|

काठमाडौं : सिंगापुरबाट उपचार गरी फर्किएको १० दिनमै प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज दिउँसो त्यसतर्फ लाग्दैछन्।

बिहीबार दिउँसो थाई एयरको नियमित उडानबाट उनी त्यसतर्फ जाने छन्। ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे बुधबार दलहरुलाई जानकारी गराएका छन्। तर सर्वसाधारणले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे एकीन जानकारी पाउन सकेका छैनन्। फर्किनेबित्तिकै किन प्रधानमन्त्री सिंगापुर जाँदैछन्? जनस्तरमा यो प्रश्न अहिले उठिरहेको छ। 

कस्तो छ अवस्था?

उनी आफैंले र सहयोगीहरुले बाहिर हल्ला चलेजस्तो समस्या नभएको तर्क गर्दै आएका छन्। यदि प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ भने किन जाँदैछन् त सिंगापुर?

प्रधानमन्त्री ओलीको निजी तथा क्याबिनेट चिकित्सक मृर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाह प्रधानमन्त्रीको स्वास्थ्यबारेमा सिंगापुरबाट पर्केपछि बोलेकी छैनन्। तर उनकै सल्लाहमा प्रधानमन्त्री फेरि सिंगापुर जान लागेका स्रोतले बताएको छ।

केही समयअघि प्रम ओलीको उपचार टिमका एकजना सदस्यले केही दिन अघिसम्म प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएको खुलासा गरेका थिए। त्यहीकारण प्रम ओली चाँडै बाहिर जान लागेको बताइएको छ।

तर त्यसपछि उनीसहित प्रधानमन्त्री ओलीको उपचारमा रहेका सम्पूर्ण टिमलाई सार्वजनिक रुपमा र पत्रकारहरुसँग प्रधानमन्त्रीको स्वास्थ्यबारेमा बोल्न नदिइएको चिकित्सकहरुले बताउँदै आएका छन्।

प्रधानमन्त्रीको दैनिकी हेर्दा उनको स्वस्थ्यमा ठूलो समस्या रहे जस्तो देखिँदैन। सिंगापुरबाट फर्केदेखि प्रधानमन्त्रीको ओलीकै सक्रियतामा पार्टीको एकताको गाँठो फुकिसकेको छ। उनले सरकारी नियुक्तिदेखि संघीय संसदमा आधा घन्टा भन्दाबढी सम्बोधन गर्नसम्म भ्याएका छन्।

स्वास्थ्यमा समस्या भए पनि ओलीको उपस्थितिमा मन्त्रिपरिषद् बैठक पनि बसेको छ। केही सार्वजनिक समारोहमा उपस्थित भई आफ्नो स्वास्थ्यबारेमा पनि उनले बोलेका छन्। अझै १५ वर्ष बाँच्ने कुरा उनले बताइरहेका छन्।

तर बाहिर बोलेको भन्दा समस्या जटिल रहेको अनुमान धेरैले गरेका छन्। केही दिनअघि संघीय संसदमा सम्बोधनका क्रममा प्रम ओलीले केही असहज महसुस गरेको देख्न सकिन्थ्यो।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण गरिहाल्नुपर्ने अवस्थामा पुगिसकेको छैन। ती चिकित्सकले भने, ‘मृर्गौला फेर्नुपर्ने गरी बिग्रिएको होइन, बरु प्रारम्भिक अवस्थामै समस्या समाधान गर्न चिकित्सकहरुले नयाँ औषधि चलाएका हुन्।‘

सिंगापुर बसाइ लामो

यसअघि सिंगापुर जाँदा चिकित्सकले ओलीले लिइरहेको औषधि परिवर्तन गरेका थिए। तर चिकित्सक टोलीले त्यो औषधिको प्रभाव हेर्न पाएका थिएनन्। परिवर्तन गरिएको औषधिको प्रभाव अस्पतालमै राखेर परिक्षण गर्नुपर्ने भएकाले चिकित्सकले ओलीलाई फेरि बोलाएका हुन्। 

यसअघि नै चिकित्सकले ‌ओलीलाई थप आठ-दश दिन सिंगापुरमै रहन आग्रह गरेका थिए। तर देशको प्रधानमन्त्रीले लामो समय विदेश बस्ने गरी छुट्टी नलिएको भन्दै ओली स्वदेश फर्किएका थिए। अहिले चिकित्सकहरुको आग्रह मान्दै बाँकी परीक्षण पुरा गर्न त्यसतर्फ जान लागेका बताइएको छ। 

१२ वर्षअघि मृर्गौलामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक महिनायता लगातार समस्या देखिइरहेको छ। पछिल्लो समय स्वास्थ्य समस्या झेलिरहेका प्रधानमन्त्रीको रगतमा क्रेटिनाइन र प्रोटिन बढिरहेको चिकित्सकहरूले बताउँदै आएका छन्।

केही समय अगाडि काठमाडौंमै परीक्षण गर्दा रगतमा प्रोटिन र क्रियाटिन बढेपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो। सिंगापुरको अस्पतालमा गरिएको परीक्षणपछि दिइएको औषधीले पनि प्रोटिन र क्रेटिनाइनको मात्रा घट्न सकेको थिए।

यी दुवै तत्व झन् बढेपछि प्रत्यारोपण गरिएको मृर्गौलामा क्रमिक असर पुग्ने आशंकामा पुन परीक्षण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरूले बताएका छन्।

प्रत्यारोपण सम्भावना

यसअघि सिंगापुर जाँदा उनको औषधी परिवर्तन गरिएको हो। यसपटक सिंगापुर गएर प्रधानमन्त्रीले यदि औषधिको प्रभाव राम्रो नदेखिए पुन: मृर्गौला प्रत्यारोपणको सम्भावना रहेको स्रोत बताएको छ।

यसपाली उता गएपछि नयाँ औषधिले शरीरमा एन्टीबोडिज बन्‍न थालेकोसहितका असरबारे पनि जाँच गरिनेछ। औषधीको असर बढी नै नकारात्मक देखिएमा प्रमको सिंगापुर बसाई लामो हुने बताइएको छ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ पनि गर्ने तयारी  गरिएकोछ । आवश्यक परे मिर्गौला प्रत्यारोपणको निर्णय पनि त्यहीँ लिइनेछ।

दिव्या सँगै जाने दिलिप पछि जाने

आज प्रधानमन्त्री ओलीसँग निजी चिकित्सक डा दिव्या सिंह शाह साथ मै जाने छिन्। मृर्गौला प्रत्यारोपण गर्नुपरे अर्कका चिकित्सक डा. दिलिप शर्मा चाँडै चाँडै जाने तयारी छ। 'आज प्रम ओलीसँग डाक्टर दिव्या जानु हुनेछ। केही समयपछि अर्का निजि चिकित्सक डा. दिलिप पनि पनि जानुहुनेछ।‘

यो  पटक पनि यसअघि उपचार गरिएको नेशनल युनिभर्सिटी अस्पतालमै प्रधानमन्त्री ओलीको उपचार हुने छ। यो अस्पताल विश्वमै अंग प्रत्यारोपण गर्न र प्रत्यारोपण  गरेका बिरामीको उपचारका लागि प्रख्यात मानिन्छ।

यसअघि, प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य परिक्षणका लागि सिंगापुर गएका थिए। साउन १९ देखि एकसाता उनी अस्पतालमै रहेका थिए। पूर्वनिर्धारित समयभन्दा एकदिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.