काठमाडौं : तराई मुलकी एक १४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेच्ने धन्दामा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौंले गर्भपतन केन्द्र चलाएर बसेकी स्टाफ नर्स निर्मला थापालाई पक्राउ गरेको छ।
सोही आरोपमा होटल याक एन्ड यतीको स्टोर शाखामा कार्यरत महेन्द्र खत्री पनि समातिएका छन्। शिशुको अवैध कारोबारमा मुख्य भूमिका खेलेको आरोपमा प्रहरीले यसअघि नै बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई नियन्त्रणमा लिइसकेको छ।
कलंकीमा सञ्जीवनी गर्भपतन केन्द्र चलाएर बसेकी थापाले आफूकहाँ गर्भपतन गर्न आएकी एक किशोरीलाई प्रसूति गराउन थापाथलीस्थित परोपकार प्रसूतिगृह पठाएकी थिइन्। त्यहाँ जन्मिएकी शिशु निर्मलाले बाल मन्दिरका निर्देशक बालकृष्णलाई दिएकी थिइन्। बालकृष्णले ४ लाख ५० हजार रुपैयाँ लिएर बेलायती नागरिक डिना स्मिथलाई शिशु दिएका थिए। बेलायत जान हिँडेकी स्मिथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि शिशुको अवैध कारोबारमा बालकृष्णको संलग्नता खुलेको समाचार कान्तिपुर दैनिकमा छ।
प्रहरीका अनुसार निर्मलाले शिशु दिएलगत्तै बालकृष्णबाट १ लाख ३५ हजार रुपैयाँको चेक बुझेको देखिन्छ। खातामा पर्याप्त मौज्दात नभएकै कारण निर्मलाले उक्त चेक साट्न सकेकी थिइनन्। उनले अनिच्छापूर्वक जन्मिएको शिशुलाई संरक्षणका निम्ति बाल मन्दिरमा बुझाउने क्रममा बालकृष्णसँग कुराकानी भएको र किशोरीलाई दिनका निम्ति चेक बुझेको दाबी गर्दै आएकी छन्।
उनको गर्भपतन केन्द्रले बाल मन्दिरलाई शिशु बुझाउँदा कुनै कागजी प्रक्रिया गरेको प्रहरीले फेला पारेको छैन। बालकृष्णबाट चेक बुझेका कारण शिशुको अवैध कारोबारमा उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ। याक एन्ड यतीमा कार्यरत खत्रीले विदेशी नागरिक र बालकृष्णबीच सहजीकरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।