|

जनकपुरधाम : डाक्टरको लापरबाहीले जनकपुर अस्पतालमा आइतबार एक बिरामीको मृत्यु भएको छ। महोत्तरीको पिपरा गाउँपालिका घर भएका २१ वर्षीय कुन्दन झाको मृत्यु भएको हो।

पेट दुख्न र ज्वरो आउने समस्या देखिएपछि झा शनिबार अस्पतालमा भर्ना भएका थिए। समयमा चेकजाँच नगरेका कारण आइतबार बिहान छोराको मृत्यु भएको उनका भिनाजु आसुतोष झाले बताए। उनले भने, ‘डा. आनन्द कुमार झाले अवस्था सिकिस्त रहेको भन्दै आइसियुमा भर्ना गर्नुपर्ने भन्नुभयो। तर, यहाँका आइसियुको तीन वेड खाली रहे पनि आइसियुमा भर्ना गरेनन्।’

डाक्टरले आइसियुमा भर्ना नगरी बाहिर लग्न भनेको र एम्बुलेन्स खोज्न समय लाग्दा मृत्यु भएको उनका भिनाजु आसुतोषले गुनासो पोखे। डाक्टरले आइसियुको बेल खाली रहे पनि भर्ना नगर्दा चरम लापरबाही देखिएको उनको भनाइ छ। 

यता, उपचारमा संलग्न डाक्टर झाले ल्याब रिपोर्ट ढिलो आएका कारण बिरामीलाई बचाउन नसकिएको जानकारी दिए। ‘भर्ना भएको बेला उनको अवस्था सामान्य थियो। तर, एकाएक अवस्था बिग्रियो। त्यसैले जोगाउन सकिएन’ उनले भने 'रिपोर्ट हेरेपछि उनलाई सुगरले च्यापेको र शरीरमा रगतको पनि अभाव देखिएको थियो।'

आइसियु खाली रहे पनि किन भर्ना नगरेको जिज्ञासामा डा. झाले आइसियुमा बेड खाली छ कि छैन भनेर हेर्न स्टापलाई पठाएपछि छैन भनेर भनेपछि बाहिर लग्न सुझाव दिएको उनको भनाइ छ। उनले बाहिर लग्न भनेको केहीबेरमै मृत्यु भएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.