|

ब्राजिलको दोस्रो ठूलो शहर रियो द जनेरियोमा मङ्गलबार एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले जनाएका छन्।

प्रहरीले उनीहरूलाई छुटाउन अपहरणकारी उक्त व्यक्तिसँग वार्ता शुरू गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै मङ्गलबार समाचार तयार पार्दासम्म बन्धक बनाइएका छ जना अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका पनि ब्राजिलियाली सञ्चारमाध्यमहरूले बताएका छन्।

अपहरणकारीले रियो र छिमेकी शहर नितेरो जोड्ने पुलमा बसलाई रोकेर राखेपछि प्रहरीले उनीहरूलाई छुटाउने पहल गरेको हो।

ब्राजिलको जी–वन समाचार संस्थाका अनुसार बसलाई अत्याधुनिक हतियारले सुसज्जित प्रहरीको ठूलो समूहले घेरी आधुनिक हतियार र विष्फोटक पदार्थ बोकेको अपहरणकारीसँग वार्ता गरिरहेका छन्।

बन्दूकधारी उक्त व्यक्ति स्थानीय समय अनुसार विहान ५:३० बजे बसमा चढेको केही समयमा यात्रुलाई आफूले बन्धक बनाएको भन्दै दायाँबायाँ नचल्न चेतावनी दिएको थियो।

उक्त घटनाका कारण रियो–नितेरो पुल भएर चल्ने अन्य यातायातका साधन पनि अवरूद्ध बनेका छन्। घटनास्थलबाट प्रत्यक्ष प्रशारण गरिएका टेलिभिजनहरूले बसमा बन्दूकधारीले यात्रसलाई बन्धक बनाएर थुनेर राखेको र वरपर एम्बुलेन्ससहित सुरक्षाकर्मी सतर्क अवस्थामा रहेको देखाइएको छ। अपहरणकारीले कुनै माग राखेको वा नराखेकोबारे कुनै जानकारी बाहिर आउनसकेको छैन।

ब्राजिलको रियो द जेनेरियोमा बन्दूकधारीद्वारा नागरिकलाई बन्धक बनाउने र हत्या गर्ने बिषय पछिल्ला केही बर्षमा बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.