|

भद्रपुर, (झापा) : हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा नेपालको बाटोबाट भारत हुँदै भुटानसम्म तस्करी हुने गरेको रहस्य खुलेको छ।

भारतीय सशस्त्र प्रहरी बल ५३ बी बटालियन (एसएसबी) र वन कर्मचारीको संयुक्त टोलीले सोमबार राति ५ किलो यार्सागुम्बासहित तीन जना भुटानी नागरिकलाई पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो। 

संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारत–भुटानको सीमावर्ती नाकास्थित जयगाँउ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। पक्राउ पर्नेहरूमा भुटानी नागरिक थिम्फूका छोटेन नामग्याल, दोर्जी कियांग केसबू र दोर्जी शामिल रहेको भारतीय एसएसबीले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि हैमिल्टनगञ्ज रेन्जर वन विभागलाई बुझाइसकेको जनाइएको छ। बरामद गरिएको यार्सागुम्बाको मूल्य करिब एक करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा नेपालबाट भारत हुँदै भुटान लगायत अन्य देशहरूमा समेत तस्करी हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यार्सागुम्बा बहुमूल्य जडीबुटी हो। विभिन्न रोगको निवारणका लागि यार्सागुम्बा प्रयोगमा आउने गरेको वन कर्मचारीहरू बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.