दुई वर्षदेखि जंकफुड निषेध

|

सल्यान : प्राय सम्पूर्ण विद्यालयहरूमा विद्यार्थीहरूको नियमित उपस्थिति हाजिरी शिक्षकले लगाउने गर्दछन्। चाहे त्यो सामुदायिक विद्यालयमा होस चाहे निजी विद्यालयमा नै होस। तर, जिल्लाको दार्मा गाउँपालिका-१ स्थित जनकल्याण आधारभूत प्राथमिक विद्यालयमा भने शिक्षकको हाजिरी विद्यार्थीले लगाउने गर्दछन्।

कुन शिक्षक कति बजे कक्षामा प्रवेश गरे, कति मिनेट पढाए, कक्षा घण्टी सकिएको कति मिनेटपछि कक्षा छोडे लगायतका विषयमा विद्यार्थीले शिक्षकको हाजिरी लगाउने गर्दछन्।

शिक्षकको अधीनमा विद्यार्थीहरू रहनुपर्ने बाध्यतात्मक अवस्थालाई अन्त्य गरी शैक्षिक वातावरण सृजना गर्न यस प्रकारको कार्य गरिएको विद्यालयका प्रधानाध्यापक कुमार देवकोटाले बताए। उनले भने, 'विद्यालयको वातावरण शैक्षिकमैत्री बनाउने हो भने विद्यार्थीलाई शिक्षकले र शिक्षकलाई विद्यार्थीले चेक एण्ड व्यालेन्स गर्न जरुरी छ।'

शैक्षिक गुणस्तर बढ्ने आस

यस प्रकारको विद्यालयमा कार्यक्रम गर्न थालेपछि विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि आएको उनको दाबी छ। शैक्षिक गुणस्तर बढेकै कारण चालु शैक्षिक वर्षमा मात्रै निजी विद्यालय छोडेर २५ जना विद्यार्थी विद्यालयमा भर्ना भएको देवकोटाले बताए। विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनुमा अभिभावक, विद्यालय व्यवस्थापन समितिको पनि अहम भूमिका रहेको उनले बताए। अहिले विद्यालयमा १ सय ८३ विद्यार्थी रहेको उनको भनाइ छ।

विद्यालयले अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको पनि हाजिरी गराउने गरेको छ। जसले अभिभावकहरू विद्यालय, आफ्ना छोराछोरीहरूप्रति कति उत्तरदायी छन् भन्ने कुराको पुष्टि हुने बताए। वर्षभरि विद्यालयको नियमित अनुगमन गर्ने अभिभावकलाई वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गर्ने दिन पुरस्कृत गर्ने गरेको समेत देवकोटाले बताए।

सुरु सुरुमा छोराछोरी विद्यालय नगएको दिन विद्यालयबाट पहेँलो कार्ड आउँदा साह्रै रिस उठे पनि अहिले आफ्नै छोराछोरीका लागि रहेछ भनेर बुझेको अभिभावक हर्ककुमार वलीले बताए। उनले हाम्रो काम भनेको  छोराछोरीलाई विद्यालयमा पठाइदिने हो पढाउने काम शिक्षकको हो भनेर बुझेको थियौँ तर अभिभावकको के भूमिका हुन्छ भनेर महत्वबोध गराउने काम यस विद्यालयले गराएको बताए।

अभिभावकको मासिक बैठक

विद्यालयको शिक्षक नियमित आए नआएको, छोराछोरी आए नआएको बारेमा अभिभावकहरूको मासिक बैठक बस्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर वलीले बताए। विद्यालय कस्तो बनाउने भनेको अभिभावकको हातमा पनि हुन्छ। यसर्थ अभिभावकहरूले विद्यालयमा नियमति अनुगमन मात्रै गरिदिए पनि विद्यालयको मुहार परिवर्तन हुँदोरहेछ उनले बताए।

बैठकमा छोराछोरीको पढाइको अवस्था, शिक्षकको शिक्षण विधि लगायतका विषयमा छलफल हुने अभिभावक नेत्रलाल खत्रीले बताए।

विद्यालयको आफ्नै करेसाबारी

विद्यार्थीहरूलाई कृषिप्रति आकर्षित गर्न र पोसिलो खाजा खुवाउनका लागि विद्यालयले आफ्नै जमिनमा करेसाबारी लगाएको छ। कृषिप्रति युवाहरूको वितृष्णा जागिरहेको समयमा साना बालबालिकाहरूलाई कृषि नै मुख्य पेसा हो भन्ने बोध गराउन करेसाबारी बनाएको प्रअ कुमार देवकोटाले बताए।

दुई वर्षदेखि जंक फुड निषेध

करेसाबारीमा उत्पादन भएको वस्तु दिउँसो खाजाका रूपमा सबै विद्यार्थीहरूलाई खुवाउने गरेको उनको भनाइ छ। विद्यालयमा विगत दुई वर्षदेखि जंक फुड निषेध गरिएको बताउँदै देवकोटाले पोषणयुक्त खाजा विद्यालयले नै दिने गरेको बताए।

६ दिन ६ फरक पोषणयुक्त खाजा खुवाउने गरेको उनको भनाइ छ। विद्यालयले पोषणयुक्त खाजा खुवाउन थालेदेखि विद्यार्थीमा कुपोषणको मात्रामा पनि घटेको उनले बताए।

उनले भने, 'अभिभावकहरूले पनि सामुदायिक विद्यालयमा पढ्ने छोराछोरीलाई खाजामा खासै वास्ता नगर्ने, जंकफुड बढी खाने गरिरहेका थिए जसका कारण झन्डै ८० प्रतिशत बालबालिका कुपोषणको शिकार दिए तर आजभोलि १० प्रतिशत मात्र बालबालिका कुपोषित रहेका छन्।' ६/६ महिनाको अन्तरालमा विद्यार्थीहरूको स्वास्थ्य जाँच गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वलीले बताए।

सुन्नुस् सुनाउनुस् कार्यक्रम

विद्यालयले दैनिक   साढे तीन बजेदेखि ४ बजेृसम्म सुन्नुस् सुनाउनुस् कार्यक्रम गर्दै आइरहेको छ। विद्यालयमा आएदेखि कक्षा कोठामा पढेका विषय विद्यार्थीले  पालैपालो सुनाउने गर्दछन्। सबै विद्यार्थीहरूले पालैपालो दैनिक शिक्षकले पढाएको कुरा, शिक्षक नआएको कुरा बताउने गर्दछन्। साथै शिक्षकले पनि दिनभरका कार्य विद्यार्थीलाई सुनाउने गर्दछन्। यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूमा बोल्ने बानीको विकास भएको प्रअ देवकोटाले बताए।

शिक्षक, अभिभावक र विद्यार्थी एक भए सामुदायिक विद्यालय पनि अब्बल हुन सक्छन् भन्ने उदाहरण आफनो विद्यालय बनेको उनको भनाइ छ। प्राय अभिभावकहरू निजी विद्यालयप्रति आकर्षित भइरहेको समयमा जनकल्याण प्राथमिक विद्यालय नमुना विद्यालय बनेको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.