प्रदर्शनले अनुसन्धानमा असर पार्ने

|

चितवन : अधिवक्ता गोपिलाल देवकोटाले न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका छन्। आइतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै देवकोटाले अनुसन्धानका पाटाहरू अझै धेरै रहेकाले रवि तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका हुन्।

उनले रविमाथि फेरि म्याद थप हुनसक्ने उल्लेख गरेका छन्। रविसहित पत्रकार युवराज कँडेल र नर अस्मिता भनिने रुकु कार्की अहिले न्यायिक हिरासतमा छन्। उनीहरूमाथि ५ दिनको म्याद लिएर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। चितवन जिल्ला अदालतबाट थप गरिएको म्याद मंगलबार सकिँदैछ।

रविको समर्थनमा भइरहेको प्रदर्शनले अनुसन्धानमा कठिनाई हुने देवकोटाको भनाइ छ। अनुसन्धानका घेरामा रहेका व्यक्तिलाई तत्काल रिहा गर भन्नू न्यायसंगत नभएको उनको तर्क छ। उनले उक्त घटनालाई स्वतन्त्ररूपमा अनुसन्धान गर्ने वातावरण बनाएर सत्यतथ्य बाहिर ल्यान मद्दत गर्नुपर्ने बताए।

उनले मृत्युपूर्व रेकर्ड गराएको भिडियोमा रविसहित तीनजनाको नाम लिएका थिए। त्यही आधारमा प्रहरीले बिहीबार साँझ रविसहित तीनैजनालाई पक्राउ गरेको थियो।

यसैबीच पत्रकार पुडासैनीको परिवारले रविसहित तीनैजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

सम्झना आफैंले सञ्चारकर्मी रविसहित अन्य आरोपी युवराज र अस्मिताविरुद्ध किटानी दिएकी हुन्। जाहेरी काठमाडौंमार्फत चितवन आउने मल्लले बताए।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा नाम मुछिएपछि उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन्। पुडासैनी चितवनको भरतपुर महानगरपालिका-१ नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारू होटलमा गएको साउन २० गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.