'हामीसँग त आँखा र क्यामेरा पनि निष्पक्ष भएन'

|

काठमाडौ :  मधेसमा गरिबी  र गरिब मात्रै छन् कि अरु पनि? यसको जवाफ पाउन मधेस घुम्नैपर्छ। जसले देश घुमेको छैन, समाज बुझेको छैन,अध्ययन गरेको छैन, उसका लागि मधेस गरिब मात्रै छ। मधेसभित्रको सुन्दरता र महत्वलाई आत्मसाथ गर्ने ल्याकत हामीसँग छैन। हामीसँग त देख्‍ने आँखा र खिच्‍ने क्यामेरा पनि निष्पक्ष भएन।

धेरैलाई मधेसमा गरिबी मात्र छ भन्‍ने भान हुन्छ। जसले मधेसको वास्तविकता बुझेको छ। उसले बुझेको छ। मधेससँग धेरै कुरा छ। मधेससँग सामाजिक परिवेश छ, धार्मिक सहिष्णुता छ, पुरातात्विक तथा ऐतिहासिक सभ्यताको ठूलो भण्डार छ। जसको प्रचार हुनै सकेन। 

मधेससम्म देशको ध्यान तब मात्र आकृष्ट हुन्छ जब मधेसमा बाढी आउन थाल्छ। कि त आन्दोलनका श्रृंखलाले तातेको हुनुप्छ। के मधेसलाई हेर्न र  बुझ्‍न बाढी-आन्दोलन कुर्नुपर्ने हो? 

यस पटक नेपाल लिट्रेचर फेस्टिबल जनकपुर संस्करण हुँदै छ। यो संस्करण मधेसलाई नजिकबाट बुझ्न कोशेढुंगा हुन सक्ने दाबी नेपाल पर्यटन वर्ष २०२० मा २ नम्बर प्रदेशका संयोजक मनीष झा गर्छन्। उनी आइएमई नेपाल लिट्रेचर फेस्टिबल जनकपुर संस्करणका संयोजक पनि हुन्।

नेपाली साहित्यिक बहसमा नेपाल लिट्रेचर फेस्टिबलको महत्व र प्रभावकारिताबारे यसअघि साहित्य सम्मेलनमा भएका बहस र त्यहाँ उपस्थित भीडले दर्शाउँछ। देश संक्रमणकालीन अवस्थाबाट धेरै वर्ष गुज्रियो। यसका अवशेष अहिले पनि छन्। लामो समय राजनीतिक विचलन आएको देशमा अहिले कमसेकम स्थिर सरकार बनेको छ।

तराई-मधेसमा लामो समय राजनीतिक मुद्दामा आन्दोलन भए। विशेषगरी संविधान निर्माण र मधेसका हक अधिकारमा मधेस केन्द्रित दल र मधेसका जनताले आन्दोलनबाट अधिकार प्राप्तिको लडाइँ गरे। उनीहरूले कति अधिकार पाए ? त्यसको छुट्टै बहस हुन सक्छ। तर, मधेस आन्दोलनले धेरै कुरा गुमाएको छ। गुमेको कुरा फर्काउन अब मधेसले धेरै काम गर्नुपर्नेछ। 

विश्वका धेरै देश लामोसमय द्वन्द्वमा फसे। गुमाएका कुरा फर्काउन उनीहरूले विभिन्‍न काम गरेका उदाहरण छन्। जसको राम्रो उदाहरण हो, दक्षिण अफ्रिका। लामो समय द्वन्द्वका फसेको दक्षिण अफ्रिका राजनीतिकरुपमा स्थिर भएपछि उसले गुमेको चिज फर्काउन विभिन्‍न काम गरेको छ। विश्‍वकप क्रिकेटदेखि फुटबलको विश्वकप पनि आयोजना गर्‍यो। यसको मुख्य उद्देश्य देशलाई पुन: सामान्य अवस्थामा फर्काई देशको समृद्धिलाई उचाईंमा पुर्‍याउनु हो।

सक्रमणकालीन अवस्थामा गुमाएका अवसर पुन: फर्काउन अविलम्ब प्रयास गर्नैपर्छ। नेपाल पनि लामो समय आन्तरिक द्वन्द्वमा फस्यो भए। देशलाई पुन: सामान्य अवस्थामा फर्काउन र आर्थिक समृद्धि ल्याउन विभिन्‍न अन्‍तर्राष्ट्रिय कार्यक्रम हुन जरुरी छ। 

यो त समग्र देशको कुरा भयो। देशभित्रै पनि राजनीतिक आन्दोलनबाट मधेस अछुतो छैन। राजनीतिक परिवर्तनमा मधेसको भूमिका र यसले पारेको प्रभावलाई पाखा लगाएर गरिने परिभाषा अपुरो र अधुरो रहन्छ।

मधेसको एउटा केन्द्र जनकपुरलाई पहिलेकै अवस्थामा फर्काउन धेरै महत्वपूर्ण काम गर्न जरुरी रहेको झा बताउँछन्। जनकपुर कला, स‌ंस्कृति र सभ्यताले देशकै एक महत्वपूर्ण शहर हो। प्राकृतिक र अध्यात्मिक रूपमा, धर्म संस्कृतिका हरेक कुराले जनकपुर महत्वपूर्ण शहर मानिन्छ। तर, पछिल्लो राजनीतिक घटनाले जनकपुरले धेरै कुरा गुमायो।  तर के जनकपुरले गुमाएको कुरा फर्किनेवाला छैन? त्यसका लागि धेरै काम गर्नु जरूरी छ। त्यही प्रयासमध्ये एक हो आसन्‍न साहित्य सम्मेलन।

जनकपुरलाई सामान्य अवस्थामा फर्काउन झाले विभिन्‍न कार्यक्रम गर्दै आएका छन्। अघिल्लो वर्ष पशुपतिदेखि जनकपुरसम्म साइकल यात्रा गरे। जसमा डेढ सयजनाको सहभागिता थियो। उनी स्वयम् साहित्यलाई मन पराउने भएकाले विभिन्‍न साहित्य सम्मेलनमा दर्शक बनिरहन्छन्। अघिल्लो वर्ष पोखरामा भएको साहित्य सममेलनमा सहभागी भए। आयोजकलाई जनकपुरमा पनि यस्ता बौद्धिक बहस गर्न आग्रह गरे।

आयोजकले कार्यक्रम गर्न आधारभूत आवश्यकताबारे चिन्ता व्यक्त गरे। ती सबै आधारभूत कुरा पूरा गर्न सकेसम्म मेहनत गर्ने बचन झाले आयोजकलाई दिएका छन्। उनको बाचामा आयोजक सहमत भएपछि साहित्य सम्मेलन हुन लागेको हो। प्रदेश सरकार, सुरक्षा निकाय, आयोजकको जिम्मा झाले लिएका छन्। उनले यसका लागि सम्बन्धित निकायबाट सकारात्मक सहयोगको आश्वासन पाइसकेका छन्।

किन नेपाल लिट्रेचरका आयोजक टिम नै आवश्यक पर्‍यो त? पंक्तिकारको प्रश्नमा झा भन्छन्, 'हामीले हरेकको कामको सम्मान गर्नुपर्छ। सातआठ वर्षदेखि गरिरहेकाले आयोजकलाई यो कार्यक्रम कसरी गर्नुपर्छ भन्‍ने कुराको राम्रो ज्ञान छ। राम्रा काम गर्नेसँग सहकार्य गर्दा परिणाम पनि सकारात्मक आउँछ।'

 आकर्षण

जनकपुरमा हुने कार्यक्रममा कुनै ब्‍याक ड्रप आवश्यक छैनन्। अर्थतन्त्र र राजनितिको बहस हुन्छ भने नेपालको एक मात्र रेलवेको प्लेटफर्म हुने उनले बताए। 'गंगासागरको छेउमा उभिएर कविता वाचन गर्दा कस्तो देखिएला? कार्यक्रमको उद्घाटन गर्दा विवाह मण्डपको ठूलो मन्दिर ब्‍याकग्राउण्ड हुन्छ कल्पना गर्नु त कति सुन्दर देखिन्छ', उनी भन्छन्, 'समापन कार्यक्रम जानकी मन्दिरको प्रांगणमा गर्दा जानकी  मन्दिरको ब्याकग्राउण्डमा हुनेछ।'

सम्मेलनमा सांगीतिक कार्यक्रम गोपाल धर्मशालामा गरिँदै छ। जुन नेपालको ऐतिहासिक भवन हो।

कार्यक्रममार्फत् हरेक व्यक्तिलाई जनकपुर महसुस गराउनु नै आफ्नो उद्देश्य रहेको बताउँछन् उनी। जनकपुर संस्करण फरक शैलीमा गर्ने कोशिस आयोजकको छ।

हरेक वर्ष लिट्रेचर फेस्टिबल कहिले होला भन्‍ने चासो हुन्छ। यसपटक जनकपुरको कार्यक्रम पनि उस्तै भव्य हुने उनले दाबी गरे। 'यसपालि जनकपुर संस्करणले नेपाली जनमानसमा जनकपुरमा साहित्य महोत्सवको समय भनेर हरेक वर्ष मान्छेहरूले क्यालेण्डर हेर्दै चिह्‍न लगाउने गरी छाप छाड्ने छ', उनी भन्छन्। 

कस्ता छन् कार्यक्रम?

कार्यक्रममा विभिन्‍न विषयमा बहस हुँदै छन्। यसपटक पूर्वराष्ट्रपति रामवरण यादव पनि बहस गर्दै छन्। लेखक तथा पत्रकार चन्द्र किशोर झाले 'चुरेको चिन्ता' विषयमा यादवसँग बहस गर्नेछन्। 'प्रदेश कि परदेश' विषयमा पत्रकार सुधीर शर्माले मुख्यमन्त्री लालबाबु राउतसँग संवाद गर्नेछन्।

अर्को 'स्वाभीमान,सम्मान र अभिमान' सेसनमा युवा नेता गगन थापाले पत्रकार नारायण वाग्ले, दीपेन्द्र झा, लेखक सिकेलालसँग बहस गर्नेछन्। कहिलेकाहीँ के पनि सुनिन्छ भने मधेस हिमालसँग त्यति नजिक छैन भन्‍ने चिन्ता छ।

देशभित्र पनि हामी एक क्षेत्रको व्यक्ति वा ठाउँलाई अन्य ठाउँका व्यक्ति वा परिवेशलाई त्यति चासो दिएका छैनौँ। यसमा राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। यसपटक जनकपुरमा एउटा सेसन छ, 'मधेसको हिमाल' जसमा पिताम्बर शर्मा र कनकमणि दीक्षितले बहस गर्नेछन्।

अर्को बहसको सेसन 'कति टाढा कति नजिक' छ। जसमा इतिहासविद्हरूले बहस गर्नेछन्। लेखक बज्रेश खनाल, सञ्‍चारकर्मी तथा कवि रूपेश श्रेष्ठ, डा. रामेश कोइराला लगायतले कविता वाचन गर्दैछन्। कार्यक्रममा कवालीलाई पनि स्थान दिने योजना छ। उनी भन्छन्, 'जनकपुर कार्यक्रम भव्य हुँदै छ। हामी समग्र देश जोड्ने अभियानमा छौं। यस्ता कार्यक्रमले सम्बन्ध अझ कसिलो बन्न सक्छ।'

अन्य धैरे कार्यक्रम हुँदैछन्। जसले यसपालिको आइएमई नेपाल लिट्रेचर फेस्टिबल जनकपुर संस्करणलाई सम्झनयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। संस्कृति, समाज र मिथिला आर्टबारे पनि बहस हुने उनी बताउँछन्।

भ्रमण वर्ष २०२० का लागि साहित्य सम्मेलन?

नेपालले भ्रमण वर्ष २०२० मनाउँदैछ। यसैको पूर्वसन्ध्यामा यो भ्रमण वर्षलाई टेवा पुगोस् भनेर गरिएको कार्यक्रम होइन। जतिबेला जनकपुर संस्करण गर्ने विषयमा छलफल हुँदै थियो, त्यसबेला नेपाल सरकारको भ्रमण वर्षलाई सोचेर बनाइएको होइन।

योजना बनाउँदा बनाउँदै भ्रमण वर्ष जोडिएको हो। भ्रमण वर्षमा पश्चिमा पर्यटकलाई अपेक्षा गर्न सक्दैनौँ। २ नम्बर प्रदेशलाई २०१९ मा नै देशभित्र परिचित गराउन कार्ययोजना रहेको उनले बताए। उनका अनुसार नेपालभित्रै प्रदेश २ चिनाउन जरुरी छ। यसपालि जनकपुर संस्करणमा विदेशी वक्ता उपस्थिति हुने छैनन्।

यो संस्करण नेपालीको लागि हो भने २०२० चाहिँ विदेशीको लागि पनि हुने उनले बताए। यसपालि पाँचवटा स्थानमा कार्यक्रम गर्दा १५ हजार व्यक्ति उपस्थित हुन सक्ने उनको अनुमान छ। 'सुरुवात भएकोले कम व्यक्ति उपस्थित होलान् भन्ने अपेक्षा छ। तर, भ्रमण वर्षलाई यसले केही राहत दिन सक्छ,' उनी भन्छन्।

मनीष झासँगको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.