एक वडा एक प्राविधिक, तीन वडा एक इन्जिनियर

|

बुटवल : ठेक्कापट्टाका काम समयमै सम्पन्न नहुने र त्यसका प्राविधिक भाषासमेत झन्झटिलो हुने समस्या छ। निर्माण कम्पनी तथा ठेकेदारले तयार पारेका विवरणहरू प्रायः सबैले नबुझ्ने खालका हुने गरेको गुनासा पनि उत्तिकै छन्। 

अब बुटवल उपमहानगरपालिकाले यस्ता विकास निर्माणका कामको लगत स्टिमेट तयार पार्ने विधि, पद्दति र भाषाका बारेमा नौलो कामको थालनी गरेको छ। नगरका १९ वटै वडाहरूमा लागू हुने गरी लगत स्टिमेट अब नेपाली भाषामा गरिने भएको छ।

उपभोक्ता समितिहरूमार्फत निर्माण गरिने कामहरूलाई अझ प्रभावकारी, गुणस्तरी र टिकाउ बनाउने भन्दै बुटवल उपमहानगरपालिकाले प्रदेशमै पहिलो पटक यस्तो कामको थालनी गरेको हो। लगत स्टीमेट तयार नभएसम्म सम्झौता नहुने भएकोले लगत स्टिमेट बनाउँदा नै सबैले बुझ्ने भाषमा सहज तरिकाले बनाउन निर्देशन दिइएको बुटवल उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। 

सार्वजनिक निर्माणका विकासे कामको गुणस्तरीयता बढाउने र त्यसको निगरानीका लागि उपभोक्तालाई समेत सजग बनाउने गरी अभियान सञ्चालन गरिएको कावा प्रमुखसमेत रहेका प्रवक्ता रेग्मीको भनाइ छ। 

जनताले कर तिरेको पैसाबाट निर्माण हुने कामहरू गुणस्तरीय नहुँदा त्यसको मार पनि जनतामै पर्ने भएकाले जनताको प्रत्यक्ष निगरानी र दक्ष प्राविधिक उत्कृष्ट डिजाइनका आधारमा मात्रै काम अगाडि बढाइने छ’ प्रवक्ता रेग्मीले भने, ‘बुटवलले अब जनसहभागिताका र अरु सबैखाले कामलाई गुणस्तरीय बनाउने गरी अभियान सुरु गरेको छ।’

समयमा काम सम्पन्न भए नभएको विषयमा सोधखोज गर्ने र जिम्मेवारी महसुस गर्ने बनाउन समेत यसखालको अभियानले काम गर्ने उपमहानगरको विश्वास छ। उपभोक्तालाई नै कामको निगरानी गर्न र खबरदारी गर्न लगाउँदा जुनसुकै पक्षबाट हुनसक्ने लापरवाहीको रेखदेखसमेत हुने अपेक्षाका साथ अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए। 

उनले बुटवल १९ वटै वडाहरुमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने विभिन्न निर्माणका कामलाई अझ गुणस्तरीय बनाउने र त्यसमा नागरिकको नियमित निगरानीसमेत जुटाउने गरी काम सुरु गर्न लागिएको बताए।

निर्माणका काम गर्दा धेरै अल्झिएको नियम कानुनको साटो सरल, व्यवहारिक तथा काम राम्रो र समयमा हुन सक्ने प्रावधान ल्याउँदा जनतामा एक प्रकारको उत्साह जाग्ने विश्वास गरिएको शर्माको भनाइ छ। 

बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समितिहरुमार्फत ६९३ वटा योजना सञ्चालन गरेको थियो। यीमध्ये ५३४ योजना सम्पन्न भएका छन्। ती योजनाका लागि ७८ करोड ९७ लाख २८ हजार २०५ रुपैयाँ बराबरको लगत स्टिमेट निकालिइएको थियो।

समयमै काम सम्पन्न गर्ने उपभोक्ता समितिहरूलाई बुटवलले हरेक वर्ष सम्मानसमेत गर्दै आएको योजना अनुगमन तथा सुपेरिवेक्षण महाशाखा प्रमुख शिवनारायण शाहले जानकारी दिए।

उपभोक्ता समितिहरुले गरेका कामको प्राविधिकसहितको टोलीले अनुगमन गर्ने र त्यसका आधारमा प्रक्रियामा हालेर रकम भुक्तानी दिने पद्दति रहेको शाहले बताए।

एक वडा एक प्राविधिक

बुटवल उपमहानगरपालिकाले एक वडा एक प्राविधिक र तीन वडा एक इन्जिनियर खटाउने कामको समेत सुरुवात गरेको छ। यस्ता प्राविधिक र इन्जिनियरलाई उपमहानगरमा विशेष तालिमसमेत दिएको छ। उपमहानगरका १९ वटै वडाहरुमा खटिने प्राविधिक र इन्जिनियरलाई प्रशिक्षण दिइएको उपमहानगरका वरिष्ठ इन्जिनियर तथा शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सुमन श्रेष्ठले बताए।

तालिममा नयाँ ३० जना र पहिलेदेखि कार्यरत प्राविधिक तथा इन्जिनियरको सहभागिता छ। महाशाखा प्रमुख इन्जिनियर श्रेष्ठका अनुसार यसरी प्रशिक्षण लिएका प्राविधिकले लगत स्टिमेटदेखि वडा तहमा सञ्चालन हुने योजनालाई टिकाउ, गुणस्तरीय बनाउने नयाँ नयाँ उपायहरू खोजी गर्दै लागू गर्ने छन्।

प्राविधिकले तयार पारेको काममा मातहतका विषय विज्ञ र इन्जिनियरले थप अध्यय्न गरेपछि मात्रै निर्माणको चरणका प्रक्रिया अगाडि बढाउने गरी अभियान सुरु भएको अर्का इन्जिनियर गौतम रौनियारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.