|

तनहुँ : सडक डिभिजन कार्यालय दमौलीका प्रमुखसहित तीन कर्मचारीलाई शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्थानीयवासीले कार्यकक्षमै थुनिदिएका छन्। कार्यालय प्रमुख विष्णुप्रसाद काफ्ले, दीपेन्द्र पन्थ, इन्जिनियरद्वय ठाकुर भण्डारी र सचिव श्रेष्ठलाई उनकै कार्यकक्षमा स्थानीयवासीले एक घन्टा थुनिदिएका हुन्। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित कोत्रे सडकखण्डमा खाल्डाखुल्डीका कारण दैनिक जसो सडक दुर्घटना हुने गरेपछि उनीहरूले थुनेर दबाब दिएका हुन्।

समयमै काम गर्न उचित भूमिका नखेलेको भन्दै उनीहरूले प्रमुखसहित तीन कर्मचारीलाई थुनिदिएका हुन्। ताला खुलाउन आधा घन्टामै प्रहरी पुगेपनि उनीहरूले उक्त ताला भने खोल्न दिएका थिएनन्। प्रहरीले पटक–पटक खोल्न आग्रह गरे पनि खोल्न नदिएपछि केहीबेर स्थानीयवासी र प्रहरीबीच भनाभनसमेत भएको थियो। एक घण्टापछि स्थानीयले नै ताला खोलेको बताइएको छ। स्थानीयको चर्को विरोधपछि सडक डिभिजन कार्यालय पुगेका तनहुँ क्षेत्र नम्बर– २ का सांसद केदार सिग्देलले छिटोभन्दा छिटो गाछेपानी कोत्रे सडकको कालोपत्रे गर्नुपर्ने भन्दै प्रमुखलाई सचेत गराएका थिए।

कार्यालय प्रमुख काफ्लेले यही भदौ १५ देखि भत्किएको सडकको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। ‘दशैंसम्ममा उक्त क्षेत्रको समस्या समाधान गर्छौं, धुलो धुँवामुक्त बनाउने प्रयासमा लाग्नेछौं, उनले भने।

स्थानीयवासीसँग उक्त क्षेत्रको सडक निर्माणका लागि लिखित प्रतिबद्धतासहित भदौ १५ गतेदेखि काम सुरु गर्ने कार्यालयका सूचना अधिकारी ई. सचिन श्रेष्ठले बताए। तोकिएको समयमा निर्माणको काम गर्न निर्माण कम्पनीसँग सम्झौता गरी अगाडि नबढेमा कालो सूचीमा राखेर कार्वाही गरी नयाँ प्रक्रियामा जाने समेत श्रेष्ठले बताए। सकड डिभिजन कार्यालयले उक्त क्षेत्रको सडक मर्मत्को काम अगाडि नबढाएको भन्दै शुक्लागण्डकी–२ करिव एक सय ५० भन्दा बढी स्थानीयले कार्यालयमा दवाव दिन घेराउ गरेका हुन्।

गाछेपानी कोत्रे सडक खण्डको सडक खाल्डाखुल्डी हुनुका साथै पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदासमेत सडक डिभिजनले त्यसको समाधानका लागि कुनै पहल नगरेको भन्दै उनीहरूले दबाब दिएको स्थानीय शंकर पन्थले बताए। ‘पानी पर्‍यो हिलो र घाम लाग्यो धुलोले घरबाट बाहिर निस्की सक्नु हुँदैन, तर पनि सम्बन्धी निकायको ध्यान गएको छैन, दबाब दिनकै लागि यहाँका स्थानीयवासी एकजुट भएर आएका हौँ, हामीलाई सहज बनाउँदा राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सहज हुनेछ, दुर्घटना पनि कम हुनेछ,’ उनले भने।

एक त पृथ्वी राजमार्गको व्यस्त सडक भएपनि उक्त सडकको मर्मत् संभारका लागि सम्बन्धित निकायको चासो पुगेको छैन। उक्त सडक हुँदै करिब ५ हजार बढी सवारी साधन गुड्ने भएपनि कोत्रे क्षेत्रमा सडकको दुरावस्थाले दुर्घटना धेरै बढेको छ। दुर्घटना न्यूनीकरणका लागि पनि सडक डिभिजनले छिटो निर्माणका काम थालेर सर्वसाधारणलाई सहज बनाउनुपर्ने उनीहरूको माग छ। उक्त क्षेत्रका स्थानीयवासीलाई घरबाट बाहिर निस्कन मुस्किल भएको छ भने अर्कोतिर सडकमा भएको खाल्डाखुल्डीले दैनिक दुर्घटना हुने गरेको स्थानीय अर्जुन लम्सालले बताए।

‘तीन तहको सरकार भएपनि गण्डकी प्रदेशको राजधानी पुग्ने सडकको दुरावस्थाको निराकरणमा कसैको चासो पुगेको छैन,’ उनले भने ‘पटक–पटक कालोपत्रे र सडक मर्मत सम्भार गर्न माग गर्दै सडक डिभिजनमा समेत गयौँ, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुखहरूलाई समेत यस बारे ध्यानाकर्षण गरायौँ, तर कुन सुनुवाई भएको छैन।’

त्यस्तै, उक्त सडक खण्डमा खाल्डाखुल्डीले गर्दा एक साताको अवधिमा तीन जनाले ज्यान गुमाइसकेका छन्। ‘बुधबार मात्रै एउटा स्कुटर दुर्घटना भयो, दुर्घटनामा परी खुट्टा भाँचियो, हामी चुप लागेर हुँदैन भनेर यहाँ आएका हौँ, दिनहुँजसो दुर्घटना हुने र स्थानीयलाई धुवाँ धुलोले सास्ती खेप्नुपरेको छ, त्यसैले दबाब दिन परेको हो,’ उनले भने।

उक्त क्षेत्रका स्थानीयवासीले करिव तीनघण्टा कार्यालयमा घेराउ गरेका थिए । त्यो सडकमा पानी पर्दा सवारी नै चलाउन सकस हुन्छ। त्यस्तो हुँदासमेत सम्बन्धित निकाय चुपचाप के हेरेर बसेको उनले प्रश्न गरे। दुलेगौँडा, हलेदी र गाछेपानीका स्थानीयले दिनहुँ धुलो र धुवाँमा दिन बिताइरहेका छन्। धुवाँधुलोले गर्दा त्यहाँका स्थानीयवासी बिरामीसमेत हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.