|

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय २५ औं वर्षमा प्रवेश गरिसक्दा पनि त्यहाँ हुने तालाबन्दी तथा विवादले अझै छोडेको छैन।

कहिले विद्यार्थीको तालाबन्दी, कहिले उपकुलपतिमा हुने भागबण्डा र विवाद, कहिले सेवा आयोगको अध्यक्षको नियुक्ति प्रक्रियामा विवादैविवादले पूर्वाञ्चल विश्वविद्यालयको साख गिरिरहेको छ ।

विराटनगरमा बुधबार पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विश्वविद्यालयभन्दा बाहिरबाट उपकुलपति नियुक्त नगर्न माग गरेको हो। यस्तै गत भदौ २ गते सेवा आयोगको परीक्षाको अन्तरवार्ता काठमाडौंको होटलमा लिइएको विषयमा पनि दुवै संगठनले आपत्ति जनाएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लाल दाशको भदौ ६ गते पदावधी समाप्त हुँदैछ। उपकुलपतिको पदावधि समाप्त हुनै लाग्दा प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयभन्दा बाहिरबाट पदाधिकारी नियुक्त गर्ने परिपार्टी अन्त्य गर्न माग गरेको हो।

२०६२/६३ पछि विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा छानिने गरेको र विश्वविद्यालय भन्दा बाहिरबाट नेतृत्व ल्याउँदा प्राज्ञिक उन्नयन, शैक्षिक र भौतिक विकासमा उनीहरूको ध्यान नजाने गरेको विगतमा अनुभूति गरेको प्राध्यापक संघका केन्द्रीय समिति सभापति सन्देशदाश श्रेष्ठले बताए।

विश्वविद्यालय भित्रैबाट नियुक्त हुने नेतृत्व अन्यको तुलनामा जवाफदेही र जिम्मेवार हुनेगरेको भन्दै राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको संयोजकत्वमा गठित छानविन समितिको सुझाव अनुसार नै पदाधिकारी नियुक्त गर्नुपर्नेमा संघले जोड दिएको हो। पूवि कर्मचारी संघका सभापति राजकुमार सापकोटाले अहिले देखिएको पूर्वाञ्चल विश्वविद्यालयको विवाद, भ्रष्टाचार र अनियमितता हुनुमा बाहिरबाट उपकुलपति नियुक्त गर्नुनै भएको दाबी गरे।

यसैबीच, भदौ २ गते सोमबारका दिन पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले विद्यमान नियम र कानून विपरित होटलमा बसेर प्राध्यापक र सहप्राध्यापकको परीक्षा लिएको र नियुक्तिको सिफारिस गरेको विषयप्रति संघहरुले आपत्ती जनाएका छन्। विश्वविद्यालय जस्ता प्राज्ञिक थलोमा विधि र प्रकृयाविपरीत हुने क्रियाकलापले भविष्यसम्म अराजकता बढाउन सक्ने भन्दै कार्यालय र कर्मचारीहरूलाई समेत छलेर होटलमा अन्तरवार्ता लिने कार्य र त्यसमा निहित उद्देश्यको बारेमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने सभापति श्रेष्ठले बताए।

कार्याविधि पूरा हुनै लागेका सेवा आयोगका अध्यक्ष र सदस्य दुवैलाई पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयबाट बिदाई भइसकेपछि काठमाडौं पुगेर पदावधी समाप्त हुनुभन्दा चार दिनअघि सुटुक्क परीक्षा लिएका थिए। पूर्वाञ्चल विश्वविद्यालयको नियमावलीअनुसार परीक्षा सञ्चालन गर्नुभन्दा १५ दिनअघि परीक्षासम्बन्धी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि कुनै प्रकृया पुरा नगरी श्रेष्ठले काठमाडौंको  लाजिम्पाटस्थित होटल एम्बेस्टरमा परीक्षार्थीको अन्तरवार्ता लिएका थिए।

विश्वविद्यालयले २०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न ६३ पदकालागि विज्ञापन आह्वान गरेको थियो। विषय नै नभएको र विद्यार्थी नभएको विषयमा पनि विज्ञापन आह्वान गरेपछि प्राध्यापक संगठन र विद्यार्थी संगठनहरूले त्यसको विरोध गर्दै आएका थिए। विरोधमा उनीहरुले सेवा आयोगको कार्यालयमा तालाबन्दी अहिलेसम्म जारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.