|

पाँचथर : गत असारमा सामाजिक सञ्जाल फेसबुकमा पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरीमा मन्दिर निर्माण भएको फोटो सार्वजनिक भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको पाँच लाख गरी ५५ लाख रुपैयाँमा निर्माण भएको धारा, बाटो, पाटीसहितको मन्दिरको फोटो एकाएक भाइरल भयो। यससँगै मन्दिर निर्माणको आलोचना र विरोध पनि तीव्र विरोध हुँदै आएको छ। 

विरोधमा उत्रिएका लिम्बु समुदायले तिम्बुङ पोखरीलाई विष्णु पोखरी बनाउन लागेको, मुन्धुममा वर्णित स्थलमाथि धार्मिक र सांस्कृतिक अतिक्रमण भएको, लिम्बु जातिभित्रको बेघा र माङ्मु थरको उत्पत्ति क्षेत्र र प्राकृतिक रुपमै सुन्दर पोखरीमा सिमेन्ट, रड आदिको प्रयोग गरेर पोखरीको प्राकृतिक स्वरुप बिगारेको दाबी गर्दै आएका छन्। यससँगै पोखरीलाई दुषित बनाउन खोजेको जिकिर पनि छ। उनीहरुले उक्त मन्दिर तुरुन्त सार्न माग गरेका छन्। माग सम्बोधन गराउन दबाब स्वरुप मन्दिरमा ‘तिम्बुङ वारक बचाउ अभियान’ले ताला पनि लगाएको छ।

अभियानले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिदिङ्वा गाउँपालिकालाई मन्दिर अन्यन्त्र स्थानान्तरणका लागि माग गर्दै ज्ञापनपत्र पनि बुझाएको छ। ज्ञापन पत्रमार्फत तिम्बुङ पोखरी क्षेत्रबाट मन्दिर अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने बटम लाइन रहेको अभियानले जनाएको छ। 

प्रशासनले बोलाएको बैठक अनिर्णित

मन्दिरमा ताला लगाइएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सर्वपक्षीय/सर्वदलीय बैठक मंगलबार बोलायो। आन्दोलनकारीसँगै ताप्लेजुङका राजनीतिक दल, तिम्बुङ पोखरीसँग सरोकार राख्ने समुदाय र संघसंस्थाका प्रतिनिधि सम्मिलित बैठकको सुरुमै सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले यसअघि तीन पटकसम्म तिम्बुङ पोखरीमा महोत्सव आयोजना गरेको र महोत्सवमा आउनेहरुले मन्दिरसँगै धारा, पाटी, शौचालय आदि बनाउन सुझाव दिएपछि गत सालको पुस ९ मा गाउँपालिकाले सुझावअनुसारै मन्दिर लगायतका संरचना बनाउने निर्णय गरेको बताए। 

उनका अनुसार तत्कालीन संघीय सांसद हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमार्फत उनले नै अहिले सम्हालेका मन्त्रालयबाट ५० लाख रुपैयाँ प्राप्त भएको र गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर मन्दिरसहितको संरचना निर्माण गरिएको हो। तिम्बुङ पोखरीलाई तिम्बुङ पोखरी नै बनाउन खोजिएको र नाम परिवर्तन नहुने भन्दै ताला खोल्नु पर्ने बताए। ‘गल्ती भयो। अब गल्ती गर्नेलाई के गर्नुपर्छ गरौं तर मन्दिरमा लागेको ताला खोलौं,’ अध्यक्ष कडरियाले भने, ‘विष्णुको मूर्ति ल्याइएको छ, त्यही भनिएको होला। मिलाऔं। विवाद भए पर्यटन प्रवर्द्धन हुँदैन।’ 

बैठकमा कडरियापछि ‘तिम्बुङ वारक बचाउ’ अभियानका संयोजक दिलेन्द्र कुरुम्बाङले लिम्बु जातिको परापूर्वकालदेखि आध्यात्मिक सम्बन्ध भएको ठाउँमा मन्दिरलगायतका संरचना बनाउँदा कस्तो होला भन्दै प्रश्न गरे। पशुपतिनाथ क्षेत्रमा गुम्बा, माङहिम, चर्च आदि बनाउँदा मान्य होला? भन्दै कड्किएका उनले अब तिम्बुङ पोखरी क्षेत्रमा निर्माण गरिएको मन्दिर जसरी भए पनि सार्नुपर्ने अडान राखे। ‘तिम्बुङ पोखरी यथास्थितिमा हुनुपर्छ। प्रकृतिले सिँगारेको ठाउँमा किन संरचना बनाउने? रड, सिमेन्ट किन प्रयोग गर्नु,’ उनले भने, ‘तिम्बुङ पोखरीको भर्जिनिटी खत्तम नगरौं। लिम्बु जातिको मुन्धुममा उक्त स्थलको वर्णन जुन् ढंगले भएको त्यस्तै राखौं।’ एक समुदायले अर्काको आध्यात्मिक स्थलमाथि अतिक्रमण गर्नु अनुचित रहेको उनले बताए। 

तिम्बुङ पोखरीमा मन्दिरसहितको संरचनाहरु निर्माण गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष याम बानियाँले पोखरीको छेउमा मन्दिर र पोखरीदेखि ४÷५ मिटरको दूरीमा पाटी, २ वटा चर्पी, १ वटा स्नान कक्ष र त्यहाँ विष्णु नारायण भनेर पुजिने गरेको सुनिएकाले विष्णुको मुर्ति ल्याउन काठमाडौंमा अर्डर गरेको बताए।

गाउँपालिकाका उपाध्यक्ष विष्णु ताम्लिङले गत पुस ९ मा गाउँपालिकाको निर्णयको १७ नम्बर बुँदामा ‘पर्यटन प्रर्बद्धनको लागि तिम्बुङ पोखरीमा पर्यटन मन्त्रालयबाट आउने ५० लाख र गाउँपालिकाको ५ लाख रुपैयाँ बजेटबाट तिम्बुङ पोखरी क्षेत्रमा पदमार्ग, मन्दिर, शौचालय, धारा र पाटी बनाउने’ उल्लेख गरेको बताउँदै विष्णुको मूर्ति खरिद गर्ने उल्लेख नभएको बताए। उनले निर्णयमा उल्लेख नै नभएको विष्णुको मूर्ति खरिद गर्ने कुरा कसरी आयो भनी प्रश्न गरे ।

तिम्बुङ पोखरी क्षेत्रलाई परापूर्वकालदेखि लिम्बु समुदायले पवित्रस्थलको रुपमा पुज्दै आएका छन्। पाँचथरको याङ्वरकका किपट आन्दोलनको अगुवा समेत रहेका मचिन्द्र बेघाले भूमिसँग सरोकार राख्ने समुदायलाई थाहै नदिई राज्यको पैसा छ भन्दैमा बनाएको मन्दिर प्रहरी प्रशासनले नै हटाउनुपर्ने माग गरेका छन्। 

कानुनमा के छ ? 

नेपालको संविधान २०७२ को धारा २६ मा रहेको धार्मिक स्वतन्त्रताको हकको उपधारा ३ मा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकता प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न वा गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख छ। 

अधिकारकर्मी मंगल बेघा तिम्बुङ पोखरीमा मन्दिर निर्माण गरिँदा किरात मुन्धुम र मुन्धुमी सभ्यतामाथि गम्भीर खलल पुगेको बताउँछन्। यसले गर्दा मन्दिर अन्यन्त्र स्थानान्तरण गरेर धार्मिक, सांस्कृतिक र जातिय सद्भाव कायम गराउनु पर्ने उनको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.