|

काठमाडौं : सरकारको प्रयासका बावजुद उद्योगमा लगानीको प्रभाव देखिन सकेको छैन। उद्योग विभागमा दर्ता हुने उद्योग र आउने प्रतिवद्धतालाई आधार मान्दा लगानी निरन्तर घटेको देखिएको छ। गत आर्थिक वर्षमा स्वदेशी लगनीका उद्योग र विदेशी लगानीको लागि आएको प्रतिवद्धताको जम्मा रकमलाई आधारमान्दा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकलाई हेर्दा उद्योगमा नयाँ लगाउन ल्याउन स्वदेशी उद्योगीहरू डराएको देखिएको छ। एक महिनाको अवधिमा उद्योग विभागमा २६ वटा उद्योग दर्ता भएका छन्। जब कि गत आर्थिक वर्षको त्यही अवधिमा ५७ वटा उद्योग दर्ता भएका थिए। उद्योग संख्याको हिसाबले दुई गुणा भन्दा बढीले दर्तादरमा कमी आएको देखिन्छ।

कुल लगानी रकमलाई हेर्ने हो भने ६८ प्रतिशतले कमी देखिएको छ। एक महिनाको अवधिमा १७ अर्ब ५० करोड रुपैयाँका उद्योग दर्ता भएका छन्। जब कि गत वर्ष त्यही अवधिमा ५३ अर्ब ५६ करोड रुपैयाँ बराबरका उद्योग दर्ता भएका थिए। यस हिसावले लगानीदर ६८ प्रतिशतले घटेको देखिएको हो।

त्यस्तै रोजगारीको हिसाबले पनि उद्योगमा लगानी घटेको छ। अहिले एक हजार ४११ जनालाई रोजगारी दिन सक्ने गरी उद्योग दर्ता भएका छन्। गत वर्ष यही अवधिमा तीन हजार २५१ जनालई रोजगारी दिने गरी उद्योग दर्ता भएका थिए।

आर्थिक वर्ष २०७५/७६ को पहिलो महिना अर्थात् साउनमा सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा चारवटा उद्योग दर्ता भइ २६ करोड रुपैयाँ बराबरको लगानी रकम तोकिएको थियो। यो वर्ष यो क्षेत्रमा एक रुपैयाँ पनि लगानी आएको छैन।

अन्य पाँच किसिमका उद्योगमा पनि लगानी घटेको छ। चालु आर्थिक वर्षको पहिलो महिना कृषि तथा वनजन्यमा १३ करोड, ऊर्जामा १४ अर्ब ४० करोड, उत्पादनमूलक उद्योगमा दुई अर्ब एक करोड, सेवामूलक उद्योमा २० करोड र पर्यटन क्षेत्रमा ७५ करोड रुपैयाँ लगानी अनुमान बराबरका उद्योग दर्ता भएका छन्।

जबकि गत आर्थिक वर्षको पहिलो महिना क्रमश ९५ करोड, ४६ अर्ब, ४५६ अर्ब ७० करोड, ५४ करोड र एक अर्ब १९ करोड रुपैयाँ लगानी बराबरका उद्योग दर्ता भएका थिए। लगानी गर्ने सम्भावना वातावरण कमजोर बन्दै गरेको र बनिरहेका ऐनमा पनि अलमल भएकाले लगानीकर्ता हच्किएको नेपालो उद्योग वाणिज्य महासंघका एक पूर्वअध्यक्ष बताउछन्। ‘यहाँ भएका उद्योग चलाउन समस्या परिहरेको अवस्था छ, नीतिगत स्थिरता आउनुपर्नेमा थप अन्योलता देखिएको छ। अझै लगानीकर्ताले विश्वासका साथ लगानी नगरेको देखिन्छ,’ उनले भने।

विदेशी लगानीकर्ताको प्रतिवद्धता बढ्यो

स्वदेशी लगानीकर्ताको लागानीदर ६८ प्रतिशतले घटे पनि विदेशी लगानीकर्ताको प्रतिवद्धता बढेको छ। पहिलो महिना तीन अर्ब ८६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ। लगानी रकमको हिसाबले गत वर्षको तुलनामा ३२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा दुई अर्ब ४६ कोड रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो। उद्योग संख्यको हिसाबले भने लगानी प्रतिवद्धता कम देखिन्छ।

गत आर्थिक वर्षको पहिलो महिना ६४ वटा उद्योमा लगानी प्रतिवद्धता आएको थियो। यो आर्थिक वर्षको पहिलो महिना जम्मा २४ वटा उद्योगमा मात्रै प्रतिवद्धता आएको छ।

सबैभन्दा बढी पर्यटन क्षेत्रमा दुई अर्ब ४० करोड रुपैयाँको र सेवा क्षेत्रमा १ अर्ब १६ करोडको लगानी प्रतिवद्धता आएको छ। गत वर्ष यही अवधिमा पर्यटन क्षेत्रमा ६४ करोड आठ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो। सरकारले गत वर्ष गरेको लगानी सम्मेलनको प्रभावसमेत देखिन विदेशी लगानीमा देखिन थालेको उद्योग विभाग जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.