|

बागलुङको दुर्गम क्षेत्र भनेर चिनिने निसीखोला गाउँपालिकाका सबै वडा अहिले सडक सञ्‍जालसँग जोडिएका छन्। मध्यपहाडी लोकमार्गले फन्को मारेको गाउँपालिकाको आर्थिक विकासको  मुख्‍य आधार सडक बन्न थालेको छ।

जनप्रतिनिधि आएपछि यस गाउँपालिकाका सर्वसाधारणले सुविधाभोग गर्नेगरी काम त भएका छैनन् तर आफ्ना दुखेसो र गुनासो बिसाउने चौतारी पाएका छन्।

कृषि र पशुपालनका लागि उपयुक्त कैयौँ ठाउँ रहेको गाउँपालिकाले कर्मकाण्डी मात्रै होइन त्योभन्दा बाहिर निस्केर काम गर्ने प्रयास थालेको छ। स्थानीय निर्वाचनको दुई वर्ष पुगिसकेको अवस्थामा जनप्रतिनिधि आएपछि निसीखोलाका जनताले महशुस गर्नेगरी के कस्ता काम भए त भन्ने विषयमा थाहाकर्मी तारानाथ आचार्यले निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलसँग गरेको छोटो कुराकानी:

दुई र्षको समयमा गाउँपालिकाको विकासका लागि के के गर्नुभयो?

शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्रमा पूर्वाधार विकासका काम भएका छन्, कृषि लगायतका क्षेत्रमा काम गरिएको छ। कृषि क्षेत्रलाई तल्लो तहका नागरिकसम्म व्यावसायिक बनाउने प्रयासमा हामी लागेका छौं। सोही अनुसारका काम भएका छन्। शिक्षा स्वास्थ्यमा पूर्वाधार निर्माणदेखि रिक्त दरबन्दीमा पदपूर्ति गराउन पहलको काम भएका छन्।

देखिने र जनताले महसुस गर्नेगरी केही काम भएनन् भन्ने छ नि?

होइन हामीले दुई वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै काम देखिने गरी गरेका छौं। आधाभूत तहको स्वास्थ्य सेवा नपाएका ठाउँमा पुगेर हामीले स्वास्थ्य शिविर चलाएका छौं। विद्यालय छन्, दरबन्दी छैनन्।

सरकारको लक्ष्‍य पनि सबै बालबालिका विद्यालय जाऊन भन्ने हो। त्यस्ता विद्यालयमा गाउँपालिकाको तहबाट शिक्षकको व्यवस्था गरेको भए पनि पठनपाठनमा सहजता प्रदान गरेका छौं। गाउँलेले खर्च उठाएर चलाएका विद्यालयमा रहेका समस्या समाधानका लागि देखिनेगरी काम गरेका छौं।

विद्यालय भवन, शौचालय निर्माण, खेलकुद मैदान, खानेपानी घेराबारको काम गरेका छौं। हाम्रो कार्यकालभित्र विद्यालयका सबै पूर्वाधारका काम सक्नेगरी लागिरहेका छौं।

आधारभूत तहको खानेपानी दिन्छौं भन्नुभएको थियो खै त?

हाम्रो गाउँपालिकामा खानेपानीको त्यति ठूलो समस्या छैन। आधारभूत तहको खानेपानी नै नभएका कारण समस्या भोगेको भन्ने मैले सुनेको छैन। खानेपानीलाई व्यवस्थित गर्नका लागि नेपाल सरकार, नेवा र पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना सँगको सहकार्यमा काम भइरहेका छन्।

पानी व्यवस्थित गर्नुपर्ने काम छ तर पानीनै नभएको भन्ने चाहिँ नहोला। केही पुराना योजनाको मुल सुक्यो भन्ने कुरा आएको छ। तिनलाई पनि व्यवस्थित गरेर आगामी एक बर्षभित्र सबैका घरमा आधारभूत तहको खानेपानी पुर्‍याउने लक्ष्‍य छ।

जनता सन्तुष्ट हुनेगरी काम गर्नुभएको छ त?

सन्तुष्ट, असन्तुष्ट भन्ने विषयमा हामीलाई जानकारी हुने कुरा भएन। किनभने हामीलाई अहिलेसम्म यो भएन, त्यो भएन भनेर आउनुभएको छैन। जे होस हामीले अहिलेसम्म हामीसँग भएको सानो पुँजीलाई जनताको आकांक्षाअनुसार सबैकुरा पूरा नभए पनि अलिकति अगाडि बढ्ने गरी काम भएकाले जनताबाट त्यस्तो नराम्रो सुनेको छैन।

निर्वाचनका बेला गरेका प्रतिबद्धता बिर्सिनु भो, गाउँ फर्केरै जानुहुन्न भन्ने जनताको गुनासो नि?

हाम्रो गाउँपालिका त्यस्तो भए जस्तो लाग्दैन। निर्वाचनका बेला हामीले भनेका कुरा शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि उन्नतिका कुराहरू हुन्। कृषिमा पनि पूर्वाधारले बाटोघाटो नपुगेका कारण समस्या थियो। अबको कार्यक्रमहरु कृषि लक्षित हुन्छन्।

छोटो समयमा निर्वाचनको कार्यक्रम सम्पन्न भएकाले मैले जुन (नेपाली कांग्रेस) पार्टीबाट उम्मेदवारी दिएको थिएँ, उही पार्टीको केन्द्रीय कमिटीले बनाएको प्रतिबद्धता नै हामीले हाम्रो प्रतिबद्धता तथा घोषणा पत्रको रूपमा प्रस्तुत गरेका हौं। हामीले हाम्रो परिवेश अनुसारका कार्यक्रम बनाएर काम गरेका छौं। मध्यपहाडी लोकमार्गले हामीलाई सहज बनाएको छ। सडकको प्रतिबद्धता पूरा गर्न मध्यपहाडीले सघायो हामीलाई सजिलो भयो।

निसीखोलामा बाह्रै महिना सवारी चल्ने वातावरण कहिले बन्छ?

केही टोलमा सडक पुग्न बाँकी छ। आगामी दिनमा पहिलो प्राथमिकता ती टोलमा सडक पुर्‍याउने हुन्छ। त्यसपछि हामीले तिनै सडकको स्तरोन्नति गरेर बाह्रै महिना सवारी चल्ने बनाउँछौं। मध्यपहाडी लोकमार्गको हामीलाई कुनै समस्या भएन।

हाम्रा अधिकांश बस्तीलाई यही राजमार्गले जोड्ने भएकाले केही सजिलो छ। गाउँघरका बाटोहरु त्यती धेरै छैनन्। टोल–टोलमा एक/एकवटा बाटो पुगेको हुनाले त्यसको स्तरोन्नति गर्न पनि आगामी दिनमा हामीलाई सहजै हुन्छ भन्ने छ।

गाउँपालिकाको आफ्नै कार्यालय भवन कहिलेसम्म बननउनुहुन्छ?

यो कुरा के हो भने सबैको सहजताका लागि सर्वदलीय बैठकबाट पालिकाको केन्द्र यहिँ भो। यहाँ पालिकाको केन्द्र बनाउँदा जे उपलव्ध थियो त्यसैमा काम चलाइयो। जग्गा खोज्ने क्रममा हामीले साढे दश रोपनी जग्गा नि:शुल्क पाएका छौं।

त्यहाँ भवन बनाउने काम सुरु भएको छ। पहिले पनि हामी दुर्गममा दुःख पाएर बसेका हौं। अहिले पनि कार्यालयलाई भवनको दुःख छ भनेर सेवा दिने क्रममा जनतालाई केही गुनासो गर्ने ठाउँ राखेका छैनौं। हिलो, धुलो खाएरै भए पनि हामीले जनतालाई सेवा दिएका छौं।

तपाईंहरू धेरैजसो उद्घाटन र तालिममा मात्र व्यस्त हुँदा कार्यालयमा भेटिनुहुन्न भन्ने गुनासो छ नि?

त्यो समस्या छ। हामी उद्घाटनमा लागेर हिँडेको अवस्था त छैन। तर यो प्रदेश, जिल्लाको कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत आउनु भन्ने गरेका कारण केही दिन तलमाथि भएको अवस्थाहरु त हुन् तर यसैका कारण जनताका काम भएका छैनन् भन्ने होइन।

नयाँ संरचना भएकाले प्रदेशले कार्यक्रम बनाउँदा गाउँमै आएर छलफल गर्ने अवस्था रहेन। उसले जिल्लामा बोलाउँछ। राम्रा कार्यक्रमको छलफलमा जाँदा तीनैजना हिँड्नुपर्ने भएकाले दुईचार दिनको तलमाथि भएको कुरालाई हामीले स्वीकार्नैपर्छ।

अधिकार दिने तर कर्मचारीसम्म पनि नदिने काम भएको छ। अहिले पनि दुई/दुई वर्षसम्म हामीले पालिकाको कार्यालयमा काम गर्ने कर्मचारीसमेत पाएका छैनौं। पूर्णरूपमा कर्मचारी हुँदाखेरीको सेवा सुविधा र सबै कर्मचारी नहुँदाको सेवा सुविधा त फरक पर्न जान्छ।

एक/दुईजनाले मात्रै काम गरेर पूरै गाउँपालिका चलाउनुपर्ने अवस्था छ। अनि स्वास्थ्य, शिक्षा, पशु, कृषि लगायतको जिम्मेवारी दिएको छ। विषयगत सबै शाखामा कर्मचारी नदिएर दुईवटा प्रशासनिक कर्मचारी अधिकृत, सुब्बा र दुईजना प्राविधिकले चलाउँदा कमीकमजोरी त भएकै छन्।

धेरै विद्यालयहरू बसाइँसराको मारमा छन् ठूलाठूला भवन बनेका विद्यालयमा विद्यार्थी नै छैनन्, यो समस्या सुधारका लागि केही गर्नुभएको छ?

हाम्रोमा विद्यार्थी नै नभएर विद्यालय बन्द हुने अवस्था छैन। एक दुईवटा टोलमा बस्ती थोरै भएका ठाउँमा विद्यार्थी थोरै भएको अवस्था हो तर भयावह अवस्था छैन।

गाउँपालिकाको विद्युतका लागि तपाईंको के योजना छ?

हामीले तत्कालै यहाँ रहेका साना जलविद्युत् आयोजनालाई विस्थापन गरेर केन्द्रीय प्रसारण लाइन जोड्ने पक्षमा छैनौं। यहाँका जनताको दुःख मिहिनेत परेका साना जलविद्युत् आयोजनालाई विस्तार गरेर ग्रिडसम्म लैजाने योजनामा हामी छौं।

होला, केही घरमा भौगोलिक विकटताका कारण बिजुली पुगेको छैन, त्यस्तै ५०/६० घर छन्, त्यहाँ सौर्य ऊर्जाको प्रयोग गरेरै भए पनि हामी उज्यालो गाउँपालिका बनाउँछौं।

आगामी दिनमा समृद्ध गाउँपालिकाका लागि के कस्ता कार्ययोजना बनाउनुभएको छ?

अबका कार्यक्रम गरिब लक्षित हुन्छन्। बाँकी रहेका पूर्वाधारको काम सकेर हामी आर्थिक उन्नतिको बाटोमा लाग्छौं। कृषि र पर्यटनमा नै हामीले ध्यान दिन्छौं। कृषि उपज यहाँ उत्पादन गरेर बेच्ने वातावरण मिलाउँछौं। मासु निर्यात गर्ने योजनामा छौं।

रोजगारीमूलक कार्यक्रम सिर्जना गर्नेमा हामी लाग्छौं, सल्लाह नै त्यही हिसाबले भएको छ। होमस्टे, पर्यटन र अर्गानिक उत्पादन हाम्रो प्राथमिकता हुनेछ। केही ठाउँमा अझै पनि युरिया मलको प्रयोग भए पनि हाम्रोमा प्रांगारिक मलको प्रयोग राम्रो भएकाले अर्गानिक उत्पादन हाम्रो पहिचान हुनेछ। पशुपालन, आलु उत्पादन, तरकारी उत्पादन हामीले रोजगारी सिर्जना गर्ने आधार हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.