|

पोखरा : पोखरालाई नेपालको चेरापुञ्जीका रूपमा चिनिन्छ। जहाँ देशकै सबैभन्दा धेरै पानी पर्छ। तर अहिले अवस्था फेरिएको छ। देशकै सबैभन्दा धेरै पानी पर्ने ठाउँकै कथा अर्कै हुन थालेको छ। 

अहिले पनि देशका पश्चिमी र पूर्वी भागमा यसपटकको मनसुनमा अत्यधिक बर्षात् भइरहँदा पोखरा भने सुख्खा हुने अवस्था देखिएको छ। यहाँ यो पटकको मनसुनमा कम पानी परेको छ।

पोखरामा पानी परेको पछिल्लो पाँच वर्षको रेकर्ड हेर्दा अवस्था चिन्ताजनक छ। औसत भन्दा पनि कम पानी परेपछि यहाँका बासिन्दा पनि चकित छन्। जल तथा मौसम विज्ञान कार्यालय पोखराको अनुसार रेकर्ड राख्न थालेको ५० वर्षयता पोखरामा सबैभन्दा कम पानी सन् २०१८ मा परेको थियो। २ हजार नौसय ३४ मिलीलिटर मात्रै। नेपालमा औसत बर्षातको करिब ९० प्रतिशत मनसुनको बेला हुनुपर्छ।  तर यो दर वर्षेनि घट्दो छ। 

यस्तो छ २०१९ को मनसुनी समय 

नेपालमा सामन्यत: मनसुन सक्रिय हुने समय जुन, जुलाई, अगस्ट र सेप्टेम्बर हो। यो वर्षको जुनमा पर्नुपर्ने भन्दा कम पानी पर्‍यो। ६६९ मिलिलिटर औसत पानी पर्नुपर्ने भए पनि जुनमा जम्मा ६०८.३ मिलिलिटर मात्रै पानी पर्‍यो। जुलाईमा पर्नुपर्ने भन्दा धेरै कम पानी परेको रेकर्ड छ। पर्नुपर्ने ९४० मिलिलिटर थियो तर ५४५ मिलिलिटर मात्रै पानी पर्‍यो।

अगस्टको १९ दिनमा जम्मा १५५ मिलिलिटर पानी परेको छ। अगस्ट महिनाभरि पर्नुपर्ने ९४० मिलिलिटर हो। यो अनुमान पूरा हुन बितण्डा मच्याउने गरी पानी आउनुपर्ने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालले बताए। ‘पानी पर्ने क्रम बर्षेनि घट्दो छ’, उनले भने, ‘अगस्ट महिनामा पर्नुपर्ने ९४० मिलिलिटर हो। आधा समय गइसक्यो। अब यो लक्ष पुरा हुन भीषण वर्षात् हुनुपर्छ। त्यसरी पानी आयो भने हुने क्षतिको आंकलन पनि गर्न सकिन्न।’

२०१५ को यस्तो छ रेकर्ड 

सन् २०१५ को मनसुनका बेला जुन महिनामा जम्मा ५०६, जुलाईमा ९२३, अगस्टमा ६८१ र सेप्टेम्बरमा ७०२ मिलिलिटर पानी पर्‍यो। पोखरामा पानी पर्ने क्रम अस्वाभाविक घटबढ हुन थालेको धेरै भयो। पछिल्ला वर्षहरूमा मनसुनकै समयमा झन् कम पानी पर्न थाल्यो। ‘पानी कम पर्न छोड्यो’, उनले भने, ‘यसका पछाडि धेरै कारण हुन सक्छन्।' 

२०१६ मा कति पर्‍यो पानी? 

सन् २०१५ र २०१६ को तथ्यांकमा पनि पानी कहिले बढी र कहिले कम परेको देखिन्छ। २०१६ को जुनमा ५८९, जुलाइमा ८७७, अगस्टमा ३८१ र सेप्टेम्बरमा ९७२ मिलिलिटर पानी परेको देखिन्छ। ‘मनसुनको समयमा पानी धेरै पर्नु राम्रो मानिन्छ’, ढकाल भन्छन्, ‘यो समय नेपालमा धेरै बालीनाली लगाउने बेला पनि हो। तर पानी कम पर्न थाल्यो।’

२०१७ को अवस्था 

सन् २०१७ को जुलाई महिना बाहेक अरु महिनामा औसत भन्दा कम पानी परेको देखिन्छ। जुलाईमा भने औसत भन्दा धेरै पानी परेको छ। जुलाइमा ९४० पर्नु पर्नेमा १०७१ मिलिलिटर बर्षात भएको थियो। यस वर्षको जुनमा ४८२, अगस्टमा ६२०, सेप्टेम्बरमा ६१२ मिलिलिटर मात्र पानी परेको थियो। पछिल्लो समय अतिबृष्टि र खण्ड बृष्टि धेरै हुन थालेको छ। 

२०१८ को तथ्यांक 

पोखराको पानीको तथ्यांक राख्न थालेको ५० वर्ष पुग्यो। यो अवधिमा सबैभन्दा कम पानी २०१८ मै परेको देखिन्छ। यो वर्षको जुनमा ३७५, जुलाईमा ६३९, अगस्टमा ७०० र सेप्टेम्बरमा ७१२ मिलिलिटर मात्र पानी परेको थियो। 

जलवायु परिवर्तन, वृक्षारोपण कम, वन फँडानी बढी, पानीको स्रोत हराउनु, जनघनत्व, जथाभावी सडकसहितका पूर्वाधाा निर्माण पनि पानी कम पर्नु्को मुख्य कारण मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.