चार वर्षदेखि अस्थायी केन्द्रमै पढ्न बाध्य

|

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिका–३ कालिमाटीस्थित विनायक निम्न माध्यमिक विद्यालय प्रांगणमा अझै पनि अस्थायी सिकाइ केन्द्र रहेको छ। ०७२ सालको विनाशकारी भूकम्पले विद्यालय ध्वस्त भएपछि तत्कालीन रूपमा पठनपाठन सुचारु गर्न बनाइएको सिकाइ केन्द्र अहिले पनि प्रयोग भइरहेको छ।

भूकम्प गएको ४ वर्ष ४ महिना बित्दासमेत विद्यालय पुनर्निर्माण नहुँदा अस्थायी सिकाइ केन्द्रमै कष्टसाथ पढ्न बाध्य छन् यहाँका विद्यार्थी। विद्यालयको दुईवटा कक्षा अझै पनि अस्थायी सिकाइ केन्द्रमा पठनपाठन भइरहेका छन्।

कक्षाकोठा पूरै आहाल हुन्छ कसरी पढ्ने?

पविना चौलागाईं विनायक निम्न माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनी घरबाट सधैँ खुसी हुँदै विद्यालयमा नियमित पढ्नका लागि आउँछिन्। तर, विद्यालयको प्रांगणनजिकै आएपछि उनको मनमा चिसो पस्छ। उनले भनिन्, ‘वर्षातमा पानी पर्दा कक्षाकोठा नै आहाल हुन्छ। जाडो मौसममा धेरै चिसो हुन्छ।’

बाँसको खाँबो र बाँसमै जस्ता टाँगेर बनाइएको टहरोमा हावाहरीले किताब उडाउने, धुलोले कक्षाभरी ढपक्क छोप्ने र पानी पर्दा कक्षाभित्रै पानी चुहिने हुँदा कक्षामा बस्नै मुस्किल हुने गरेको उनले गुनासो गरिन्।

समयमा पुनर्निर्माण सम्पन्न नहुँदा विनायक निम्न माध्यमिक विद्यालय अझै टहरोमा सञ्चालन भइरहेको छ। भूकम्पले क्षति पुर्‍याएको विद्यालय भवनको पुनर्निर्माण समयमा नहुँदा टहरोमा बसेर पढ्नु पर्दा निकै समस्या हुने गरेको सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता चौलागाईंले बताइन्। ‘सफा विद्यालय ड्रेस लगाएर बिहान टहरामा आए पनि हावाहुरीले ल्याउने धुलोले साँझ घर फर्कंदा चिन्नै नसक्ने अवस्थामा फर्कनुपर्ने बाध्यता छ’ चौलागाईले भनिन्।

भूकम्पले विद्यालय भत्केपछि नियमित पठनपाठनमा निकै समस्या भएको विद्यालयका प्रधानाध्यापक अमन्तीनाथ चौलागाईंले बताए। पानी परे, अत्यधिक चिसो भए वा हावाहुरी चले विद्यालयको पठनपाठन नै बन्द हुने गरेको उनले बताए।

तत्कालीन जिल्ला शिक्षा कार्यालय सिन्धुलीको सहयोगमा भूकम्पपछि दुईकोठे एउटा भवन निर्माण भएको छ। ‘०७३/७४ मा १९ लाख ७४ हजारमा निर्माण एउटा भवन निर्माण भएको हो। दुईवटा कोठाको मात्रै छ। यो भवन बने पनि अझै कोठाको अभाव छ। कक्षा कोठाको अभाव भएपछि यो दुई कोठा पनि अस्थायी बार लगाएर चारवटा कोठा बनाएर पढाएका छौं’ उनले भने।

कक्षा कोठा अभावमा कम्प्युटर ल्याबलाई बन्द गरेर त्यहाँ बाल विकासको कक्षा सञ्‍चालन गरिएको उनको भनाइ छ। उनका अनुसार भूकम्प गएको चार वर्षपछि अहिले अर्को भवन निर्माणका लागि बजेट आएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीको ७९ लाख ६२ हजारमा अर्को भवन निर्माणको काम भर्खर सुरु भएको उनले बताए।

शौचालयमा पालो

०७६/७७ मा निर्माण सक्नेगरी गत जेठमा सम्झौता भएको उनको भनाइ छ। यो भवन बनेपछि मात्रै अस्थायी सिकाइ केन्द्रमा पढिरहेका विद्यार्थीहरूलाई कक्षा कोठा पुग्ने उनले जनाए। उक्त विद्यालयमा खानेपानीको पनि चरम अभाव छ। खानेपानी खान र शौच गर्नुपर्‍यो भने भएको एउटा शौचालयमा पालो पर्खनुपर्ने बाध्यता भएको उनको भनाइ छ।

बाल कक्षादेखि ३ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ, किताब, कापी विद्यालय दिने। विद्यालयमा पर्याप्त कक्षाकोठा नभए पनि विद्यालयले एक कक्षादेखि ३ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने गरेको छ।

गाउँमा भएका बालबालिकाहरू सबै निजी स्कुलतर्फ जान थालेपछि विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रअ चौलागाईले बताए।

प्रभावकारी बन्‍यो अंग्रेजी माध्याम

अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएपछि एक कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क अंग्रेजी माध्यमको किताब, कापी र पेन्सिल विद्यालयले वितरण गर्ने गरेको समेत उनले जानकारी दिए।

‘नेपाली विषयबाहेक अरू सबै अंग्रेजी माध्यमबाट पठाई सुरु गरेका छौं। यो निकै प्रभावकारी भएको छ। विद्यार्थीको संख्या पनि बढ्दै गएको छ। एक कक्षामा १५, दुई कक्षामा १६, तिन कक्षामा १३ र बालविकासको समेत किताब, कापी, र पेन्सिल विद्यालयले व्यहोर्ने गरेको छ’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.