भोलि राष्ट्रपतिदेखि प्रचण्डसम्मलाई भेट्ने

|

काठमाडौं : भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले जम्मु-कश्मीरमा भारतले चालेको कदमबारे नेपालको प्रष्ट धारणा माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको शिष्टाचार भेटमा जयशंकरले भारतले कश्मीरको विशेषाधिकार खोसेको विषयमा नेपालको धारणा मागेका हुन्। 

बुधबार दिउँसो काठमाडौं उत्रिएका जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कश्मीर मामिलामा नेपालको आधिकारिक धारणा माग गरेको स्रोतले जानकारी दिएको छ। नेपालले स्पष्ट धारणा नराखेको भन्दै जयशंकरले स्पष्ट भइदिन अनुरोध गरेको स्रोतको भनाइ छ। 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग बुधबार नै भेट गरी ढाकाबाट सीधै काठमाडौं उत्रिएका जयशंकरले नेपालले पनि भारतलाई समर्थन गरिदेओस् भन्ने चाहेका छन्। 

भारतले धारा ३७० हटाउँदै कश्मीरबाट विशेषाधिकार खोसेको छ। कश्मीरमा अहिले कर्फ्यूको अवस्था छ। त्यहाँ इन्टरनेट, टेलिफोन सेवा रोकिएका छन्। स्कुल राम्ररी चल्न सकेका छैनन्। 

भारत सरकारले कश्मीर आफ्नो आन्तरिक मामिला भएको बताउँदै आएको छ। तर अमेरिका र राष्ट्र संघले कश्मीर मामिलामा चासो राख्दै बोलिरहेका छन्। 

कश्मीरमा भारतको कदमलाई लिएर पाकिस्तानले विश्वव्यापी अभियान चलाइरहेको छ। चीनले पनि यसमा गम्भीर चासो व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघले पनि कश्मीरमा गम्भीर मानवअधिकार उलंघन भएको भन्दै चिन्ता व्यक्त गरेको छ। कश्मीरको अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा गम्भीर छलफल भइसकेको छ।

यसैबीच भारतले कुटनीतिक पहल आफ्नो पक्षमा पार्न व्यापक पहल थालेको छ। विदेशमन्त्री यसअघि चीन, बंगलादेश लगायतका मुलुकमा गएर आफ्नो धारणा राख्दै सहयोग मागेका छन्। भारत सरकारले नेपालले कश्मीर मुद्दा भारतको आन्तरिक मामिला हो भनिदेओस् भन्ने चाहेको बताइएको छ। 

जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका हुन्। यसै मौकामा उनले काश्मीर मुद्दामा नेपालको धारणा बुझ्दै छिमेकीको मत आफ्नो पक्षमा पार्नु रहेको स्रोतको दाबी छ। 

यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काश्मीरमा भइरहेको राजनीतिक विकासक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताएका थिए। उनले यस विषयमा नेपाल नबोल्ने बताएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीको उक्त धारणालगत्तै भारतले स्पष्ट धारणा खोजेको हो।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले कश्मीर भारतको आन्तरिक मामिला भनेको बताइएको छ। उनले बंगलादेशले दक्षिण एशिया क्षेत्रमा शान्ति र विकास चाहेको बताएकी थिइन्।

काठमाडौं बसाइका क्रममा जयशंकरले राष्ट्रपतिसहित राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ। जयशंकरले बिहीबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ।

त्यसअघि बिहान ८ बजे सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ। विदेशमन्त्री जयशंकरले अहिले राती साढे ९ बजे राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलका नेताहरूसँग छलफल गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.