|

तनहुँ : जिल्लाका सरकारी कार्यालयहरूमा छड्के अनुगमन गर्दा ११२ कर्मचारी कार्यालय पुग्ने गरेका छैनन्।

जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार जिल्लास्थित संघीय तथा प्रदेश मातहतका २१ सरकारी कार्यालयमा बिहान १० बजेदेखि ११ बजेसम्म गरिएको छड्केमा ११२ कर्मचारी अनुपस्थित रहेको पाइएको हो।  

छड्केका क्रममा आमजनताको स्वास्थ्यप्रति गम्भीर बन्नुपर्ने संवेदशनशील मानिएको दमौली अस्पतालमा मात्रै ३९ कर्मचारी कार्यालय समयमा अनुपस्थित भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

‘यो समय अस्पतालमा बिरामीको चाप बढेको अवस्थामा समेत अस्पतालका कर्मचारी समयमा कार्यालय पुग्ने गरेको भेटिएन। अस्पतालको कर्मचारीको अनुपस्थितिले बिरामीको स्वास्थ्यमा सिधै खेलवाड गरिरहेको देखिन्छ’ उनले भने। 

त्यसैगरी अनुगमनका क्रममा कोलेनिका आयुर्वेद र स्वास्थ्य कार्यालयमा भने सबै कर्मचारी उपस्थित रहेको पाइएको पण्डितले बताए। उनले निरीक्षणको क्रममा सम्बन्धित कार्यालयको गत वर्षदेखि हालसम्मको हाजिरी अभिलेख हेर्दा कर्मचारीले लिएको बिदा, काज, सरुवा, बढुवा लगायतको अभिलेख समेत राखिएको नदेखिएको बताए। उनीहरूको अद्यावधिक गर्न र जानकारीबिना अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरण लिन कार्यालय प्रमुखलाई निर्देशन दिइएको पनि उनले बताए।  

निरीक्षण अनुगमनलाई निरन्तरता दिइने बताउँदै प्रजिअ पण्डितले कर्मचारीले गर्नुपर्ने पोशाकको प्रयोग, परिचय पत्र, नागरिक वडापत्र, सेवा प्रवाह पदपूर्ति, जनशक्ति व्यवस्थापन, कार्यालयको सरसफाई लगायत सुशासन ऐन तथा नियमावली बमोजिम गर्नुपर्ने विस्तृत अनुगमन तथा निरीक्षण निकट भविष्यमा पुनः सञ्चालन गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.