|

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप बढ्दै गएको छ। सुरुमा परशुराम नगरपालिका–८ कोसानखोला र धादलीफाँटामा देखिएको झाडापखाला अहिले गुप्टीगाडा भन्ने गाउँमा पनि फैलिएको हो।

ती तीन गाउँमा अहिलेसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला देखिएको सो क्षेत्रमा ८ दिनदेखि कार्यरत सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवले जानकारी दिए।

एक जना गर्भवती, ७ बालबालिका र अन्य ७३ जनालाई झाडापखाला पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए। ८ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली फिल्डमै काम गरिरहेको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले बताए।

‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौँ’ उनले उप–संयोजक धामीले भने, ‘अहिलेसम्म ८१ जनामा झाडापाखला देखिएको छ। जसमध्ये ५ जना जोगबुडा अस्पतालमा रेफर गरिएको जानकारी आएको छ भने एक जनाको अवस्था गम्भीर छ।’

साउन २९ गतेबाट सुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए।

७३ जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जनाएको छ। ५ बिरामीलाई सो टोलीले जोगबुडा अस्पतालमा रेफर गरेको जनाएको छ। जसमध्ये ४ जना डिस्चार्ज भइसकेको र १ जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।

डडेल्धुरा अस्पतालले बिरामीको दिशाको नमुना परीक्षण गर्दा गम्भीर खालको झाडापखालाकै जिवाणु भेटिएको अस्पतालकले जनाएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चपागाईंले आफू बिदामा रहेको बताउँदै अहिलेसम्म जिल्लाको स्वास्थ्यकर्मीको टोली तथा प्रदेशको स्वास्थ्यकर्मीको टोली पनि उक्त क्षेत्रमा पुगेको जानकारी दिए।

पानीको नमुना परीक्षणमा दिसामा मात्र पाइने ब्याक्टेरिया इकोलाई भेटिएकाले यसैबाट फैलिएको र बिरामी आउने क्रम जारी रहेको सादनी स्वास्थ्य चौकी प्रमुख यादवले बताए।

‘हैजा हो भन्ने पृष्टि भएको छ, यो नियन्त्रण बाहिर नै छ। बिरामी बढिरहेका छन्। हामी स्वास्थ्यकर्मी पाँच जना मात्र छौँ’ प्रमुख यादवले भने, ‘हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घन्टामै हुनसक्छ। भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ। पानी उमालेर मात्र खान सबैमा अनुरोध गर्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.