पिएचको मात्रा कम हुँदा स्वास्थ्यमा गम्भीर असर

|

भद्रपुर : झापाबाट उत्पादित तीनवटा कम्पनीका पानी पिउन अयोग्य भेटिएको छ। पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागको टोलीले झापाबाट उत्पादित पानीको पिएचको मात्रा परीक्षण गर्दा शाश्वत, लाइफ केयर र माइधाम नामक पानी पिउन अयोग्य भेटिएको हो।

विभागका अनुसार पानीमा पिएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशत सम्म हुनुपर्ने प्रावधान रहेको छ। तर, बिर्तामोडमा उत्पादित शाश्वत नामक कम्पनीको पानीमा पिएचको मात्रा ५.६, लाइफ केयर ५.७ र कनकाईबाट उत्पादित माइधाम ५.६ रहेका छन्।

मंगलबार झापाको बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमुना संकलन गरी पिएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो। ‘पिउने पानीको गुणस्तर : अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशाला स्थलमै बजारबाट संकलित पानीको नमुनाका लागि पिएच मात्राको परीक्षण गरिएको थियो।

पानीको परीक्षण गर्दा हिमालयन ६.५, प्युरिकम ६.५, मकालु ६.७, सुनमाइ झरना ७.३, बेला ६.४, बेल्ली ६.७, तृष्णा ६.०, कञ्चन ६.४, एक्वामेरी ६.२, ओसिस जल ६.२, कनकाई ६.१, लाइफ लाइन ६.१, इस्ट स्प्रिङ ६.२, किन्ले ७.१, डियु ड्रब्स ६.२, जिरो एक्वा ६.२ पिएचको मात्रा रहेको भेटियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीका अनुसार स्वास्थ्यका दृष्टिकोणले पिएचको मात्रा न्यून भएका पानी पिउन अयोग्य हो। उनका अनुसार पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पिएच भनिन्छ।

नेपाल गुणस्तरले ६ देखि ८.५ पिएचसम्मको पानीलाई पिउन योग्य भनेको छ। तर, अन्तर्राष्ट्रिय गुणस्तरले ६.५ देखि ८.५ पिएचसम्मको पानीलाई पिउन योग्य मानेको छ। पानीमा ७ पिएच सबैभन्दा उत्तम मानिन्छ। ६ पिएचभन्दा तलको पानीलाई अम्लीय अर्थात् एसिडिक भनिन्छ।

८.५ पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ। नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतमभन्दा कम रहेको उनले बताए। ६ पिएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घ रोग लाग्ने उनको भनाइ छ।

संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पानी उद्योगलाई तत्काल कारबाहीको दायरामा ल्याउने बताइन्।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यशालामा चार बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ। उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय, स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात् गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न सरोकारवालाहरूले सोही कार्यक्रममा प्रतिबद्धतासमेत जनाएका छन्।

कार्यक्रममा मेची बहुमुखी क्याम्पस रसायन शास्त्रका उपप्राध्यापक जयनारायण मित्रुका, खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, अधिवक्ता खगेन्द्र खरेल, बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाईं, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ लगायतले आ–आफ्नो विषयगत प्रस्तुति राख्दै उपभोक्ता सचेतनामा जोड दिए। कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव एकराज गिरीले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.