खाऊँ साथी हो खाऊँ
यो देशलाई पिसेर धुलो पारेर खाऊँ
ऐन नियमको आँखामा फुलो पारेर खाऊँ
हाब्रो सकेसम्म ठूलो पारेर खाऊँ
खाऊँ साथी हो खाऊँ
कानूनमा दुलै दुलो पारेर खाऊँ
सात पुस्तालाई मात्र होइन
सोह्र पुस्तालाई पुग्ने गरी खाऊँ
खाँदा खाँदा आफैलाई पारेको फोहोरमा
आफैं डुब्ने गरेर खाऊँ
नङ्ग्र्याएर, दारेर,निचोरेर खाऊँ
भुत्ल्याएर, रेटेर, चिथोरेर खाऊँ
सुतेर खाऊँ, बसेर खाऊँ
नालीमै घुँडा धसेर खाऊँ
क्रान्तिकारी मजेत्रोमा लुटपुटिएर खाऊँ
गेरू वश्त्रमा गुटमुटिएर खाऊँ
दौरामा ढुकुटी लुकाएर खाऊँ
लगौटीमा सुकुटी सुकाएर खाऊँ
हिसाब हिनामिना गरेर खाऊँ
लिनादिना मिनाहा गरेर खाऊँ
नगरिदिनुपर्ने गरिदिएर खाऊँ
गरिदिनुपर्ने नगरिदिएर खाऊँ
खाने खाडलहरू खनिखनी खाऊँ
खानु हुँदैन भनिभनि खाऊँ
टुँडिखेलको मुटू दारेर खाऊँ
बालुवाटार तेलमा तारेर खाऊँ
खाऊँ साथी हो खाऊँ
प्रश्न र प्रमाणपत्रहरूका मुख सिलाएर खाऊँ
शौचालयदेखि न्यायालयसम्म सेट मिलाएर खाऊँ
खबरदार !
हजार-लाख खाएर कुख्याती नकमाऊँ
करोड-अरब खाएर मान बढाउँ
समातिए पनि बदनाम नहुने गरी खाऊँ
थुनिए पनि नाम चल्ने गरी खाऊँ
ढाटदेखि खादैँखाँदै घाटसम्मै खाऊँ
खाऊँ साथी हो खाऊँ
यो देशलाई अगस्तीहरूको बस्ती बनाएर जाऊँ।
गाइजात्राको अवसरमा आयोजित खाइजात्रा कार्यक्रममा प्रस्तुत कविता
तपाईंको ईमेल गोप्य राखिनेछ ।