ओखलढुंगा : ओखलढुंगाको सदरमुकामलगायत सबै स्थानीय तहका ग्रामीण भूभागका नागरिक अझै पनि अन्धकारमा बस्न बाध्य छन्। जिल्लाका ७५ वटा वडामध्ये अधिकांशमा विद्युत् विस्तार हुन नसक्दा सर्वसाधारण अन्धकारमा बस्न बाध्य भएका हुन्।
नगरपालिकाको केन्द्र सदरमुकाम वडा नं. ११ र १२ पर्दछ। तर, तिनै वडासँग सिमाना जोडिएका अन्य वडामा समेत विद्युत् विस्तार हुन सकेको छैन। साविकका गाविस हालका वडा नं. ९, १० र ८ मा विद्युत् सेवा पुग्न सकेको छैन। वडा नं. १, २ र ३ का केही घरधुरीमा विद्युत् विस्तार भए पनि अन्य क्षेत्रमा लैजाने काम अलपत्र परेको छ। अहिले वडा नं. ४ र ५ तथा सदरमुकाम रहेका वडा नं. ११ र १२ मात्रै विद्युत् सेवा पुगेको छ। तर, नगरपालिकाका ८ वटा वडा अझै अन्धकारमा छन्। स्थानीय तहका जनप्रतिनिधिहरुले चुनावका बेला विद्युत् सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको भए पनि अझैसम्म पूरा हुन नसकेको स्थानीयको टोकल श्रेष्ठको भनाइ छ।
स्थानीयको वर्षौंदेखिको बिजुली बाल्ने सपना अधुरै छ। साविकका गाविस नगरपालिकामा गाभिए पनि ग्रामीण विद्युतीकरणको काम अलपत्र रहँदा नागरिकमा असन्तुष्टि चुलिँदै गएको छ। तर, कतिपय स्थानीय भने वर्षौं अघिदेखि घरमाथिबाट टांगिएको तारबाट बिजुली बाल्ने सपना संगालेर बसिरहेका छन्। स्थानीय जनप्रतिनिधिले चुनावका दौरान विद्युत्लाई एजेन्डा बनाएका थिए। अहिले त्यहि आसमा स्थानीय दिनचर्या बितिरहेको छ।
ओखलढुंगाका धेरै गाउँमा विद्युत्को काम थालिएको वर्षौं भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन। अहिले स्थानीयले घरमाथिबाट टाँगिएको तार र पोललाई हेरेर टुकीमा रात काट्न बाध्य छन्। तर, वडा पालिकामा भने जसोतसो विद्युत् पुर्याएको छ।
गतवर्षदेखि ग्रामीण विद्युतीकरणका लागि स्थानीय तहहरू लागि परीरहेका छन्। जिल्लामा चिसंखुगढी, मोलुङ, सुनकोशी, मानेभञ्ज्याङ र चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकाले गत वर्षदेखि करोड बढी वजेट विनियोजन गरी काम थालिएको भए पनि दुर्गममा हुन सकिरहेको छैन। लिखु गाउँपालिकाको वडा नं. १, २, ३ र ६ का केही परिवारले बिजुली बालेको र अन्य वडामा पनि काम धमाधम भइरहेको नेपाल विद्युत् प्रधिकरण ओखलढुंगा प्रमुख सन्जीव शाहको भनाई छ।
१ अर्ब ४० करोड रुपैयाँ लगानीमा निर्मित मोलुङ हाइड्रोको उत्पादन सदुपयोग भएन
जिल्लाकै पहिलो ठूलो जलविद्युतका रूपमा निर्मित मोलुङ जलविद्युत् आयोजनाको विद्युत गत वर्षदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए पनि जिल्ला अन्धकारमै बस्नु पर्ने बाध्यता रहेको छ। ७ मेगावाट क्षमताको यस आयोजनाको विद्युत् जिल्लामा खपत हुस्न नसक्दा स्थानीयलाई अन्धकारमै बस्नु पर्ने बाध्यता रहेको हो।
परीक्षण प्रसारणको क्रममा कुनै समस्या देखिएमा त्यसलाई सुधार गरी सञ्चालनमा ल्याइने गरी परीक्षण प्रसारण गरिए पनि अन्य जिल्लामा विद्युत् लाइन बिग्रदा जिल्ला अन्धकारमय भएको हो।
वर्षामा ७ मेगावाट र हिउँदमा ३ देखी ४ मेगावाटसम्म विद्युत् उत्पादन हुने यो आयोजनामा निर्माण सम्पन्न भए पनि जिल्ला लोडसेडिङ मुक्त हुन सकेको छैन। जिल्लामा अति आवश्यक समयमा समेत ४ सयदेखि ५ सय किलोवाट मात्रै खपत हुने भएका कारण खोटाङ र उदयपुरमा विद्युत् लाइन बिग्रदासमेत मोलुङ हाइड्रोको विद्युत् उत्पादन बन्द हुने गरेको छ। केन्द्रीय प्रसारण लाइन बिग्रिएपछि ओलढुंगाका अधिकांस स्थानमा अन्धकार नै हुने गरेको विद्युत् प्रधिकरण ओखलढुंगाका प्रमुख शाहको भनाइ छ। केन्द्रीय विद्युत् प्रसाण लाइनबाट टाढा रहेको ओखलढुंगामा हरेक गाँउमा स्थानीयले माइक्रो हाइड्रो र पेल्टिक सेटबाट भने बिजुली बाली रहेका छन्।
लिखु–४ जलविद्युत् आयोजना निर्माण तीव्र
ओखलढुंगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा निर्माण थालिएको लिखु–४ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। काम थालेको १४ महिना अवधिमा ३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
ओखलढुंगातर्फको खिजिदेम्बा गाउँपालिका वडा नं. १ र ३ मा मुख्य संरचना रहेको आयोजनाको विद्युत् गृहको स्काभेसनको काम ८० प्रतिशत सकिएको छ। आयोजनाले जग्गा खरिद प्रक्रिया सम्पन्न गरेर हाल सहायक सुरुङ (अजिट) निर्माणको काम सुरु गरेको बताइएको छ। खिजिदेम्बा गाउँपालिकाको होल्पु, विमिरे र जिलीमा निर्माण थालिएका सहायक सुरुङको काम सकिएपछि मुख्य सुरुङ निर्माणको काम थालिने आयोजनाका जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक कृष्णदास श्रेष्ठले बताए।
सहाय सुरुङ निर्माणका लागि गत साउनबाट नेपाली सेनाले सुरुङभित्र विष्फोटक पदार्थ विष्फोट गराउन थालेको छ। ३०० मिटर भित्रसम्म ३ वटै सहायक सुरुङ निर्माण गरिसकेपछि मुख्य सुरुङ निर्माणको काम थालनी हुने बताइएको छ। होल्पुमा निर्माण सुरु गरिएको सहायक सुरुङको काम १३० मिटर पूरा भएको छ भने विमिरेको काम १५ मिटर सकिएको छ। जिलीको भूभागबाट निर्माण थालिएको सहायक सुरुङको काम ८५ मिटर निर्माण पूरा भएको आयोजनाले बताएको छ। सहायक सुरुङको काम पूरा भएपछि ४ दशमलब २५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सुरु गरिने बताइएको छ।
प्रवर्द्धन कम्पनी ग्रीन भेन्चर्स प्रालिले निर्माण गरिरहको जलविद्युत् आयोजनाको काम दुइटा ठेकेदार कम्पनीले गरिरहेका छन्। जसअन्तर्गत सिभिलतर्फको काम इन्डियन कम्पनी एसएसएनआरलाई दिइएको भने पावरहाउस, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गर्ने जिम्मा नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरको रहेको छ। उक्त कम्पनीले ड्याम साइट र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गर्नु पर्नेछ।
हाल यी दुवै कम्पनीले द्रूत गतिमा काम अगाडि बढाएको आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि फिल्डमा इन्जिनियर, फोरम्यान, ब्लाष्टर, ड्राइभर, अपरेटर, मजदुरलगायतका ४५० जनशक्ति खटाइएका छन्। थप जनशक्ति बढाएर काम अगाडि बढाइने तयारी भइरहेको जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक श्रेष्ठको भनाइ छ। 'हामीले ओखलढुंगा र रामेछाप दुवैतर्फका स्थानीय तह, स्थानीय वासिन्दा, राजनीतिक दल, सरोकारवालालगायत सबैको सहयोगबाट काम अगाडि बढाइरहेका छौं र अहिले तीव्र गतिमा काम भइरहेको छ' उनले बताए।
खिजिदेम्बा गाउँपालिकाका वडा नं. ३ स्थित विमिरेमा ड्याम निर्माण गरेर भूमिगत सुरुङबाट लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने छ। सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेघावाटको रहनेगरी डिजाइन गरिएको थियो। पछि प्रवर्द्धन कम्पनीले उत्पादन क्षमता घटाएर काम अगाडि बढाएको हो।
मुख्य संरचना ओखलढुंगातर्फ रहे पनि आयोजनाको प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप दुवै जिल्लामा रहेको छ। ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको १ र ३ र लिखु गाउँपालिकाको ९ नं. वडा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको १, २ र ७ नं. वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन्। ३० महिनामा अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजनाका साथ निर्माण सुरु भएको यो आयोजना ५२ दशमलब ४ मेगावाट क्षमताको रहेको छ। १० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नवील बैंक, सनराइज बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक र प्रभु बैंकको ७५ प्रतिशत लगानी गर्ने र आयोजनामा २५ प्रतिशत लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको आयोजनाका प्रोजेक्ट डेभ्लप्मेन्ट मेनेजर बद्री रिजालले बताए। २०७३ साल असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगष्ट भित्रमा समापन गर्ने लक्ष्य राखिएको रिजालको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।