|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरमा एककोठे घर छ। बाहिर हेर्दा ठाडो देखिए पनि चारैतिर चर्किएको छ। कुनैपनि बेला भत्किने अवस्थामा रहेको घरमा बर्खाको समयमा चारैतिरबाट पानी छिर्छ। उपल्लाचौर आधारभूत विद्यालयको माथिल्लो भागमा अवस्थित घरभित्र विगत १२ वर्षदेखि ७५ वर्षिया हिरामती कामी बस्दै आएकी छन्।

बाहिरबाट हेर्दा घरजस्तै देखिए पनि भित्र बाख्राको खोरभन्दा कम छैन। पुरानो एकसरो ओड्ने सिरक, दाउरालाई सिरानी बनाएर सुत्ने गरेकी कामीले कुनामा बनाएको अँगेनोमा मुस्किलले एकदुई हप्तामा एकपटक आगो बल्छ। पुराना भाँडाकुडा चुहिने अवस्थामा छन् भने एकछाक पकाउने चामलसमेत छैन।

पेटभरी खान पाए अहोभाग्‍य

छिमेकीले पकाएर दिएकै भरमा रात कटाउने गरेकी कामीले पेटभरी भात खान पाउनुलाई नै अहोभाग्य ठान्छिन्। बर्खाको समयमा पानी चुहिएकाले सुत्ने ठाउँसमेत चिसो छ। चर्किएको गारोबाट पानी छिर्ने हुँदा आफ्नो टाउकोसमेत लुकाउन पर्ने गरेको उनले बताइन्।

‘छिमेकीले दिएको खान खाएर बाँचेकी छु, पुराना पोका पुन्तुरासमेत गाउँलेले दिएका छन्, चर्किएको घर भत्किएर मर्छु भन्ने डर मात्रै छ’ उनले भनिन्। पुराना ओड्ने विस्तारादेखि लगाउँने कपडासमेत सहयोग मागेर चलाइरहेको बताइन्।

उपल्लाचौरकै माथिल्लो बस्तीबाट विस्थापित भएकी किसानको छोराको मृत्यु भएपछि उनले त्यहीँ बसेर गुजारा चलाइरहेकी छन्। पुरानो ठाउँमा बस्ने अवस्था नभएपछि अर्काको जग्गामा बस्दै आएकी कामीले चाडपर्वमा समेत आफन्त नआउँदा निराश हुने गरेको बताइन्। ‘भएको छोरो मर्‍यो, छोरीले साथ दिइनन्’ आँखाबाट बलिन्द्र आँसुको धारा चुहाउँदै कामीले भनिन्।

सुरक्षित ठाउँमा सानो घर बनाएर बस्ने चाहना कामीको छ। ‘पुरानो ठाउँमा फर्किन्‍नँ, त्यहाँ मलाई नै गाली गर्छन्, नयाँ ठाउँमा नभत्किने घरमा जाने चाहना छ’ उनले भनिन्।

विवाह गरेकी छोरीले बुझ्छिन् भत्ता

यता, वडा अध्यक्ष टेकबहादुर रावलले बृद्धाको सामाजिक सुरक्षाभत्ता बेनपा–३ भकिम्लीमा विवाह गरेकी छोरीले बुझ्ने र उनैले खर्च गर्ने गरेको जानकारी पाएपछि बैंकमा रोक्का गरे पनि वृद्धाले बेनीमा जान नमानेपछि प्रयोग गर्न नपाएको बताए।

‘उहाँको समस्यालाई नजिकबाट हेरेको छु, मैले आवश्यक पहल गरिरहेको छु’ अध्यक्ष रावलले भने। ‘अहिले बसिरहेको ठाउँमा घर बनाउन असभ्भव भएकाले अर्को सुरक्षित स्थानमा लैजान आवश्यक सहयोग गर्ने अध्यक्ष रावलले बताए। सामाजिक सुरक्षाभत्ता सहित आवश्यकता अनुसार केही लत्ताकपडा, खाद्यान्न सहयोग भए पनि धेरै राहत हुने भएकाले सहयोगको अपिल गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.