|

म्याग्दी : मुलुक संघीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तर मै हुन थालेपछि म्याग्दीका गाउँहरू भरिन थालेका छन् भने सदरमुकाम बेनी बजारमा चहलपहल कम भएको छ।

स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाहरूले ग्रामीण वस्तीहरूमा सेवा विस्तार गर्नु, संचार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, व्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका स्थानीय पनि गाउँ फर्केका छन्। दुई वर्ष अघिसम्म भाडामा कोठा पाइन समेत हम्मेहम्मे पर्ने बेनी बजारमा अहिले कैयौं घर रित्ता भएका छन् भने सटर खालीखाली छन्।

मानिसको चहलपहल घटेसँगै बेनी बजारमा सञ्चालित व्यावसायले दैनिक गर्ने लाखौंको कारोबार अहिले हजारमा झरेको छ। बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि सदरमुकाम बेनीबजार सुनसान जस्तै हुन थालेको छ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको हो। ५० मिटर पाइपको लागि सिफारिस लिन सदरमुकाम धाउनुपर्ने वाध्यताको अन्त्य भएको छ’ बेनी नगरपालिका ४ का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले भने,‘अव स्थानीय तह नै बलिया भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ।’

सदरमुकाम छाडेर गाउँ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन्, संघीयता कार्यान्वयनपछिको चहल-पहलले गाउँमा उमंग छाएको पाइन्छ। गाउँपालिकामा चलह-पहल बढेका बेला सदरमुकामको व्यापार व्यासाय मात्रै होइन सरकारी अड्डासमेत सुनसान छन्।

जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ।
संघीयताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवत-जावतमा कमि आएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए।

अहिलेसम्म उद्योगधन्दा निरन्तर चले पनि व्यापारमा भने निक्कै कमी आएको महासचिव गौतमको बुझाई छ। ग्रामीण वस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरिदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो।

यातायातको सुविधा गाउँघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तुहरू सोही मूल्यमा आफ्नै घरपायकमा पाइन थालेका छन्। यसबाहेक सरकारी कामकाज लिएर आउनुपर्ने जिल्लावासीको बाध्यता संघीयता कार्यान्वयनसँगै टरेको छ।

स्थानीय तहको सरकार बनेपछि गाउँ-गाउँमा सरकारी कार्यालय पुगेका छन। सदरमुकामबाट हुने धेरैजसो काम गाउँमै हुने हुँदा सदरमुकामको व्यापार खुम्चिने र गाउँवस्तीमा चहल-पहल देखिन थालेका हुन। लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउँदै सदरमुकाममै थन्किएका थिए।

निर्वाचनपछि स्थानीय निकायका कामकाज चुस्त समेत देखिन थालेका छन। सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड आज भोलि सबै गाउँपालिका तथा वडातिर फर्किएको छ। स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन्।

सदरमुकामको घट्दो चहल-पहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेशनरी, होटलजस्ता व्यवसाय भने संकटमा परेका छन। बरु स्थानीय तहका सदरमुकाम भने व्यस्त देखिन थालेका छन। सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार सुस्ताउँदा स्थानीय सदरमुकाम क्षेत्रका जग्गाको भाउँ भने आकाशिएको छ। म्याग्दीका दरबाङ, तातोपानी जस्ता स्थानीय बजार अहिले चम्किएका छन।

सदरमुकाममा चहलपहल घटेपछि लामो समयदेखि आफ्नो थाँतथलो छाडेर जिल्ला सदरमुकाम छिरेका धेरै व्यापारी अहिले स्थानीय केन्द्रतर्फ आकर्षित हुन थालेका छन। सदरमुकाम केन्द्रीत राजनीति व्यापार वा जागिरमा लागेका अधिकांशले समेत अहिले आआफ्ना स्थानीय तहमा स्पेस (ठाउँ) बनाउन खोजिरहेका छन।

संघीयताले सरकारी कामकाज स्थानीय तहमा पुग्दा सदरमुकाम आउनेहरूको चाप घटे पनि गुणस्तरीय स्वास्थ्य, शिक्षा रोजगारजस्ता सेवाहरू पूर्णतय स्थानीय तहसम्म पुग्न समय लाग्ने भएकाले सदरमुकाम आउने मानिसको संख्या चर्चा गरेजस्तै नघट्ने बताउँछन्। 

म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले बेनीबजार मुक्तिनाथ प्रवेशद्बार, धार्मिक तथा पर्यटकीय हिसावले पनि महत्वपूर्ण रहेकाे बताए। उनले स्थानीयको अभाव पर्यटक भित्र्याएर पूरा गर्न सकिने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.