अंग्रेजी र प्राथमिकताले तान्यो

|

दमक : कमल गाउँपालिका–६ का सन्देश तिम्सिनाले कक्षा ५ सम्म बोर्डिङ स्कुल पढे। त्यसपछि भने उनी वडा नं. ५ मा रहेको मंगलमय माविमा भर्ना भए। बोर्डिङ स्कुलमा समेत प्रथम हुँदै पास भएका छोरालाई मंगलयमयमा पनि बोर्डिङ सरहकै पढाई हुने थाहापाएर भर्ना गरिदिएको आमा शोभा तिम्सिनाले बताइन्। 

सन्देश मात्रै होइन। कमल–६ कै देवीप्रसाद गौतमले पनि छोरा राजिवलाई विद्यालयमा भर्ना गराई दिए। कक्षा–६ सम्म बोर्डिङ पढेका राजिव अहिले यसै विद्यालयमा पढ्दैछन्। 

त्यस्तै, विर्तामोड ५ को देवी माविका प्रज्वल संग्रौला पनि कक्षा ६ सम्म बोर्डिङ पढेर यहाँ आएका हुन्। बोर्डिङको जस्तै पढाई सामुदायिक स्कुलमै हुने सुनेपछि यहाँ भर्ना भएको उनी सुनाउँछन्।

यस्तै, ८ कक्षासम्म बोर्डिङ पढेर ईलाम गोदककी आयुसा मगर पनि झापा आएपछि देवी माविमै भर्ना भइन्। बोर्डिङ पढ्दा किताबमा बढी केन्द्रित हुनु परेको र यहाँ अरू गतिविधिमा पनि सहभागी हुन पाएको उनको अनुभव छ। यस्तै, ८ कक्षासम्म बोर्डिङ नै पढेर यहाँ भर्ना भएकी नेहा सुन्दाश पनि यस विद्यालयमा आएपछि दंग छिन्।

केही वर्ष अघिसम्म सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको नकारात्मक दृष्टिकोण थियो। निजी विद्यालयले शिक्षामा आकर्षण दिँदा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गर्न सकेका थिएनन्। तर, पछिल्ला वर्षहरूमा भने सामुदायिक विद्यालयको अवस्था पनि सुध्रिँदै आएपछि निजी विद्यालयप्रतिको एकहोरो मोह भंग हुँदै गएको पाइएको छ।

भौतिक पूर्वाधार थपिएका छन्। विद्यार्थी संख्या पनि बढिरहेको छ। मूलतः अभिभावकमा सामुायिक विद्यालयलाई हेर्ने दृष्टिमा लोभलाग्दो परिवर्तन देखिएको छ। विर्तामोडको देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ विद्यार्थीको चाप बढेकै कारण विद्यालयले थेग्नै गाह्रो भइसकेको बताउँछिन्। यस विद्यालयमा झण्डै चार हजार विद्यार्थी पढिरहेका छन्।

अंग्रेजी र प्राथमिकताले तान्यो

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण थपिनुका मुख्य दुई कारण अंग्रेजी माध्यमको पठन पाठन र सामुदायिकबाट एसइई पासलाई उच्च शिक्षामा दिइने प्राथमिकता हो।

पछिल्लो समय बोर्डिङ झैँ अंग्रेजी माध्यम अपनाएसँगै सामुदायिक विद्यालयले गुणस्तरमा सुधार ल्याएका छन्। यससँगै झापाका निजी विद्यालयबाट विद्यार्थी झिकेर कतिपय सामुदायिक विद्यालयहरूमा भर्ना गर्ने क्रम बढेको छ। सबैभन्दा बढी कक्षा ९ देखि निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा आउने गरेका छन्।

अध्ययन, रोजगारी, सरकारी जागिरलगायतमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्णलाई आरक्षण दिन थालेपछि कक्षा ९ मा सामुदायिक विद्यालय भर्ना हुने क्रम बढी देखिएको हो। स्थानीय सरकार कार्यान्वयनमा आएसँगै उनीहरूले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकतामा पनि राखेका छन्।

कमल ५ को मंगलमय माविका प्रधानाध्यापक मोहनप्रसाद बगाले अंग्रेजी भाषाप्रतिको मोह बढ्दै गएका बेला धेरै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममानै पठनपाठन थालेका कारण पनि विद्यार्थीको चाप बढेको बताउँछन्। तर नेपाली माध्यम पूर्ण रुपमा विस्थापित गरि अंग्रेजी माध्यममा मात्र पढाउँदा जग नबसेका विद्यार्थी माथि अन्याय हुने उनको ठम्याई छ।

कक्षा–६ देखि अन्य सामुदायिक विद्यालयका विद्यार्थी पनि यस विद्यालयमा पढ्ने आउने गरेका छन्। तर, ती सबै विद्यालयमा अंग्रजी माध्यम छैन। प्रधानाध्यापक बगाका अनुसार ५ सम्म नेपाली माध्यमबाट पढेका विद्यार्थीलाई ६ देखि अंग्रेजी माध्यममा मात्र पढाइयो भने भार बढी पर्ने र नतिजा पनि राम्रो नहुने भएकाले उनीहरूका लागि नेपाली माध्यमबाट नै पठनपाठन गराइने व्यवस्था मिलाइएको छ।

नमूनामा बनाउने प्रयास

संघीय सरकारले पनि पर्याप्त जमिन सहितको पूर्वाधार भएको सामुदायिक विद्यालय छनोट गरी नमुना बनाउने कार्यक्रम अघि सारेको छ। केही विद्यालयलाई नमूनाको रूपमा स्थापित गरी सोही ‘मोडल’ अन्यत्र पनि विस्तार गर्ने लक्ष्यसहित शुरु भएको नमूना विद्यालय कार्यक्रममा झापाका १० विद्यालय परेका छन्।

पहिलो चरणमा झापामा ८ ओटा सामुदायिक विद्यालयलाई नमूनाका लागि छनोट गरिएको थियो भने हालै सरकारले थप दुई विद्यालयलाई नमुना छनोट गरेको छ।

शिक्षा विकास तथा समन्वय एकाइ झापाका अनुसार पहिलो चरणमा कनकाई मावि सुरुङ्गा, हिमालय मावि दमक, प्रगति मावि गौरादह, लक्ष्मीप्रसाद देवकोटा मावि कचनकवल, डिल्लीराज मावि टाघनडुब्बा, धुलाबारी मावि मेचीनगर, महेन्द्ररत्न मावि बिर्तामोड र हल्दीबारी मावि हल्दीबारी नमुना विकासका लागि छनोट भएका थिए।

छनोटमा परेका सबै विद्यालयलाई १ करोड ५० लाख रुपैयाँ पहिलो चरणमा आ–आफ्ना गाउँपालिका तथा नगरपालिकामार्फत प्राप्त भएको थियो। पछिल्लो निर्णयबाट बुद्ध आदर्श मावि बुधबारे र हिमाली मावि भद्रपुर छनोट भएका हुन्।

विस २०७३ सालबाट सुरु भएको विद्यालय क्षेत्र विकास योजनाको अवधि २०७९/०८० सालसम्म मुलुकभर एक हजार नमुना विद्यालय विकास गर्ने कार्यक्रम छ। जसअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा ८४ विद्यालयलाई छनोट गरिएको हो। हालसम्म मुलुकभर अघिल्लो निर्णयबाट २ सय २२ र हाल ८४ गरी ३ सय ६ विद्यालय नमुना विकासका लागि छनोट भएका छन्।

नमूनाको नमूना अभ्यास

नमूना विद्यालयअन्तर्गत छनोट भएको हिमालय माविले पहिलो वर्षमा डेढ करोड रुपैयाँ बराबरको पूर्वाधार निर्माण गरेको छ। विद्यालयका प्रधानाध्यापक ओमप्रसाद आचार्यका अनुसार नमूना विद्यालय अन्तर्गत प्राप्त डेढ करोड रुपैयाँको लागतमा पूर्वाधार निर्माणका कार्य गरिएका छन्।

नमूना विद्यालयको गुरुयोजनामा समावेश योजनाअनुसार प्राप्त बजेटबाट अढाई तलाको भवन थप गरिएको र अर्को भवनमा समेत एक तला थप गरिएको उनले जनाए। यस्तै अभिभावक प्रतीक्षालयको पनि निर्माण गरेको छ। नमूना विद्यालयको गुरुयोजनामा प्रयोगशाला, पूर्वाधार विकास, गुणस्तर सुधार लगायतका योजना समावेश रहेका उनले जनाए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं. २ का वडाअध्यक्ष प्रजापति सापकोटाले सङ्घीय सरकारको नमुना विद्यालयको सूचीमा परेको विद्यालयलाई वडा तथा नगरले पनि प्राथमिकता दिएको बताए। उनका अनुसार गत आर्थिक वर्षमा वडा कार्यालयमार्फत प्राप्त थप ४ लाख रुपैयाँको लागतमा साविकै भवनमा एकतला थप गरी ट्रस निर्माण गरिएको छ।

संघीय सरकार शिक्षा मन्त्रालयमार्फत कार्यान्वयन सुरु भएको कार्यक्रममा स्थानीय तहहरूको भने हस्तक्षेप पाइएको छ। शिक्षा मन्त्रालयले स्थानीय तहको बैङ्क खातामा रकम पठाउने तर स्थानीय तहले रकम निकासा गर्न अनाकानी गर्ने गरेको नमूना विद्यालयहरूको गुनासो छ।

नमुना विद्यालयका एकजना प्रधानाध्यापकले भने, ‘शिक्षा मन्त्रालयले स्थानीय तहमार्फत निकासा दिन खोज्दा प्रक्रियाका नाममा ढिलाइ हुने गरेको छ।’ शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख जयप्रसाद महतले केही जिल्लामा यो समस्या आएको सुने पनि झापामा समस्या नभएको जनाए।

‘कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा हामीले पनि जानकारी लिइरहेका हुन्छौँ, तर रकम निकासामै समस्या भएको भन्ने जानकारी आएको छैन’ उनले भने। त्यस्तो अवस्था रहेको थाहा पाए समन्वय गरिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.