फरक मतको तयारीमा थिए माधव नेपाल

|

काठमाडौं : मंगलबार  बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास   बालुवाटारमा बस्न लागेको बैठक स्थगित भएपछि नेताहरु निस्किएका छन्।

बैठक नबसेपछि बालुवाटारबाट सबैभन्दा पहिले माधवकुमार नेपाल बाहिरिएका छ्न। त्यसपछि नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पनि निस्किएका छन्।

बालुवाटारबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको तयारी नपुगेको सन्देश महासचिव विष्णु पौडेलमार्फत् पठाएपछि आफुहरु उठेको बताए।

बैठक स्थगित भएपछि दुई अध्यक्ष सर्वदलीय बैठकको तयारीमा जुटेका छन्। यो बैठकमा ज्येष्ठ नागरिक र विदेश विभागसहितका निकायका प्रमुख नियुक्तिबारे टुंगो गरिने तयारी थियो। 

फरक मतको तयारीमा थिए माधव

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो फरक मत राख्ने तयारीमा थिए। नेता नेपालले पार्टीका निर्णय एकपक्षीयरुपमा जबरजस्ती गरिएको भन्दै फरक मत राख्न लागेका थिए।

नेता नेपालले वरीयामा भन्दा संगठनमा भएका नियुक्तिलाई लिएर ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका थिए। 

‘कतिपय निर्णयहरु जवरजस्ती र एकपक्षीय रुपमा गरिएको निचोड नेता नेपालको छ। 'जनवर्गीय संगठनका इन्चार्जहरुको नियुक्ति पेलेर गरिएको छ’, उनीनिकट एक केन्द्रीय सदस्यले थाहा खबरसँग भने, ‘अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा राख्नुनपर्ने अडान यथावत छ।’

नेता नेपालले पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संगठनमा एकलौटी निर्णय गरेको भन्दै तीव्र असहमति जनाएका छन्। उनले यसअघिको सचिवालय बैठकको निर्णयमा पनि ‘नोट अफ डिसेन्ट’ गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.