|
फाइल फोटो

सुनसरी : कोशीटप्पु वन्यजन्तु आरक्षसँगै रहेको बराहक्षेत्र नगरपालिका ६ र ९ नम्बर वार्डमा पर्ने श्रीलंका टापुमा ४० वटा गाई र गोरु मरेको अवस्थामा भेटिए। त्यसअघि मरेको अवस्थामा भेटिएका गाइगोरुको कारण खोजिने गरेको थिएन। यसपटक भने पशु डाक्टर सहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर नै अवलोकन र रगत नमूना संकलन गरेर ल्यायो।

संकलन गरेको रगतको परीक्षण पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरले गर्‍यो। विराटनगरस्थित प्रयोगशालाले 'एन्थ्रेक्स' रोग लागेको रिपोर्ट दियो।

एन्थ्रेक्सको जीवाणु भेटिएको दाबीसहितको रिपोर्ट प्रयोगशालाले जिल्लास्थित कार्यालय, स्थानीय तह र आरक्षलाई पनि पठायो।

एन्थ्रेक्स जीवाणुबारे थाहा नपाएका स्थानीय गम्भीर प्रकृतिको भाइरस भनेपछि तनावमा परे। ’सुरुमा त सामान्य लाग्यो, भाइरसको बारेमा पनि थाहा थिएन’ स्थानीय नेचर गाइड सुभास भुजेले भने 'विश्वयुद्धमा नै हतियारको रुपमा प्रयोग हुने भन्ने थाहा पाएपछि भने सातो नै उड्यो।’

फेरि विराटनगर प्रयोगशालाको रिपोर्टको ठीक उल्टो हुने गरी केन्द्रीय ल्याब काठमाडौंले एन्थ्रेक्सको जीवाणु फेला नपरेको रिपोर्ट गरेपछि स्थानीय अलमलमा परेका छन्। केन्द्रले एन्थ्रेक्सको जीवाणु फेला नपरेको दाबी गरे पनि के कारणले जनावार मरे भन्ने उल्लेख गरेको छैन। क्षेत्रीय प्रयोगशालाको रिपोर्ट र केन्द्रको रिपोर्टले अहिले स्थानीयमा अन्यौलता बढाएको छ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका डाक्टर मनोजकुमार महतोले केन्द्रीय ल्याबको एन्थ्रेक्स नरहेको बताएका थिए। विराटनगरका डाक्टर सञ्जयकुमार यादवले मरेका चौपायामा एन्थ्रेक्सको जीवाणु भेटिएको पत्र सरोकारवाला निकायमा पठाएका थिए।

क्षेत्रीय पशु प्राविधिकले घटनास्थलबाट मरेका पशुका दुई वटा एयर भेनबाट ब्लडको स्लाइड बनाएको थिए। त्यसलाई विराटनगर ल्याबमा परीक्षण गर्दा एन्थ्रेक्स देखिएको थियो। तर, त्यहि स्लाइडलाई पुनः परीक्षण गराउँदा भने एन्थ्रेक्स देखिको छैन।

‘मरेका पशुको लक्षणदेखि विराटनगरको प्रयोगशालाको रिपोर्ट सबै एन्थ्रेक्स नै छ' नाम उल्लेख नगर्ने सर्तमा विराटनगर प्रयोगशालाका एक पशु डाक्टरले भने ’यदि एन्थ्रेक्स होइन भने विराटनगर प्रयोगशालाका प्रमुख डाक्टरलाई कारवाही गर्नु पर्‍यो। कारवाही पनि नगर्ने र एन्थ्रेक्स नभए अरू के रोगले मर्‍यो भनेर पनि भन्न नसक्ने? यस्ता हचुवाको आधारमा सार्वजनिक भएको रिपोर्टलाई विश्वास गर्न सकिदैन्।’

जैविक हतियारको रूपमा प्रयोग हुन्छ ’एन्थ्रेक्स’

पशुमा देखिने यो भाइरस मान्छेको लागि पनि प्राणघातक मानिन्छ। यस जिवाणुलाई जैविक हतियारको रूपमा समेत प्रयोग हुने गरेको छ। एन्थ्रेक्स जिवाणु विश्वमा आतंककारी गतिविधि भइरहेका धेरै मुलुकमा जैविक हतियारको रुपमा समेत प्रयोग हुने गर्दछ।

सिरियामा तत्कालीन सिरियाले आतंकवादीविरुद्धको अभियानको नाममा आम हत्या गर्ने गरी एन्थ्रेक्स जिवाणु राखिएको जैविक हतियार प्रयोग गरेको विषयलाई लिएर अमेरिका र संयुक्त राष्ट्र संघले प्रतिबन्ध नै लगाएका थिए।

त्यस्तै, भारतले पनि केही वर्षअघि कश्मीरमा आतंकबादी क्रियाकलाप गरिरहेका समूहले यस्तो जैविक हतियार प्रयोग गरेको दाबी गरेको थियो। यो हावा, पानी, माटो र त्यहाँका फलफूल तरकारीबाट पनि मानिसमा सर्ने गर्दछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.