भाले बासेर कता जान्छ कसैलाई पत्तो छैन

|

म्याग्दी : वरिपरि घना जंगल। जंगलको बीचमा पहाडबाट छङछङ गर्दै झरेको झरना,  त्यही झरनाका कारण बनेको भाले बास्ने ताल। जहाँ बिहान पख भाले बास्छ। स्थानीयले तालको नाम नै भाले बास्ने ताल राखेका छन्।

नेपालमा भाले बास्ने ताल कहाँ पर्छ? लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरूमा सोधिने यो प्रश्नको उत्तर बाहिरकालाई त के म्याग्देलीलाई समेत थाहा छैन। प्रचारप्रसार र पूर्वाधारको अभावमा विभिन्न मिथक र सांस्कृतिक विरासत बोकेको, प्रशस्तै पर्यटकीय सम्भावना रहेको यो ताल ओझेलमा परेको हो।

आकर्षक तालको सूचीमा

नेपालका आकर्षक तालमध्येको सूचीमा रहेको यो तालको शिरानमा एउटा शिव मन्दिर रहेको छ। सो मन्दिरमा प्रातकालमा दिनहुँ एउटा भाले बास्ने गर्दछ। त्यो भाले कताबाट आउँछ र फेरि कहाँ जान्छ स्थानीयलाई कुनै पत्तो हुँदैन।

मन्दिरमा बिहान भाले बास्ने समयमा पूजाआजा तथा दर्शन गरेमा मनोकांक्षा  पूरा हुने जनविश्वास रहेको छ। धामीझाँक्रीले तालमा स्नान गरेर मन्दिरमा आएर पूजाआजा गर्ने र आफ्नो शक्ति प्राप्तिका लागि साँढेको बलि दिने गर्छन्।

ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास रहेको दुखुबेसीका ८९ वर्षीय धनबहादुर गुरूङले बताए। बाल्यकालमा जंगलमा पुग्दा भाले बासेको आवाज सुन्नेले गाउँमा पुगेर सन्देश फैलाउने गरिन्थ्यो। पशुचौपाया लिएर त्यहाँ पुग्दा झरनाको फेदीमा नीलो ताल तथा आसपासका क्षेत्रमा जंगली जनावरसमेत भेटिने गरेको गुरूङको भनाइ छ।

नयाँ पुस्ताले वास्ता गरेन

‘नयाँ पुस्ताले तालको महत्वलाई वास्ता गर्न छाडे, ‘पहिले ताल नजिकको मन्दिरमा नियमित पूजाआजा हुने गर्दथ्यो’ गाउँकै ज्‍येष्ठ नागरिक समेत रहेका गुरूङले भने। बाल्यकालमा झरना र ताल आसपासमा पुगेर पुजाआजा र खोलामा नुहाएर फर्किने गरेको अनुभव गुरूङले सुनाए।

ताल नजिकको जंगलमा भेटिने सुन्तला, उखु खाएर घर जाने गरेका गुरूङले त्यहाँको फलफूल घरमा लैजान नहुने धार्मिक विश्वास रहेको बताए। धामीझाँक्री र लामाले आफूभित्र रहेको शक्तिलाई पुष्टि गर्न गाउँबाट खाली खुट्टा कठोर यात्रा गरी मन्दिरमा पूजाआजा र बलि दिएर गाउँले समक्ष आफ्नो शक्ति प्रदर्शनसमेत गर्ने गरेको बुढापाकाको भनाइ छ।

पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालसम्म पुग्न सजिलो हुने बाटो भत्किएपछि अहिले जोखिमपूर्ण यात्रा गरेर तालमा पुग्नुपर्ने स्थानीय नन्दप्रसाद रोका बताउँछन्।

तालको अवलोकन गर्न पुगेकाले प्रचारप्रसार गरेकै आधारमा वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थी र आन्तरिक पर्यटक पुग्ने गरेको बताउँदै पक्की पदमार्ग र पहाडबाट तालसम्म पुग्ने गोरेटो बाटो बनाउनुपर्ने स्थानीयको भनाइ छ।

जंगलभित्र रहेका नियालोको सहारामा आन्तरिक पर्यटकले आवतजावत गर्ने गरेका छन्। जंगलमा रहेको नियालो खान आउने वन्यजन्तुसँग धेरैपटक स्थानीयको जम्काभेटसमेत भएको छ। तालसम्म पुग्न स्थानीयले नियालोलाई डोरी बनाएर पुग्छन्। पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अतिस्त्व संकटमा पारेको छ।

भाले बास्ने तालको इतिहास

गाउँका ९ भाइ लाहुरेमध्ये एक जनाले भरिया लिएर तालको अवलोकन गर्न गएको अवस्थामा तालनजिक दरबार जस्तै घरमा रात विताएर विहान ढुंगामा सुतेको अवस्थामा भेटिएको किम्बदन्ती रहेको छ।

प्राकृतिक सौन्दर्यले भरिएको ताल नजिक आफ्नो भाकलअनुसार पूजाआजा गर्न गएका लाहुरे र भरिया भागेर आएपछि तालको प्रचारप्रसार गरेकै आधारमा तालको नामाकारण गरिएको बताइन्छ। लाहुरेले तालबाट फर्किएपछि लामो समयसम्म बली लिएर पुजा गर्ने गरेको भनाइसमेत छ। एका विहानै नियमित भाले बासेको आवाज आसपासका बस्तीसम्म पुग्ने भनाइसमेत भेटिन्छ। मन्दिर र तालनजिक रहेका उखु र सुन्तला टिपेर लैजानको घरमा पुग्दा खोल्टी रित्तै हुने पुरानो भनाइ छ।

मन्दिर आसपासका रहेका रूखको विरुवा लिएर छिमेकी हाल मंगला गाउँपालिका–५ अर्मनमा लगाइएको अवस्थामा भेटिएपछि करिब १ सय बर्ष अगाडीसम्म नियमित पूजाआजासहित तालको संरक्षण गर्ने गरिएको स्थानीय बुढापाको भनाईलाई उद्धृत गर्दै वडा अध्यक्ष सन्तनाथ जैशी ‘सन्तोष’ बताउँछन्। मन्दिरमा आफ्नो मनोकामना पूरा गर्ने, शैक्षिक, रोजगारी तथा सेनामा भर्ती हुनेले भाकल गर्छन् र बलिसमेत दिन्छन्।

तालमा कसरी पुग्ने?

धार्मिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण रहेको सो तालमा पूजाआजा र भाकल गरेमा आफूले इच्छाइएको कुरा पूरा हुने भएकोले पनि दरवाङ तथा बावियौचारका स्थानीय मन्दिरसम्म पुग्ने गरेका छन्।

विभिन्न जिल्लाबाट म्याग्दीको सदरमुकाम बेनीमा यातायातका साधनमा आएर बेनीबाट बेनी–दरवाङ सडकखण्ड अन्‍तर्गत पर्ने सहस्रधारा, दुखुबेसीं, दरुङ गाउँबाट पुग्न सकिन्छ। बेनीबाट करिव दुईघण्टा सवारीसाधनमा सहस्रधार पुगिन्छ। त्यहाँ केही समय आराम गरी स्थानीय यूवाको पहलमा निर्मित बाटोबाट तालसम्म पुग्न सकिन्छ। नियालो र घाँसको सहायतामा आवतजावत गर्नुपर्ने हुन्छ। दरवाङको दुखुबेसी त्यहाँ पुग्ने छोटो दुरीको मार्ग रहेको पत्रकार हरिकृष्ण गौतम बताउँछन्।

तालमा पुग्ने मार्गमा संकेत चिन्ह नभए पनि ताल जाने सामान्य जानकारी भेट्न सकिन्छ। भाले बास्ने ताल र मालिकालगायत दुखु गाउँको धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारका लागि न्यु मालिका युवा क्लबले वृत्तचित्र र गीतको म्युजिक भिडियोबाट समेत प्रचारप्रसार गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.