|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीलाई जोड्ने एक मात्र सडक पोखरा-बागलुङ सडकखण्ड बिहीबारदेखि दैनिक ८ घण्टा अवरुद्ध हुने भएको छ।

पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवावारिदेखि बागलुङको बागलुङ नगरपालिका १ बाङ्गेचौर जोड्ने गरी निर्माण हुन लागेको झोलुङ्गे पुल निर्माणको लागि सडक बन्द गर्न लागिएको हो। कालीगण्डकी नदीमाथि निर्माण हुन लागेको उक्त पुलले बागलुङ र पर्वत जिल्लालाई जोड्दैछ।

पुलको निर्माणको क्रममा जग खन्ने काम सुरु गर्न लागिएको र उक्त जग तथा पुल पोखरा बागलुङ सडक खण्डको सिधा माथि पर्ने भएकोले जोखिमबाट बचाउनको लागि सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

‘झोलुङ्गे पुल निर्माण गर्न लागिएको ठाउँ सडकको सिधा माथि पर्छ, जग खन्ने क्रममा माथिबाट झर्ने ढुङ्गा र माटो सडकमा आउने जोखिम छ’ उनले भने, ‘बागलुङ जिल्लासँगको सहकार्यमा दैनिक ८ घण्टा बन्द गर्न लागिएको हो। जग खन्ने काम सकिएपछि  अहिलेकै अवस्थामा बाटो सञ्चालनमा आउने छ।’

जग निर्माण कार्यले बागलुङबाट पर्वत जिल्ला हुँदै बाहिरिने र भित्रिने सवारीलाई असर नगर्ने भए पनि म्याग्दी र मुस्ताङ जिल्ला आवतजावत सवारीहरूलाई भने मर्का पर्ने भएको छ। सडकखण्ड बिहान ७ बजेदेखि ९ बजेसम्म २ घण्टा र बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ६ घण्टा गरी ८ घण्टा बन्द हुने छ।

जग खन्ने प्रयोजनको लागि ९ दिनसम्म कुस्मा नगरपालिका १ पाङको मालढुंगादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्मको सडक अवरुद्ध रहने छ। दैनिक घण्टौँसम्म सडक अवरुद्ध हुँदा यात्रीहरूलाई सास्ती हुने भएकोले निर्माणको काम गरेको कम्पनीलाई ढिला नहुने गरी धमाधम काम गर्न भनिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ।

सडक बन्द हुँदा म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारी साधनहरूलाई सकस हुने छ। वर्षा रोकिनु र चाडपर्वहरूको सुरुवात भइसकेकोले मुस्ताङ जिल्ला आउजाउ गर्ने तीर्थयात्री तथा पर्यटकहरू सडकका कारण बढी मर्कामा पर्ने छन्। सडक बन्द गरिँदा पर्यटन क्षेत्रमा पनि उस्तै असर पर्ने भएकोले पुलको जग निर्माणको छिटो सक्ने गरी काम हुने प्रहरी निरीक्षक रायमाझीको भनाई छ।

९ दिनको अवधिमा म्याग्दी र मुस्ताङबाट पर्वत हुँदै अन्य जिल्लामा आउजाउ गर्नको लागि सिधा बाटो अवरुद्ध भए पनि केही घुमाउरो भए पनि वैकल्पिक बाटोको प्रयोग गर्न भने सकिने छ। मालढुङ्गा, जलजला हुँदै बेनी, म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारी साधनहरू बागलुङ बजार हुँदै म्याग्दीको रत्नेचौर निस्किएर बेनी बजार आउजाउ गर्न सक्नेछन्।

यस अगाडी पनि पर्वत र बागलुङ र पर्वत जिल्ला जोड्ने २ ओटा लामा पुलहरू कालीगण्डकी नदीमाथि निर्माण भइसकेका छन्। पर्वत सदरमुकाम कुस्माको बडागाउँदेखि बागलुङ बलेवाको कैया जोड्ने गरी पुल सञ्चालनमा छ भने बन्जी जम्पका लागि निर्माण गरिएको बन्जी ब्रिजबाट पनि मानिसहरू कुस्मा बलेवा आउजाउ गर्न थालेका छन्।

तर, अदुवावारिदेखि बाङ्गेचौर जोड्ने पुल भने नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हुँदैछ। यसको लम्बाई ५ सय ६७ मिटरको हुनेछ भने उचाइ १ सय ३८ मिटर बन्नेछ। पुल निर्माणको लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.