|

डडेल्धुरा : सुदूरपश्चिमेलीहरुको महान् चाड गौरा तथा तिज नजिकिएसँगै सुदूरपश्चिमका बजारहरुमा चहलपहल बढेको छ। यसअघि सुनसुनजस्तै रहेको डडेल्धुरा सदरमुकाममा सरसमाना किन्नेहरुको घुइँचो लाग्न थालेको छ।

चाडपर्व सुरु भएसँगै व्यापार व्यावसाय फस्टाउँदै गएको व्यापारीहरु बताउँछन्। गौरापूजन सामग्री किनमेल गर्न डडेल्धुराको मुख्य बजार बागबजार, तुफनडाँडा, कीर्तिपुर र स्याउले बजारमा महिलाहरु व्यस्त देखिन्छन्। गत सालको जस्तो व्यापार नभए पनि गौरा तथा तिज नजिकिएसँगै लुगाकपडा, श्रृङ्गारका सामाग्री किन्ने बढ्दै गएको बागबजारकी व्यापारी हिरा जोशीले बताइन्।

भगवान शिव र माता पार्वती स्वरुप गौरापर्वमा गरिने व्रतबाट सुस्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। दुब्धागा लगाएकी महिलाले पकाएको खाना शुद्ध मानिने विश्वास रहेकाले दुब्धागो किन्नेहरुको घुइँचो लाग्ने गरेको व्यापारी नरबहादुर शाहु बताउँछन्।

गौरा पर्वलाई वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा लिइन्छ। गौरा पर्व भदौ ३ गतेदेखि पञ्चदलहन अन्न गेडागुडीको बिरुडा राख्दै विधिवत रुपमा मनाइँदैछ। गौरा पर्व अगामी भदौ ६ मा रहेको छ।

पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरेको र शिव प्राप्त गरेको विश्वास गरिन्छ। वर्षमा एक चोटी आउने भएकाले पनि यहाँका स्थानीयहरुले धुमधामका साथ गौरा मनाउँछन्। छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.