|
त्रिविको कामु उपकुलपति डा. सुधा त्रिपाठी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु)उपकुलपतिको जिम्मेवारी दिइएको छ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु उपकुलपतिको जिम्मेवारी तोक्दै पत्र पठाएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिमा शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ। त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँको भोलि शुक्रबारदेखि पदावधि सकिने भएकोले शिक्षाध्यक्ष डा. त्रिपाठीलाई कामु उपकुलपति तोकिएको हो।

त्रिवि ऐन–२०४९ को दफा २१ को (ख) अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महीनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्थाअनुसार नै कदम चालिएको हो।

त्रिविको उपकुलपतिसहित पदाधिकारीको नाम सिफारिस गर्न गठित शिक्षामन्त्री पोखरेलको संयोजत्वमा गठित सर्च कमिटीले नाम सिफारिस गर्न नसकेपछि त्रिवि ऐनअनुसार शिक्षाध्यक्ष डा. त्रिपाठीलाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको हो।

त्रिविका कुलपति तथा प्रधानमन्त्री उपचारका क्रममा बिहीबार सिंगापुर गएकाले फर्कन केही समय लाग्ने भएकाले पनि अहिले कामु उपकुलपतिको व्यवस्था गरिएको हो।

यसैगरी कृषि विश्वविद्यालयमा पशु, विज्ञान, भेटरिनरी विज्ञान तथा मत्स्यपालन सङ्कायका डिन शारदा थपलियालाई कामु उपकुलपति, संस्कृति विश्वविद्यालयमा शिक्षाध्यक्ष रमेश ढकाललाई कामु उपकुलपति र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी तोकिएको छ।

चारैजना कामु उपकुलपतिलाई भोलि पत्र दिने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

कृषि, संस्कृति तथा पूर्वाञ्चल विश्वविद्यालयमा समेत उपकुलपतिको पदावधि शुक्रबारदेखि सकिने भएकाले कामु उपकुलपतिको तोकिएको हो।

यसैगरी कृषि र पूर्वाञ्चल विश्वविद्यालयको पदाधिकारी छनोट गर्नका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षासचिव रहेको सर्च कमिटी गठन गरिएको छ।

यस्तै संस्कृति विश्वविद्यालय पदाधिकारी र सेवा आयोगको पदाधिकारी छनोट गर्नका लागि शिक्षामन्त्री पोखरेलसहित विश्वविद्यालय अनुदान आयोगका सदस्य र शिक्षा सचिव रहेको सर्च कमिटी गठन गरिएको छ।

यसैगरी त्रिविको उपकुलपतिसहित पदाधिकारीसहितको नाम सिफारिस गर्नका लागि सर्च कमिटीलाई म्याद भदौ २० गतेसम्म थपिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.