|

सल्यान : सल्यानमा ६५ प्रतिशत वढी घरधुरी विद्युतको पहुँच वाहिर रहेका छन्। देशमा उत्पादित विद्युत निर्यात गर्ने चर्चा चलिरहेकै वेला सदरमुकाम नजिकै रहेका वस्तीहरूमा समेत विद्युत विस्तार हुन सकेको छैन।

विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन सल्यानबाटै रुकुमसम्म विस्तार हुँदा पनि जिल्लाका धेरै वस्तीमा विद्युत पुग्न सकेको छैन। मुख्य प्रसारण लाइनका आसपासमा वाहेक अन्य स्थानहरूमा अहिले पनि विजुली विस्तार हुन नसकेको स्थानीयको गुनासो छ।  नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्र सल्यानका अनुसार जिल्लामा रहेका कुल ४६ हजार ६५६ घरधुरी मध्ये हालसम्म १० हजार ५२५ घरधुरीमा मात्रै विद्युतको पहुँच पुगेको छ। 

जिल्लामा रहेका ३ नगरपालिका ७ गाउँपालिका रहेको जिल्लामा शारदा नगरपालिका वाहेक वाँकी स्थानीय तहका सवै वडाहरूमा विद्युत विस्तार हुन नसकेको विद्युत वितरण केन्द्र सल्यानका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए। 

‘विद्युत विस्तार गर्नका लागि वजेट र आर्थिक अभाव छ। हामीले माग गरे अनुसार वजेट विनियोजन भए ३ वर्ष भित्रमा सवै वस्तीहरुमा विजुली पुर्‍याउन सकिन्छ’ प्रमुख पोखरेलले बताए। गत आर्थिक वर्षमा केन्द्रलाई प्राप्त भएको करिव १५ करोड रुपैयाँको लाइन विस्तार भइरहेको छ र यसले थप ५ हजार घरधुरीमा विद्युत पुग्ने पोखरेलको भनाई छ। 

सल्यानका सम्पूर्ण वस्तीमा विद्युत विस्तारका लागि जिल्लामा झण्डै ७० करोड रुपैयाँ आवश्यक रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए। उनले भने, ‘जिल्लाको भौगोलिक अवस्था हेरेर विद्युत विस्तारका लागि ७० करोड भन्दा वढी रकम लाग्ने हाम्रो अनुमान छ।

जिल्लामा विद्युत विस्तारका लागि संघीय सरकारले १८ करोड, प्रदेशले ७ करोड र स्थानीय तहले ७ करोड रकम विनियोजन गरेका छन। आगामी आर्थिक वर्षमा जिल्लाका सवै स्थानहरूमा विद्युत पुग्छ।’

स्थानीय तहले समेत विद्युत विस्तारलाई प्राथमकितामा राखेर अगाडि वढेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानवहादुर डाँगीले बताए। जिल्लाका स्थानीय तहका सवै वडाहरूमा अहिले पनि विजुली पुग्न सकेको छैन।

सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत त्रिवेणी उज्यालो कार्यक्रमबाट २ वर्ष भित्रमा सवैलाई विद्युतको पहुँचमा ल्याउने लक्ष्य राखेको डाँगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.