शिक्षक नियुक्तमा आर्थिक चलखेल!

|

भद्रपुर : हल्दीबारी गाउँपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई समायोजन अर्थात् मर्ज गर्न लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएका छन्।

जिल्लामै पहिलो पटक गाउँपालिकाले पाँच वटा आधारभूत विद्यालयलाई मर्ज गर्ने र दुईवटा माविलाई स्तर कटौती गर्दै आधारभूत तहमा झार्ने निर्णय गर्न लागेपछि नेपाली कांग्रेस गाउँ समन्वय समिति हल्दीवारीले सो निर्णयको विरोध जनाउँदै गाउँपालिकालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस गाउँ समन्वय समितिका संयोजक दिलीपकुमार मावोको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरूले मंगलबार दिउँसो गाउँपालिका घेराउ गर्दै गाउँपालिका अध्यक्ष रवीन्द्र लिङदेन र उपाध्यक्ष डम्बर गिरीलाई सो ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्रमा हल्दीवारी गाउँपालिकाभित्र १७ वटा सामुदायिक विद्यालयहरू रहेकोमा पञ्चायत मावि र सरस्वती मावि स्तर घटाई आधारभूत विद्यालय बनाउने तथा शान्ति प्रावि, रामेश्वर प्रावि, धनुषा आधारभूत, जनता प्रावि र राष्ट्रिय एकता प्राविलाई एकीकरण गरी मर्ज गराउन लागेको गाउँपालिकाप्रति गम्भिर ध्यानाकर्षण भएको छ। त्यसक्षेत्रमा वासोवास गर्ने अभिभावक, जग्गा दाता, चन्दा दाता, बुद्धिजीवीहरूको योगदानको कुनै वास्ता नगरी एकलौटी ढङ्गले गाउँपालिकाले हुकुमी शैलीमा निर्णय गरेकोले त्यस्तो निर्णयले अभिभावक, बुद्धिजीवी, सरोकारवाला निकाय र विद्यार्थीहरूलाई राहत नभई आघात पुग्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

सामुदायिक विद्यालयमा धेरै जसो अति विपन्न गरिब, अनाथ असहाय, आदिवासी तथा सीमान्तकृत समुदायका छोराछोरीहरूले अध्ययन गर्ने भएको हुँदा  हल्दीवारी गाउँपालिका तथा गाउँ शिक्षा समितिले विद्यालयको भौतिक तथा शैक्षिक सुधार तर्फ विशेष ध्यान दिनुपर्ने र उक्त निर्णय तुरुन्त सच्याउनु पर्ने कांग्रेसले ज्ञापनपत्रमा उल्लेख गरिएको छ। साथै गाउँपालिकाभित्र रहेका सडकहरू जीर्ण अवस्थामा रहेको तत्काल सडक सुधार गर्न समेत ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ।

यता, ज्ञापनपत्र बुझाएपश्चात् गाउँपालिका परिसरमै गरिएको कोणसभालाई सम्बोधन गर्दे नेपाली कांग्रेस जिल्ला कार्य समितिका सल्लाहकार तुलसी ओलीले विद्यालय खोली सकेपछि त्यसलाई मास्नु नहुने बरु विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको भए त्यसको कमीकमजोरी पत्ता लगाएर सुधार गर्नुपर्ने बताए। त्यस्तै, कांग्रेसका भूपाल बस्नेतले निजी विद्यालयलाई प्रोत्साहन दिन विद्यालय मर्ज गर्नु खोजिएको आरोप लगाउँदै कांग्रेसको मागलाई बेवास्ता गरे गाउँपालिकामा तालाबन्दी गर्नेसमेत पछि नहट्ने चेतावनी दिए।

यता गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष समेत रहेका डम्बर गिरीका अनुसार शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षासहित विद्यार्थी संख्या ज्यादै न्यून भएका विद्यालयलाई मर्ज गर्न लागेको हो। यस विषयमा शिक्षा समितिमा सबै पक्षसँग छलफल भए पनि मर्ज गर्ने विषयमा निर्णय नभएको उनले प्रस्टाए। अब हल्दीबारीका सबै राजनीतिक र सरोकारवाला पक्षसँग छलफल गरेर मात्र यस विषयमा टुङ्गाउने उनको भनाई छ। 

शिक्षक नियुक्तमा आर्थिक चलखेल!

हल्दीबारी २ स्थित हल्दीवारी माविले शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै नेपाली कांग्रेस गाउँ समन्वय समितिले विद्यालयमा ज्ञापनपत्र बुझाएका छन्। समितिका संयोजक दिलीपकुमार माविको नेतृत्वमा गएका कांग्रेसका नेता तथा कार्यकर्ताहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र योङहाङ र विद्यालयका प्रअ टङ्कबहादुर पाख्रिनलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा गत आर्थिक वर्ष ०७५/०७६ को असोजमा विभिन्न पदको शिक्षक नियुक्तिको विज्ञापनमा हल्दीवारी २ बस्ने चैतन्य गौतमलाई शिक्षक नियुक्ति गरिदिन्छु भन्दै सोही विद्यालयका सहायक प्रअ तुलसी प्रसाद कोइरालाले आर्थिक चलखेल गरेको सूचना प्राप्त भएको छ।

शिक्षक नियुक्तिको विषयका भएको आर्थिक चलखेलका बारेमा सत्य तथ्य बाहिर ल्याई दोषी भए तत्काल कारबाही गर्न सात दिनको अल्टिमेटम दिएको ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योङहाङले विद्यालयका शिक्षकले आर्थिक चलखेल गरेको सुन्नमा मात्र आएको छ, त्यसको ठोस प्रमाण नहुँदा विद्यालयले कारबाही गर्न सक्दैन। विद्यालय शिक्षक कोइरालासँय यस विषयमा स्पष्टीकरण माग सकेको बताउँदै उनले भने, ‘यस विषयमा थप छानबिन गर्ने छौँ।’

स्रोतका अनुसार शिक्षक नियुक्तिका लागि गौतमका दाइसँग शिक्षक कोइरालाले ५ हजार रुपैयाँ लिएका थिए। ५ हजार लिए पनि शिक्षकको परीक्षा हुँदा बुद्धि खतिवडा पास भएर नियुक्ति भएपछि झन्डै ११ महिनापछि आर्थिक चलखेलको कुरा बाहिरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.