्क पारेको छ। कहिले कपुरमा र कहिले नीमका पात ओढाएर राखेको छु।

    हाम्रा पुर्खाले बनारस गएर संस्कृत पढ्थे। पछि, मुस्लिमहरूले काशीनाथको मन्दिर ध्वस्त बनाएपछि भारतीयहरू पनि नेपालमा (हालको पर्वत जिल्लालाई उत्तरको काशी भनिन्थ्य्यो भन्ने कुरा स्व. डा. स्वामी प्रपन्नाचार्यले उल्लेख गरेका छन्) आएर संस्कृत पढ्थे। यसको प्रमाण हो- भारतमा विलुप्त भैसकेका कतिपय प्राचीन संस्कृत ग्रन्थहरू नेपालमा छन्। बेलायतका पुस्तकालयहरूमा समेत नेपालीले लेखेका पुस्तकहरू प्रशस्तै छन् भन्ने चर्चा सुनिन्छ।

    आज जसरी अंग्रेजी भाषा प्रयोग गर्नेहरूले आफूलाई आधुनिक अर्थात् मोर्डन मान्छन्। विडम्बना नै मान्नुपर्छ - अंग्रेजीले नेपालका अन्य स्थानीय भाषाहरू खर्लप्प निल्न लाग्दा ‘मोडर्न’हरू चिन्ता गर्दैनन्। तर, संस्कृतबाट सधैँ आफूलाई खतरामा रहेको देख्छन्!

    स्वदेश र विदेशमा रहेका अनुसन्धाताहरूले तथ्यको तथ्य खोज्नुपर्छ| बेलायत निवासी दिवाकर आचार्य, दुर्गाप्रसाद पोख्रेल, धनन्जय ढकाल, नारायण गाउँलेजस्ता संस्कृतका विद्वानहरूले यो विषयमा चासो लिनुहुन्छ, लिनुपर्छ भन्ने मैले निवेदन गर्छु। नेपालका अमूर्त तथा मूर्त इतिहासका प्रमाणहरूले संस्कृतलाई नेपालको प्राचीनतम् भाषाका रूपमा प्रमाणित गरेको छ। तर, यो लोक भाषा नै थियो भन्नचाहिँ सकिन्न।

    चाँगुनारायण मन्दिरका शिलालेखले यो प्रमाणित गरेको छ कि त्यस बखतका नेपालीहरूले अभिलेखहरू राख्न होस् वा सार्वजनिक कार्यक्रम गर्न होस् संस्कृत भाषाको प्रयोग गर्थे। नेपाल संस्कृत विश्व विद्यालयका अनुसन्धान प्रमुख प्रा. डा. काशीनाथ न्यौपानेका अनुसार आज पनि नेपालको पुरातत्त्व विभागमा ५० हजार संस्कृतका अप्रकाशित हस्तलिखित पुस्तकहरू सम्पादन, अनुवाद तथा प्रकाशनको पर्खाइमा छन्।

    प्रा. डा. न्यौपानेको उक्त भनाइले कुनै बेला नेपाल संस्कृतभाषाको केन्द्र रहेछ भन्ने सिद्ध गर्छ। उनको भनाई साँचो हो कि होइन? भने बुझ्न म आफैँ माइतीघरमा रहेको पुरातत्त्व विभागका कर्मचारीकहाँ पुगेको थिएँ। उनीहरू न्यौपानेको भनाइको सत्यपन गरेका छन्। केद्रीय पुस्तकालय कीर्तिपुर, नेपाल पुस्तकालय हरिहर भवन र केशर पुस्तकालयमा समेत व्यक्तिगत रूपमा संग्रह गरिएका हस्तलिखित संस्कृत साहित्यको लेखाजोखा गर्न बाँकी नै रहन्छ।

    आज जसरी अंग्रेजी भाषा प्रयोग गर्नेहरूले आफूलाई आधुनिक अर्थात् मोर्डन मान्छन्। विडम्बना नै मान्नुपर्छ - अंग्रेजीले नेपालका अन्य स्थानीय भाषाहरू खर्लप्प निल्न लाग्दा ‘मोडर्न’हरू चिन्ता गर्दैनन्। तर, संस्कृतबाट सधैँ आफूलाई खतरामा रहेको देख्छन्! नेपालमा भने राजा वीरेन्द्रको पहलमा संस्कृत विश्वविद्यालयको स्थापना भयो। सन् १९८६ मा उनले संस्कृत विश्वविद्यालय स्थापना गरेका थिए। यो एउटा राम्रो आरम्भ थियो। तर, संस्कृत विश्वविद्यालयको स्थापनालाई त्यसबेलाका राजनीतिक दलहरूले स्वागत गर्न सकेनन् बरु ‘राजतन्त्र टिकाउने षड्यन्त्र’ भनेर विरोध गरे। नेपालमा दलीय राजनीति गर्नेहरूको विडम्बना के हो भने यिनीहरूले सधैँ राजाका कामहरूको आलोचना मात्रै गरे। उनीहरूले थालनी गरेका असल कार्यहरूको प्रशंसा गर्न नसक्नु उनीहरूको हीनताबोध हो।

    आफ्नै देशको मौलिक भाषाको विरुद्ध उभिनु अनुचित थियो। विदेशीहरूले आइएनजीओ/एनजिओका फलैँचाहरू प्रयोग गरेर संस्कृतको जरो काट्ने काममा नेपाली जनजाति-आदिवासी तथा धर्म परिवर्तन गरेर इसाई बनेका समूहलाई अत्यधिक प्रयोग गरे र गरिरहेका छन्। राजनीतिक दलहरू पनि जानेर वा नजानेर यिनैका मतियार बन्न पुगे।

    शिक्षा राजाले आरम्भ गरे पनि प्रजाले आरम्भ गरे पनि राम्रो काम सबैका लागि राम्रै हुन्छ भन्ने कुरा आत्मसात् गर्न सकेनन्। राजाले त संस्कृत विश्वविद्यालयको स्थापना गरेर ‘राजतन्त्रलाई बलियो काम गरे रे!’ तर २०४६ पछि  संस्कृत विश्वविद्यालयले भोगिरहेको दुर्दशा निकै दयनीय छ। दलीय आस्थामा आबद्ध विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले मिलेर संस्कृत विश्वविद्यालयलाई ‘खुला’ राख्नु भन्दा ‘बन्द’ राख्ने कार्यलाई महत्त्व दिए। हाल १६९७ विद्यार्थी संख्या भएको यो विश्वविद्यालय थला परेको छ। यसका प्राज्ञिक कामहरू काकताली र दलीय झगडाहरू ‘असली काम’ बनेका छन् भन्दा अनुचित हुँदैन। विश्वविद्यालयसँग सम्बद्ध सज्जनहरूको वन्दना गर्छु र दुर्जनहरूको निन्दा। यसभन्दा धेरै नबोलौँ, नलेखौँ। संस्कृत विश्वविद्यालयको उत्थान देख्न र भोग्न पाइयोस्।

    संस्कृत विश्वविद्यालयमा पढ्ने छात्रछात्राहरूलाई शास्त्री देखि लिएर आचार्यसम्म छात्रवृत्तिको व्यवस्था गरिएको छ। जोसुकैले पनि संस्कृत पढ्न पाउँछन्। हिन्दु, जैन, बौद्ध, किराँती, बोन, मुस्लिम, इसाई तथा नास्तिकहरू र आदिवासी सबैका लागि संस्कृतको ढोका खुलै छन्। संस्कृत र संस्कृतिप्रति घृणा गर्नेहरूका लागि अध्ययन/अध्यापन भन्दा घृणावादप्रति प्रेम हुन्छ।

    यो विश्वविद्यालय संस्कृत सिक्न, अनुसन्धान गर्न चाहने विश्वभरिका विद्यार्थीहरूको तीर्थस्थल बनोस्। अहिले पनि संस्कृत विश्वविद्यालयमा पढ्ने छात्रछात्राहरूलाई शास्त्री देखि लिएर आचार्यसम्म छात्रवृत्तिको व्यवस्था गरिएको छ। जोसुकैले पनि संस्कृत पढ्न पाउँछन्। हिन्दु, जैन, बौद्ध, किराँती, बोन, मुस्लिम, इसाई तथा नास्तिकहरू र आदिवासी सबैका लागि संस्कृतको ढोका खुलै छन्। संस्कृत र संस्कृतिप्रति घृणा गर्नेहरूका लागि अध्ययन/अध्यापन भन्दा घृणावादप्रति प्रेम हुन्छ।

    त्रिभुवन विश्वविद्यालयको संस्कृत विभाग पनि बिरामी छ। माफ गर्नुहोला, भर्ना भएका विद्यार्थीहरूलाई नियमित पढाइन्न भनेको सुन्दा मन उदास भयो।

    दाङस्थित संस्कृत विश्वविद्यालयमा रहेका महत्त्वपूर्ण ग्रन्थ र ऐतिहासिक कागजात माओवादीले जलाएको घटनाले सबैको मन रुन्छ। देशलाई माया गर्ने माओवादी भए तिनको पनि मन रुन्छ र अहिले नरोएको भए कुरा बुझेपछि रुनेछ। यसै गरी संस्कृतका  ५० हजार हस्तलिखित अप्रकाशित पुस्तकहरू पुरातत्त्व विभागमा छन् भन्ने जान्दाजान्दै विभागहरूले एकले अर्कालाई दोष दिएर उम्किन सक्दैनन्।

    नेपालमा विद्यालयस्तरदेखि नै संस्कृत पढ्ने/पढाउने व्यवस्था छ। उच्चशिक्षा परिषद्ले ‘संस्कृत धार’का लागि कक्षा १० सम्म छुट्टै व्यवस्था गरेको छ। वेद विद्याश्रममा संस्कृत पढ्ने व्यवस्था छ तर सरकारी स्तरबाट होइन। आफ्नो धर्म, संस्कृति तथा संस्कारलाई माया गर्ने दानी-विद्वानहरूको सहकार्यमा चलिरहेका छन्। नेपालमा विद्यालयस्तरमा संस्कृत पढाउने गुरुकुल, वेदविद्याश्रम तथा विद्यालयहरूको संख्या ३०० हाराहारीमा रहेको छ र त्यसमा करिब ६५०० विद्यार्थी अध्ययनरत छन्। वेदविद्याश्रम र गुरुकुलहरू जनस्तरमा संचालित छन्।

    क्षमा गर्नुहोला, नेपाली विश्वविद्यालयहरूमा गएर उच्चशिक्षा हासिल गरिरहेका वा गरेका ‘विद्वान’हरूले भन्दा वेदविद्याश्रममा पढेका विद्यार्थीहरूले नेपालको मौलिक संस्कृति थामिरहेका छन्। नामकरण देखि लिएर मृत्यु संस्कार पर्यन्तका संस्कारहरू, चाडपर्वहरूमा गरिने पूजापाठहरू, कर्मकाण्ड तथा जनताका दैनिक-संस्कृतिको जगेर्ना गर्नेहरूमा वेदविद्याश्रमको उल्लेखनीय देन छ। सबैमा हार्दिक नमन गर्छु। सधैँ कक्षा छलेर कार्यक्रममा पुग्ने र संस्कृतको दुर्गति भयो भनेर कुर्लिने प्रवृत्ति रहेसम्म सजिलो छैन। असलमा काम गर्नेहरू पछि परेका छन् र ‘पुच्छर’हरू अगाडि बढेका छन्। यिनै पछि पारिएकाहरूले संस्कृत थामेका छन् भन्न मिल्छ।

    मैले एउटा सुन्दर सपना देखेको छु- एउटा नयाँ गुरुकुलको निर्माण भएको छ। त्यहाँ पढ्ने पढाउने सबै अध्यापक र विद्यार्थीहरू एकचित्त भएर पठनपाठनमा लागेका छन्। उनीहरूको पहिलो कार्यसूचीमा ती ५० हजार पुस्तकहरूको सम्पादन, अनुसन्धान र प्रकाशन भएको छ। यो कार्यसूची पढेपछि अमेरिका, बेलायती, भारतीय र युरोपेली विद्वानहरूको समेत यहाँ आगम भएको छ। हाम्रा प्राध्यापक र विद्यार्थीहरू अनुसन्धानका लागि आएका ती विद्यार्थी तथा अध्यापकहरूलाई मार्गदर्शन गरिरहेका छन्। संस्कृत र अंग्रेजी भाषामा समान दख्खल भएका गुरुकुलीय विद्यार्थीहरू साच्चिकै गजबका छन्। न कुनै राजनीति, न कुनै आडम्बर न कुनै पूर्वाग्रह, सबैको एकै धेय छ- संस्कृतमा नेपाललाई विश्वको केन्द्र बनाउने।

    हामीले स्वीकार गरे पनि नगरे पनि नेपालमा बोलिने भाषाहरूमा संस्कृत भाषा धेरै छ। नेपाली, मैथिली, भोजपुरी, मगाही, थारु आदि भाषाबाट संस्कृत शब्द र भाव  निकालिदिने हो भने यी भाषा मर्छन्। त्यस्तै, नेवारी, गुङ, मगर आदि भाषाहरूमा पनि संस्कृत छ। हामीले संस्कृत सिक्नुपर्छ  किनभने यसले हाम्रो मातृभाषाको सुरक्षामा मद्दत गर्छ।

    अर्को कुरा, संस्कृत एउटा जीवित भाषा हो। आज पनि विश्वमा हरेक दिन संस्कृतमा लेखिएका आठ वटा पुस्तक प्रकाशित हुन्छन्। रेडियो, टेलिभिजनबाट संस्कृतमा समाचार प्रसारण हुन्छ। दुईवटा दैनिक समाचार पत्र निस्किन्छन्। विश्वका करिब ६०० वटा विश्वविद्यालयहरूमा संस्कृतको पठनपाठन हुन्छ। विश्वमा करिब दुई करोड मान्छे संस्कृत भाषाका जानकार छन् भने हजारौँको संख्यामा संस्कृत मातृभाषिहरू छन्। हिन्दु, जैन र बौद्ध धर्मावलम्बीहरूको सांस्कृतिक भाषा पनि संस्कृत नै हो। थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, बंगलादेश, श्रीलंका, नेपाल, भारत र तिब्बतमा बोलिने भाषाहरूको आधार पनि संस्कृत नै हो। यस क्षेत्रको संस्कृति पनि यो भाषामै आधारित छ।  युरोपका जर्मनी, बेलायत फ्रान्स लगायतका मुलुकले यसको अध्ययन, अध्यापन शुरु गराएका छन्।  त्यसैले संस्कृत भाषा मर्न दिनु नहुने मात्र होइन यसको उत्थान र विकास गरेर संस्कृत भाषाको केन्द्र नेपाल बन्नु पर्छ। यसका लागि हामीले आजका मितिदेखि विदेशी प्रतिमानको दलीय राजनैतिक प्रतिबद्धताप्रति होइन देशको आफ्नो मौलिकताप्रति प्रतिबद्ध भए पुग्छ। संस्कृतको विकास र प्रवर्धन गर्दा नेपालका अन्य भाषाहरूको पनि विकासमा जोड दिनुपर्छ। हामी अघि बढौँ अरूलाई पनि अगाडी बढ्न मदत गरौँ।

    सह: वीर्यं कारवावहै:।

डा. गोविन्दशरण उपाध्याय

डा. उपाध्याय त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]