|

एजेन्सी : गत शनिबारका दिन, काबुलका मिरवाइज इल्मी निकै खुसी थिए। उनको विवाह समारोह चल्दै थियो, र विवाह हलमा उनका कयौं आफन्त थिए। इल्मी प्रसन्न मुद्रामा आफन्तजनसँग बात मारिरहेका थिए। तर उनको खुसी धेरै बेर टिक्न सकेन।

चमकधमकयुक्त विवाह समारोह केहीबेरमै लाशको थुप्रोमा परिणत भयो। एक आत्मघाती हमलाले साराका सारा माहोल मात्रै बिगारिदिएन, इल्मीलाई जीवनभरको चोट दियो। ६३ जना मारिए, १८० जना घाइते भए। मर्ने र घाइते सबैजसो उनका आफन्त थिए। एक स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा इल्मीले भनेका छन्, ‘अब मेरा सबै आशा समाप्त भएका छन्।’

‘मेरो परिवार र मेरी दुलही अहिले पनि चोटग्रस्त अवस्थामा छन्। कुरा गर्न सक्दैनन्। श्रीमती त बेला–बेलामा मुर्छा परिराखेकी छन्,’ इल्मीले भने, ‘म एमदम निराश छु। मैले मेरो भाइ गुमाएँ। त्यसको केही घण्टा नबित्दै मेरा कतिपय साथी र आफन्तको मृत्यु भयो। म जिन्दगीमा कहिल्यै खुसी हुन सक्दिन होला।’

‘मलामी जाने हिम्मत पनि छैन। एकदम थाकेको महसुस गरिराखेको छु,’ उनले भने, ‘मलाई थाहा छ हामी अफगानीका लागि यो नै आखिरी चोट होइन। अरु पनि दु:ख देख्न बाँकी नै छ।’

घटनामा दुलहीका परिवारका मात्रै १४ जना मारिएका छन्। चमपन्थी समूह इस्लामिक स्टेटले घटनाको जिम्मा लिएको छ।

के भएको थियो त्यस दिन?

इस्लामिक स्टेटका अनुसार उसको एक लडाकुले एक भिडभाडयुक्त ठाउँमा आत्मघाती विस्फोटन गरायो। त्यसपछि आपतकालिन सेवाका मानिस आउँदै गर्दा अन्य लडाकुहरुले विस्फोटकले भरिएको गाडी उडाए। सियाबहुल क्षेत्रमा उक्त विस्फोट गराइएको थियो।

अस्पतालमा उपचाररत २३ वर्षीय मुनिर अहमदले उक्त घटनामा आफ्नो भाइ गुमाए। उनले भने, ‘जतिखेर विस्फोट भयो, विवाहमा आएका मान्छेहरु नाचिरहेका थिए, खुसी मनाइरहेका थिए।’ अफगानिस्तानमा विवाह समारोह प्राय: ठूला हलहरुमा गरिन्छ, जहाँ महिला र पुरुषका लागि भिन्दा भिन्दै बस्ने ठाउँ छुट्याइएको हुन्छ।

विस्फोटनपछिको प्रतिक्रिया

राष्ट्रपति अशरफ घानीले यो घटनालाई ‘बर्बर आक्रमण’ को संज्ञा दिएका छन्। त्यस्तै त्यहाँका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले घटनालाई ‘मानवताविरोधी अपराध’ भनेका छन् भने अफगानिस्तानका लागि अमेरिकी राजदूत जोन बोसले ‘अवशादको नतिजा’ भनेका छन्।

तालिबानकै एक प्रवक्ताले पनि ‘घटनाको कडा शब्दमा निन्दा गरिएको’ बताएका छन्। वक्तव्यमा प्रवक्ता जबिउल्ला मुजाहिदले भनेका छन्, ‘जानिबुझिकन महिला र बालबालिकामाथि गरिएको बर्बर आक्रमणबारे कुनै स्पष्टोक्ति स्वीकार्न सकिँदैन।’

शान्तिवार्तामा प्रगति

पछिल्लो केही समययता कतारको राजधानी दोहामा अमेरिकी प्रतिनिधि र तालिबानी प्रतिनिधिबीच शान्तिवार्ता चलिरहेको छ। दुवै पक्षका अनुसार वार्ता सकारात्मक दिशाउन्मूख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘तालिबानसँगको वार्ता सकारात्मक छ। अफगान सरकारसँगको वार्ता पनि सकारात्मक रहँदै आएको छ।’

नेटो मिशन अन्तर्गत अहिले अफगानिस्तामा १४ हजारको संख्यामा अमेरिकी सेना तैनाथ छन्। ट्रम्पले छिट्टै आफ्नो सेना फिर्ता बोलाउने बताउँदै आएका छन्।

उनले क्रमश: आफ्नो सेना फिर्ता बोलाउने बताइरहँदा तालिबानी नेतृत्वबाट ‘अमेरिकी सेनामाथि आक्रमण गर्न चरमपन्थी समूहहरुलाई अफगानी भूमि प्रयोग गर्न नदिने’ प्रतिवद्धता खोजेका छन्।

सन् २००१ मा सत्ताबाट हटे पनि तालिबानीहरुले अफगानिस्तानमा पहिलेभन्दा धेरै क्षेत्रमा कब्जा जमाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.