‘विद्युतले ७ अर्ब कमाएर भएन सेवा राम्रो चाहियो’

|

विराटनगर : उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारी विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङविरुद्ध खनिएका छन्। 
लो भोल्जेट र ट्रिपिङको समस्याले हैरान बनेका उद्योगीले मंगलबार प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई भेटेर विद्युत् समस्या समाधान गर्न जोड दिए।

‘झ्याप्प–झ्याप्प दर्जनौं पटक विजुली जाने र आउने गर्छ, चट्याङ परेको हो कि के हो?,’ मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले भने, ‘विद्युत् प्राधिकरणको काम ७ अर्ब कमाउने मात्रै होइन। सरकारी संस्थान भएको कारण सेवा पनि प्रभावकारी हुनुपर्छ।’ यस्तै उद्योग संगठन  मोरङका अध्यक्ष भीम घिमिरेले कूलमान घिसिङले भने जस्तो विद्युत् सेवा प्रभावकारी नभएको भन्दै उनले आक्रोश व्यक्त गरे।

‘कुलमान घिसिङज्यूले भने जस्तो विद्युत् सेवा छैन, मुख्यमन्त्रीज्यूले यो समस्या समाधानमा चासो दिनुपर्छ। तत्काल लो भोल्टेजको समस्या समाधान नगरे उद्योग धन्दा बन्द गर्नुपर्ने अवस्था आयो’, घिमिरेले भने, ‘संघीय सरकार ऊर्जामन्त्रालयलाई भन्यौं। उर्जामन्त्रीलाई भन्यौं। प्रधानमन्त्रीलाई भन्यौं। तर किन समाधान भएन?’

उद्योग संगठनका कार्यकारिणी समिति सदस्य राकेश सुरानाले विद्युतकाे समस्या २/४ घण्टा लोडसेडिङ गर्दा भन्दा ठूलो समस्या रहेको दाबी गरे। ‘समस्यै भए २/४ घण्टा समय तोकेर लाइन काट्दा हुन्छ। तर लाइन पनि दिने काम नहुने अवस्थाको अन्त्य हुनुपर्छ’, सुरानाको भनाइ छ। 

मुख्यमन्त्री राईलाई दुवै संगठनको तर्फबाट तत्कालका समस्या समाधान गर्नुपर्ने विषय समेटिएको निवेदन दिँदै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले ४ वर्ष अगाडि आएको बाढीबाट समस्याग्रस्त बनेको भारतको मिरगञ्ज पुल नयाँ नबनाउँदा समस्या भएको बताए।

भारत, विहारको परमान नदीमा रहेको मीरगंज पुलबाट ४० मेट्रिक टनभन्दा माथीका ढुवानीका साधन संचालनमा भारत सरकारले रोक लगाएको छ। जसका कारण नेपाल आउने मालबहाक सवारी साधान सुनसरीको भण्टाबारीबाट घुमाएर ल्याउनु पर्ने बाध्यता उद्योगीहरूको छ। जसका कारण ढुवानीमा समस्या भएको उद्योगीको दाबी छ। 

उद्योगीहले तीन तहको कर प्रणालीले उद्योग/व्यवसायी लगायत सवैलाई आर्थिक भार परिरहेकाले एकीकृत कर प्रणालीको व्यवस्था गर्नुपर्ने, उद्योग÷व्यवसाय मैत्री नीति निर्माण गर्नुपर्ने, प्रदेशमा रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग गरेका छ।

प्रदेशको आर्थिक वृद्धिमा मद्दत, आयात प्रतिस्थापनका साथै वैदेशिक मुद्रा आर्जनमा उद्योग/व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारले उद्योग मैत्री नीति अविलम्वन गरी उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने रणनीति अख्तियार गर्नुपर्ने मुन्दडाको भनाइ छ। 

उद्योग स्थापनाका लागि पूर्वाधारसहितको जग्गाको व्यवस्थापन, जग्गाको वर्गीकरण गरी सोही अनुरुपको विकास निर्माणको कार्य अविलम्वनमा ल्याउनुपर्ने उद्योगी/व्यवसायीको सुझाव थियो। 

मुख्यमन्त्री राईले उद्योगीलाई सम्बोधन गर्दै विद्युतको समस्याबाट आफू पनि अवगत भएकाले यसको समाधानका उपायका सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेको जानकारी दिए। उनले केही समयमै कुलमान घिसिङ प्रदेशमा आउने र सबै समस्या समाधान गरेर जाने विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री राईले मीरञ्गज पुलको कारण आयात–निर्यातमा उद्योगी/व्यवसायीले भोग्नु परेको समस्या समाधानका लागि तत्काल संघीय सरकारमा पहल गरी समाधान खोज्ने बताए। यस्तै निकट भविष्यमा हुन लागेको भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा मिरगञ्ज पुल निर्माणबारे ध्यानाकर्षण गराउने राईले बताए। 

उनले संघीय सरकारसँग समन्वय गरी वैज्ञानिक तवरले एकीकृत कर प्रणाली लागू गर्न पहल प्रारम्भ गर्ने, निकट भविष्यमा प्रदेश सरकारले लगानी सम्मेलनको आयोजन गर्ने, उद्योगीका सेवा सुविधा लगायतका वारेमा प्रदेश सरकारले स्पष्ट नीति तय गर्ने पनि राईले जानकारी दिए। उनले विराटनगर एयरपोर्टको स्तरोन्नतिका लागि संघीय सरकारका पर्यटन मन्त्रीका साथ छलफल भइसकेको हुँदा छिट्टै नै कार्य अगाडि बढ्ने वताए।

साथै विराटनगर–पोखरा–भैरहवा उडान संचालनका लागि पर्यटन मन्त्रालयका साथै बिमान कम्पनीहरूका साथ छलफल भएको र निकट भविष्यमा सकारात्मक परिणाम आउने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.