|
फाइल फोटो

चितवन : सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा अराजक रुपमा प्रदर्शन गर्ने २२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा दर्ता गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले प्रहरीलाई ढुंगा हान्ने, अपशब्द प्रयोग गर्नेलगायतका खराब आचरण देखाएकाले पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ।

यसअघि साउन ३२ गते पक्राउ परेका चारजना भने जनही ५ सय धरौटीमा रिहा भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताए। प्रहरीले भदौ २ गते १० जना र साउन ३ गते ८ जना पक्राउ परेका थिए। उनीहरूमाथि थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।

यसअघि १४ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा हिजो ८ जनालाई पनि मुद्दा चलाइएको प्रहरीले जनाएको छ। दोस्रो पटक म्याद थप गरिएपछि प्रदर्शनकारीको संख्या न्यून देखिएको छ भने जम्मा भएका प्रदर्शनकारीले शान्तिपूर्ण कार्यक्रम गरी नारा लगाइरहेका छन्।

पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा नाम मुछिएपछि पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुक कार्कीमाथि दोस्रो पटक म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारू होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनको मोबाइलमा मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो भेटिएपछि त्यही भिडियोका आधारमा रविसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.