|

बुटवल : प्रदेश ५ मा रोल्पाबाहेकका सबै जिल्लामा सिसिटिभी जडान गरिएको छ। प्रदेशका ११ वटा जिल्लाका शहरी क्षेत्रको निगरानी गर्न सिसिटिभी जडान गरिएको हो।

सिसिटिभी जडान गर्न सरकारले तीन करोड रुपैयाँ विनियोजन गरेकामध्ये दुई करोड ५९ लाख रुपैयाँमा उक्त कार्य गरिएको प्रदेश ५ ट्राफिक प्रहरी प्रमुख मधुसुदन लुइटेलले जानकारी दिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभर १०५ वटा सिसिटिभी क्यामेरा जडान गर्ने लक्ष्य राखेको थियो। सोही अनुसार अब ३५ स्थानमा मात्रै जडान गर्न बाँकी रहेको छ। 

ट्राफिक प्रहरी कार्यालयका अनुसार प्युठानमा नौ, अर्घाखाँचीमा सात, गुल्मीमा आठ, पाल्पामा १६, रुपन्देहीमा १०, नवलपरासी (पश्चिम)मा १८, कपिलवस्तुमा १४, बाँकेमा १५ र प्रदेश ट्राफिक प्रहरी कार्यालयअन्तर्गत बुटवलमा आठ वटा सिसिटिभीक्यामेरा जडान गरिएको हो। दाङ, बर्दिया र रुकुम पूर्वमा जडान गर्ने काम जारी रहेको ट्राफिक प्रहरी कार्यालयले बताएको छ। रोल्पासहित सुरक्षाका हिसाबले संवेदनशील मानिएका ४५ वटा स्थानमा क्षेत्रमा चालु आर्थिक वर्षमा सिसिटिभीक्यामेरा जडान गर्ने ट्राफिक कार्यालयले बताएको छ।

सीसीटीभीमार्फत तत्काल जिल्लाबाटै निगरानी गरिने ट्राफिक कार्यालयले बताएको छ। ट्राफिक प्रमुख लुइटेलले भने, ‘अहिले जिल्लाबाट निगरानी गर्छौं। तर, छिट्टै अप्टिकल फाइबरका माध्यमबाट सबै क्षेत्रको निगरानी एकीकृतरुपमा प्रदेश कार्यालयबाट गर्ने छौं।’ 

ट्राफिक कार्यालयले बुटवलमा जडान गरिएका क्यामेरा अत्याधुनिक भएको बताइएकोे छ। बुटवलका आठ स्थानमा जोडिएका क्यामेरा ३६० डिग्रीमा घुम्न सक्ने र जुम गरेर समेत हेर्न मिल्ने खालका रहेको बताइएको छ। क्यामेरा राखेको आसपासको क्षेत्रमा पार्किङ गरी राखेका गाडी, गुडिरहेका गाडी र साना वस्तु र अक्षरहरु कन्ट्रोल रुमबाटै चिन्न र पढ्न सक्ने स्तरका रहेको लुइटेलले बताए। 

मुख्यमन्त्री पाखरेल भन्छन्– अब अपराध र दुर्घटना कम हुन्छ 

प्रदेश ट्रफिक कार्यालय बुटवलमा सिसिटिभीकन्ट्रोल रुमको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिसिटिभीमार्फत प्रदेशमा अब अपराध र दुर्घटना कम हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री पोखरेलले सिसिटिभी जडान भएका क्षेत्रमा दुर्घटना कम हुने बताए। उनले प्रहरीको निगरानी र पारदर्शिताका लागि सिसिटिभी जडान गरिएको उल्लेख गरे। ट्राफिक व्यवस्थापनमा समस्या आएका क्षेत्रको पहिचान गरी थप सिसिटिभी क्यामरा जडान गरिने बताएका छन्। 

बुटवलमा बढ्दै गएको सवारी चाप र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सिसिटिभीक्यामेराले सहयोग पु¥याउने बताउँदै उनले अधिकतम उपयोग गर्न प्रहरीलाई सुझाव दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.