निर्वाचन लड्ने अहिले सोचेको छैन

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आफू उपाध्यक्ष हुँदा देशलाई  कुनै बेफाइदा नभै फाइदा नैं हुने बताएका छन्। 

नेकपा सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

आफूलाई खुसी बनाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सिर्जना गरेको बताउँदै उनले अब आफूले कार्यकर्तालाई खुसी बनाउने उल्लेख गरे। 

विधानमै नभएको पदमा तपाईं किन? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘मैले वरिष्ठ उपाध्यक्ष भएर दुई कार्यकाल १२ वर्ष बिताइसकेको छु। मलाई अध्यक्षहरुले खुसी बनाउन यो पद दिएका हुन् मैंले बुझेको छु। म उपाध्यक्ष हुँदा पार्टी मात्रै होइन देशलाई नै फाइदा हुन्छ म त्यही ढंगले आफूलाई लगाउँछु काम गर्छु। यत्रो पार्टी निर्माण गर्न लागेको छु। जनताका छोरा पार्टी सदस्यहरुलाई म घर घरमा स्थापित गर्छु।’ 

उनले आफू उपाध्यक्ष भएपछि पार्टी र पार्टी बाहिरको पनि लोकतन्त्र बलियो पार्ने उल्लेख गरे। ‘जसरी विरुवा हुर्काउन पोषक तत्व चाहिन्छ, त्यसैगरी म नेकपाका कार्यकर्ताका लागि काम गर्छु’, उनले भने, ‘म उपाध्यक्ष भएपछि आन्तरिक लोकतन्त्र  बाह्य पनि बलियो हुन्छ।’ 

गौतमले आफू कास्की २ बाट उठ्नेबारे केही नसोचेको उल्लेख गरे। ‘कसले भन्यो मेरो प्रधानमन्त्री हुने बाटो खुल्यो? निर्वाचित हुन पर्यो, सिफारिस हुन पर्यो। प्रधानमन्त्री पद खाली हुनुपर्यो । यी कुरा केही भएकै छैनन्, अनि कसरी वामदेव प्रधानमन्त्री हुन्छ?’, उनले भने, ‘मैले उपनिर्वाचनमा उठ्नेबारे सोचेकै छैन। पार्टीले के निर्णय गर्छ उसको कुरा हो। अहिलेसम्म मैले चुनाव लड्नेबारे निर्णय गरेको छैन। उठ्छु पनि कतै भनेको छैन।’

पूर्व एमाले र पूर्व माओवादीको एकताबाट बनेको नेकपालाई बलियो बनाउनु अहिलेको आबश्यकता भएको र सो अभियानमा आफू लाग्ने उनले उल्लेख गरे । गौतमले सचिवालयमा सदस्य थप्ने नेता माधव नेपालको प्रस्तावमा छलफल नगरिएको जानकारी दिए। 

संगठन विभागमा तत्कालीन माओवादीबाट जनार्दन शर्मा प्रभाकर उपप्रमुख रहेका उल्लेख गर्दै मिलेर काम गर्ने बताए। उनले संगठन विभागमार्फत् पार्टी बलियो बनाउने बताए। ‘संगठन विभागले नेता मिलाउने भन्दा पार्टी संगठनलाई दुरुस्त बनाउने हो’, उनले भने, ‘कम्युनिष्ट पार्टी सिद्धान्तले चल्छ। संगठनात्मक सिद्धान्त नियमसंगत हुन्छ। पार्टी विधान, नियमावली र हाम्रो परम्परा जोडेर पार्टी दुरुस्त बनाउने हो।’ 

नेता गौतमले माधव नेपालले फरक मत दर्ता गराए पनि सहमतिका आधारमा  अघि बढ्ने बताए। ‘फरक मत राख्नै पर्ने थिएन’, उनले भने, ‘यसमा भएका विषयहरु मैले नै ६ महिना अघि बैठकमै राखेको थिएँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.