|

इलाम : भुटानमा आयोजना हुने साफ यू–१५ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपका लागि प्रदेश १ ले २२ जना खेलाडीको नाम सार्वजनिक गरेको छ।

धरान टेक्निकल सेन्टरमा २ दिन लगाएर प्रदेश १ को १४ जिल्लाबाट खेलाडी छनोट गरिएको हो। सबैभन्दा बढी सुनसरीबाट ११ जना खेलाडी छनोट भएका छन्।

मोरङबाट ४ जना, धनकुटाबाट ३ जना, इलामबाट २ जना, उदयपुर र झापाबाट १/१ जना छनोट भएका छन्। ७ वटै प्रदेशबाट छनोट भएको खेलाडीबीच भाद्र ४ गते काठमाडाैंमा अन्तिम छनोट गर्ने एन्फाको तयारी रहेको छ।

प्रदेश १ का प्रशिक्षक सचिन्द्र धिमालले छनोटमा सहभागी हुने खेलाडीको संख्या बढ्न सक्ने बताए। ‘अहिले २२ जना छनोट गरेर नाम सार्वजनिक गरेका छौं।’ उनले भने, ‘पहाडी विकट जिल्लाका खेलाडीहरू छनोटमा सहभागी हुन सकेनन्। तर केन्द्रीय छनोटमा सहभागी गराउने जिल्ला फुटबल संघले प्रतिवद्धता गरेका छन्। २५ पुग्न सक्छ।’ 

एन्फाको नियम अनुसार केन्द्रीय छनोटमा सहभागी हुनेहरूले खान बस्न आफै व्यवस्था गर्नुपर्ने भएकाले केन्द्रीय छनोटमा जाने खेलाडीको संख्या एकिन भन्न नसकिने धिमालले बताए। केन्द्रीय छनोटबाट क्लोज क्याम्पमा पर्ने ३५ जना खेलाडीलाई एन्फाले व्यवस्थापन गर्ने धिमालले बताए। भुटानमा आयोजना हुने साफमा नेपालसहित बंगलादेश, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउने छन।

प्रतियोगिता असोज २२ बाट २८ सम्म भुटानको राजधानी थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा आयोजना हुनेछ। पहिलो खेलमा नेपालले भारतको सामना गर्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै प्रदेशमा प्रशिक्षक नियुक्त गरेर खेलाडी छनोट गरेको छ।

 यु–१५ महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलरक्षक प्रशिक्षकमा मिन बस्नेतलाई जिम्मेवारी दिएको छ।

प्रदेश १ बाट छनोट भएका खेलाडी

सुनसरी : कविता चौहान, टेरेसा मगर, पुष्पा चौहान, आसिका बोहोरा, सुस्मिता राई, जिनु राई, सदीक्षा राई, सीता कार्की, सुमिना आलेमगर, अनुजा प्रधान, भूमिका राई ( गोलकिपर)
मोरङ : एरिना राई, कामना राई, आरती राई, रेजिना धिमाल (गोलकिपर)
धनकुटा : सन्ध्या रम्तेल, अनिसा बैजु, अन्जना थुलुङ राई, 
इलाम : जेनिफर रानामगर, प्रिया बस्नेत
उदयपुर : मनिता तामाङ
झापा :  मनिषा राउत

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.