|

विराटनगर : प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निस्किने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। यस पटकको रथयात्रामा झण्डै ८० हजार मूल्यको १ क्विन्टल फूल हेलिकोप्टरबाट खसालिने आयोजकको भनाइ छ।

‘१ क्विन्टल फूल खरिद गरेर हेलिकोप्टरबाट भक्तजनलाई पुष्प गुच्छाले स्वागत गर्ने योजना छ’, रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले भने,‘हेलिकोप्टर र फूलको व्यवस्थापन गर्ने दाता खोजी भइहरेको छ।’

आगामी शनिबार विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट पूजापाठ गरी निस्किने रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गारएको हो।

विस १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन सुरू गरिएको हो। यस पटक निस्किने रथयात्रा प्रयोग गरिने रथ पगोडा शैलीमा बनाएको राधाकृष्ण रथ यात्रा समारोह समितिका अध्यक्ष बावुराजा ओझाले जानकारी दिए। रथको लम्बाई २२ फिट, चौडाई १४ र उचाइ १८ फिट रहेको छ।

रथको अग्रभाव जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँ पट्टि फैलिएको डोरी रहेको छ। दायाँतर्फको डोरीमा पुरूष र बायाँँपट्टिको डोरीमा महिला भक्तजनले समाएर रथ सञ्चालन गर्ने गरिएको छ। ५२ औं राधाकृष्ण रथयात्रा आकर्षक र सफल बनाउन हेलिकोप्टरबाट पुष्पगुच्छा वर्षाउने योजना रहेको अध्यक्ष ओझाले बताए।

राधाकृष्ण मन्दिर परिसरबाट अपरान्ह निस्किने रथयात्रा मेनरोड हुँदै महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा आएर विर्सजन हुनेछ। रथमा भक्तजनहरूलाई पूजापाठ गराउन ४० स्थानमा विश्राम गर्नेछ। रथयात्रामा ५ लाख भक्तजन प्रत्यक्ष रुपमा सहभागी हुने दावी आयोजकको छ। 

रथयात्राको अगाडि विभिन्न जातजातिका करिब ६० भन्दा बढी झाँकीहरू र विभिन्न सामुदायहरूले आफ्नो जातीय नृत्य १७ स्थानमा देखाउनेछन्। रथयात्रा भव्यताका साथ सम्पन्न गर्न विभिन्न १८ वटा उपसमितिहरू गठन गरिएको आयोजकले जनाएको छ। रथयात्राको शुभराम्भ प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरले गर्ने आयोजकले जनाएको छ।

अच्युत प्रपन्नाचार्यलाई पुरस्कार 

हरेक वर्ष प्रदान गरिने १ लाख १ हजार पुरस्कार राशि भएको ‘पोखरमल धर्म संस्कृतिक पुरस्कार’ यो वर्ष विराटनगरस्थित लक्ष्मिनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्यलाई प्रदान गरिने भएको छ। स्व. पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापित पुरस्कार कृष्ण जन्माष्टमीको धार्मिक सभामा प्रदान गरिनेछ।
यस्तै संस्कृत अध्ययन गर्ने बटुवालाई पनि रथयात्रा समारोह समितिले पुरस्कार प्रदान गर्ने भएको छ।

विभिन्न धर्मसंस्कृतिसँग आवद्ध भएका महानुभावले स्थापना गरेको अक्षयकोषबाट बटुकलाई पुरस्कार प्रदान गर्ने अध्यक्ष ओझाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.