|

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको कुमारी झरनाको रुपमा परिचित नारच्याङ झरना आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्दै गएको छ। पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ।

यो झरना बेनी–जोमसोम मोटरबाटो (कालीगण्डकी करिडोर) अन्तगर्गत कालीगण्डकी नदीको पारि नारच्याङ खण्डमा पर्दछ। समुन्द्री सतहबाट एक हजार ४०० मिटरदेखि एक हजार ७०० मिटरको उचाइमा नारच्याङ झरना रहेको छ। झरनाको मात्रै उचाई ३०० मिटरभन्दा बढी छ। 

नारच्याङ झरनामा म्याग्दीसहित देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन्। विदेशी पर्यटक पनि नारच्याङमा बास बसेर झरनामा जान्छन्। आमा समूहको भवनमा बास बसेका पर्यटकहरु एकपटक झरनामा पुगेरै फर्किने स्थानीयहरु बताउँछन्।

झरनाभन्दा माथि मानववस्ती छैन। झरनाको तल फेदीमा भुमेथानको मन्दिर छ। हरेक वर्षको जेठ वा असारमा पूजाआजा हुँदै आइरहेको उक्त मन्दिरमा भाकल तथा पूजा गरेमा मनले आँटे, ताकेको र चिताएको काम बन्ने जनविश्वास छ। झरना र मन्दिरसम्म पुग्न विगतमा क्लबको पहलमा गोरेटो बाटो बनाइएको अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पूर्जाले बताए।

यस ठाउँमा झरना मात्र होइन, वरपरका दृश्य पनि सुन्दर छ। म्याग्दी सदरमुकाम बेनीबजारबाट सवारीसाधानको यात्राबाट तीन घण्टामा झरनामा पुग्न सकिन्छ। यहाँँ वनभोजका लागि पनि जाने गरेका छन्। झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा निकै आनन्दको अनुभूति भएको प्रताप बानियाँले बताए।

नारच्याङ झरनाले गाउँको सुन्दरता बढाउनुका साथै गर्मीयाममा शीतलतासमेत दिएकोे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताउँछन्। झरनाको पानीबाट गाउँमा खानेपानीको आपूर्ति, सिंचाइ गरिँदै आइएको छ। 

वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले नारच्याङ झरनाको विकास र प्रवर्द्धन गर्न योजना बनाउने बताए। झरनासम्म पुग्न पक्की पदमार्ग निर्माण गरिने, रेलिङ हालिने र व्यवस्थित सिँढीहरु बनाइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.