|

सुडानमा नयाँ गठित शासन परिषद्का सदस्यहरूले बुधबार शपथग्रहण गरेका छन्।

यसअघिको सैन्य परिषद्लाई रूपान्तरण गर्न नागरिक अगुवाको समेत सहभागीतामा बनाइएको शासन परिषद्का सदस्यहरूले शपथग्रहण गरेका हुन्।

देशको शासन व्यवस्था चलाउने गरी बनाइएको स्वायत्त शासन परिषद्का सदस्यहरूलाई सैन्य परिषद्कै नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले नै नियुक्त गरेका हुन्।

नयाँ शासन परिषद्का सदस्यहरूले शपथग्रहण गरेसँगै यसअघिको सङ्क्रमणकालीन सैन्य परिषद् विस्थापित भएको छ।

गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बसिरलाई अपदस्थ गरेर सेनाले शासन हातमा लिएर सैन्य परिषद् गठन गरेको घोषणा गरेको थियो।

राष्ट्रपति बसिरविरुद्ध नागरिकले गरेको आन्दोलनलाई बहाना बनाएर सेनाले शासन हातमा लिएपछि फेरी आन्दोलन भएको थियो।

नागरिक सरकार गठनको माग गर्दै आएको आन्दोलनबाट झुकेर सैन्य परिषद् नेतृत्वले सेना र आन्दोलनकारी अगुवाको सहभागितामा नयाँ शासन परिषद् बनाएको हो।

नागरिक अगुवासहितको शासन परिषद् गठन भएपछि अहिले देशभरी खुशीयाली छाएको समाचारमा जनाइएको छ।

नागरिक सैनिक स्वायत्त शासन परिषद्का ११ सदस्यको नामावली मङ्गलबार अबेर घोषणा गरिएको थियो। परिषद्मा आन्दोलनकारीमध्येका छुट्टाछुट्टै समूहबाट समेत सहभागिता रहेको छ।

यसअघिको सैन्य परिषद्को नेतृत्व गर्नु भएका सैनिक जनरल अब्देल फता अल बुर्हानले नै नयाँ शासन परिषद्को अध्यक्षता गरेका थिए।

अबको सङ्क्रमणकालीन ३९ महिनामध्ये शुरुको २१ महिना उनले नै प्रधानमन्त्रीको पद सम्हाल्नेछन् भने त्यसपछि विपक्षी तथा आन्दोलनकारीको तर्फबाट अब्दुल्ला हामडोक प्रधानमन्त्री बन्नेछन्। उनले पनि अहिलेको शासन परिषद्को सदस्यको रूपमा बुधबार नै शपथग्रहण गरेका छन्।

शासन परिषद्मा नियुक्त भएका ११ जनामध्ये दुई जना महिला रहेका छन् भने एक जना अल्पसङ्ख्यक क्रिश्चीयन समुदायका रहेका छन्।

नयाँ शासन परिषद् गठनसँगै सुडानको राजनीतिक सङ्कट मत्थर हुँदै सहज बाटोतर्फ जाने अपेक्षा धेरैले गरेका छन्।

पाउरोटीको मूल्य बढेको विरोध गरेर शुरु भएको आन्दोलन राष्ट्रपति बसिरविरुद्ध केन्द्रित भएपछि शुरु भएको सुडानको राजनीतिक सङ्कट सैनिक नागरिक सरकार गठनसँगै मत्थर हुन लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.