|

काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहका लागि माग गरेको विज्ञापन खारेजीको माग गर्दै आरक्षण बचाउ आन्दोलनका अभियान्ताहरूले शनिबार प्रदर्शन गरेका छन्।

भृकुटीमण्डपबाट पुतलीसडक हुँदै रत्नपार्को शान्तिबाटीकातर्फ जुलुस जाँदै  गर्दा प्रहरीले हस्तक्षेप गरेको छ। आरक्षण बचाउ आन्दोलनका सहभागीहरुले लाठी जुलुस निकाल्ने थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेर रोक्दा झडप भएको हो। झडपका क्रममा प्रहरीले कम्तिमा १५ जनालाई नियन्त्रणमा लिएको छ।

भृकुटीमण्डपबाट अघि बढेको करिब ४ सयजना सहभागी लाठी जुलुसलाई पुतलीसडकस्थित शंकरदेव क्याम्पस नजिकै प्रहरीले छेकेपछि अवस्था तनावपूर्ण भएको हो। यो जुलुस पुतलीसडकबाट शान्तिवाटिकामा पुग्न खोजेको थियो।

लाठी जुलुस गर्ने थाहा पाएपछि प्ररीको टोली भृकुटीमण्डपमा पुगेको थियो। त्यहाँबाट प्रहरीले आन्दोलनकारीले प्रयोग गर्न लागेका सबै लाठी नियन्त्रणमा लिएको थियो।

आन्दोलनमा सहभागीहरुले लोकसेवाको विज्ञापन खारेज गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले आयोगले खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनलाई निरन्तरता दिइरहेका छन्।

उनीहरूले त्यो विज्ञापन खारेज नभएसम्म आफूहरूको आन्दोलन जारी राख्ने बताएका छन्। सरकारको सिफारिसमा आयोगले स्थानीय तहका लागि जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो भने साउन ४ गते परीक्षा लिएको थियो।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.