|

काठमाडौं : गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका दिएका छन्। शुभकामनामा उनीहरुको समाजलाई जोड्ने महत्त्वपूर्ण कडी भनेकै संस्कृति रहेको उल्लेख गरेका छन्।  

राष्ट्रपति भण्डारीको शुभकामना 

गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको र हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्त्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको राष्ट्रपति भण्डारीले बताएकी छन्। 

उनको सन्देशमा भनिएको छ, “विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु।” 

 उपराष्ट्रपति शुभकामना 

उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले  गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताएका छन्। 

“सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्यजस्ता संस्कार, संस्कृतिले झनै सुन्दर बनाएको छ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन्। 

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाइने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता खुशी हुनेजस्ता जनविश्वास रहिआएको उनले स्मरण गरे। 

प्रधानमन्त्रीको शुभकामना 

प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताएका छन्। गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने यस पर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने बताए। उनले सन्देशमा धार्मिक र सांस्कृतिक महत्त्वका साथ गौरा पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुस्वाथ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरु निधि रहेको बताए। 

“हाम्रो देशको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई हामीले सधैँ एकताबद्ध भएर परास्त गर्दै आएका छौँ”, उनको सन्देशमा भनिएको छ, “हिमाल, पहाड र तराईका नेपालीहरुबीचको आपसी एकता झनझन प्रगाढ हुँदै गएको छ।”

हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्तरघुलन अनुपम उदाहरण रहेको उल्लेख गर्दै  सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौँ पर्व र सांस्कृतिक अवसरमध्येको गौरा पर्वले समस्त नेपाली दिदी बहिनी दाजुभाइबीचको आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.