|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधनका लागि आगामी कात्तिक २९ गते विशेष साधारणसभा गर्ने निर्णय लिएको छ। शुक्रबार बसेको महासंघ बैठकले विशेष साधारणसभाको मिति तोकेको हो।

कार्यसमिति बैठकमा महासंघकी अध्यक्ष भवानी राणाले  विशेष साधारणसभा तोक्ने प्रस्ताव राखेकी थिइन् । उनको प्रस्ताव बैठकमा पारित भएको छ। 

आगामी चैत २८ मा नयाँ नेतृत्व चयन गर्नेगरीको साधारणसभा गर्न थालेको महासंघले विधान संशोधनका लागि कात्तिक २१ मा विशेष साधारणसभा तोकेको थियो।

विशेष साधारणसभा बोलाउने भन्ने सन्दर्भमा निवर्तमान अध्यक्ष लगायत केही सदस्यहरूले असहमति जनाएको स्रोतले जनाएको छ। निवर्तमान अध्यक्ष पशुपति मुरारकासहित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, सदस्य रञ्जीत आचर्य र कृष्ण दुलालले असहमति जनाए। तर लिखित असहमति भने मुरारकाले मात्रै जनाए छन्।

मुरारकाले विधान मिचेर मिति तोकिएको आरोप लगाएका छन्। पूर्वअध्यक्ष चण्डीराज ढकाल नेतृत्वको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान आगामी साधरणसभा वा त्यसपछिबाट गर्ने विकल्पसहितको प्रतिवेदन तयार गरेको छ। 

अघिल्लो कार्यकारी बैठकमा पशुपति मुरारकाले १५ दिनको समय माग्दै अनि मात्रै मिति तोक्नुपर्ने भनेका थिए।

तर अध्यक्ष राणाले भने देश संघीयतामा गइसकेपछि विधान संशोधन जरुरी रहेको बताइन्। उनलले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटाउनका लागि विशेष साधरणसभा नबाेलाइएकाे पनि स्पष्टीकरण दिइन्।

‘विधान संशोधन नै नगर्ने भन्ने हुँदैन, देश संघीयतामा गइसकेको छ, यो जरुरी छ। वरिष्ठ उपाध्यक्षलाई  अहिले नै स्वतः अध्यक्ष हुन नदिने प्रावधान ल्याउन खोजेको होइन’, उनले भनिन्, ‘अहिले नै उपाध्यक्षलाई स्वतः अध्यक्षमा जान नदिन गरिएको हल्ला ठीक होइन। विधान संशोधन आवश्यक नै छ, संशोधन नभए लथालिङ्ग छ। २५ जना सदस्यले लेखेर दिएको अवस्थामा मैले ऐनसम्मत विशेष साधरणसभा बोलाउनैपर्छ।’ 

प्रत्यक्ष निर्वाचित अध्यक्ष नै प्रभावकारी हुने महासंघका धेरै सदस्यहरुले धारणा दिँदै आए पनि एकै कार्यकालमा विधान परिवर्तन गर्न नहुनेमा सरोकारवालाको जोड छ। 

अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रवधान राखिएको थियो। यसअघि पनि पूर्वअध्यक्ष ढकालकै सक्रियतामा यस्तो प्रवधान राखिएको एकै कार्यकालमा परिवर्तन गर्न नहुने निवर्तमान अध्यक्ष मुरारकासहितका सदस्यको मत छ।

यस्तै आजको बैठकले महासंघको कोषाध्यक्षमा निरक केसीलाई चयन गरेको छ। यसअघि महासंघको कोषाध्यक्षबाट ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएसँगै पद खाली थियो। निरक केसीले भवानी राणासँग उपाध्यक्षको चुनाव हारेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.