|

कञ्चनपुर  ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका व्यवसायिक लौका खेती गर्दै आएका किसान सिताराम चौधरीले गतिलो आम्दानी लिन थालेका छन। तीन दिनको अबधिमै १५ कुण्टल लौका बिक्री गरेर ३० हजार आम्दानी हात पारेका छन।

'आज मात्रै साठी किलो लौका बारीबाटै बिक्री भएको छ' उनले भने,‘अझै बारीमा लौका लटरम्म फल्न थालेकाले आम्दानी बढने भएको छ।’ बजारमा बारीमा उत्पादित लौका १५ देखि रु २० प्रतिकिलो थोकमा बिक्री भइरहेको उनको भनाई रहेको छ।

विगतका वर्षहरूमा भारतीय क्षेत्रबाट भित्रिने लौका कारण बजारमा लौका सस्तोमै बेच्नु पर्ने हुन्थ्यो। हाल बिषादी परिक्षण गरेर मात्रै भित्रिने भएकाले थोरै मात्रै यहाँसम्म पुग्दछ। ‘भारतबाट यहाँसम्म पुग्ने थोरै लौकाले बजारको माग धान्दैन। त्यसैले स्थानीय उत्पादनले बजार पाउन थालेको छ’ उनले भने।

पाँच कठ्ठा जग्गाका लौका खेती गरेका सितारामले दुई लाखदेखि दुई लाख ५० हजार सम्मको आम्दानी हुने अनुमान गरेका छन। लौक रोप्ने, रोगकिरा, झारपात व्यवस्थापनमा कृषि जेटिए पढेका छोराले उनलाई सहयोग पुर्‍याउँदै आएका छन। 

'वर्षा र बादलका कारण रोग किराको धेरै समस्या हुन्छ' उनले भने, ‘कृषि जेटिए पढेका छोराले त्यसको निराकरणका लागि सहयोग पुर्‍याउँदै आएकाले लौका खेती सप्रिएको छ।’ बिषादी छर्किदा लौका खेतीलाई हानी गर्ने सँगै लाभ पुर्‍याउने किरा समेत मर्ने भएकाले घरमै तयार गरेको जैविक बिषादी र फेरोमिन ट्रयाप विधिको प्रयोग गरी किरा नियन्त्रण गरिएको उनले बताए।

लौका खेतीका लागि बलौटे, दोमट र प्रांगारिक पदार्थ धेरै भएको माटो भएकाले पनि निकै सहजिलो भएको उनको अनुभव रहेको छ। लौका बजारमा बेच्नका लागि तयार भएपछि बजारमा बेच्नका लागि उनी आफैं खटिन्छन। बाह्रै महिना उनले अन्न भन्दा तेव्वर बढी आम्दानी तरकारी खेतीबाट हुने भएकाले लौकापछि काउली, बन्दा, टमाटर, खुर्सानी, भिण्डी, सिमला मिर्चा, धनिया, हरियो तरकारी रोप्दै आएका छन। 

'तरकारी खेती‍बाट आएको आम्दानीको केही रकम खर्चेर छोरालाई कमाउनका लागि विदेश समेत पठाएको थिए', उनले भने, ‘विदेशको कमाइले पक्की घर निर्माण गरे पनि विदेश भन्दा तरकारी खेतीबाटै बढी आम्दानी हुने भएकाले छोरालाई घर बोलाई सबै जना तरकारी खेती गर्न थालेका छौं।’

व्यवासायिक तरकारी खेती गर्नेमा सिताराम नगरपालिकामा चिनिएका छन। मौसमी भन्दा बेमौसमी लौकाले बजार पाउने भएकाले धेरैले यस खेतीलाई अपनाउँदै आएका छन। व्यापारीले सस्तोमै खरिद गरेको लौका उपभोक्तालाई भने प्रति किलो ३० देखि रु ४० मा बिक्री गर्दै आएका छन। 

लौकाको खेती सुरु गर्ने समय फागुन चैत भए पनि बेमौसममा लौकाको खेती गरेर बढी आम्दानी लिन सकिने यस क्षेत्रका किसानको भनाई छ। शरीर तन्दुरुस्त राख्न नभै नहुने कार्बोहाइड्रेट र प्रोटिन लौकामा प्रशस्त पाइने भएकाले बजारमा माग बढदो रुपमा रहेको छ।

कृषि प्राविधिकका अनुसार लौका खेतीलाई व्यवसायिक रुपमा गरिए प्रति हेक्टर २० देखि ३० मेट्रिक टनसम्म उत्पादन लिन सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.