|

रुकुम : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले केही गाउँलाई स्याउ पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ। प्रदेश नम्बर ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा अधिकांश ठाउँमा स्याउ राम्रो उत्पादन हुने गर्दछ।

वडा नम्बर–१० तकसेरामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने गरेको छ। त्यस्तै, वडा नम्बर २ पेल्माको स्याउमा पनि राम्रो स्याउ उत्पादन हुने भए पनि आवश्यक बजार पाउन सकेको छैन।

 गाउँपालिकाको पेल्मा गाउँ दुर्गम क्षेत्र हो भने हालसम्म यातायातको सुविधा पनि पुगेको छैन। गाउँपालिको केन्द्र भएको तकसेरा आउन त्यहाँबाट दुई दिन लाग्ने गरेको छ। गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले त्यस क्षेत्रमा हाल बारीमा लटरम्म स्याउ फलेको भए पनि आवश्यक बजार पाउन र दुवानी समस्याका कारण स्थानीय चिन्तित भएको बताए।

‘अहिले गाउँपालिकाको केन्द्र भएदेखि अर्गानिक स्याउ बाहिरबाट काम विशेषले जाने व्यक्तिले स्याउ बारीमै गएर किन्ने गरेका छन्।’ उनले भने, ‘ढुवानी समस्या भएका ठाउँमा जतिसक्दो यातायातको पहुँच विस्तार गरेरसँगै अन्य अनकूल ठाउँमा स्याउ पकेट क्षेत्रको रूपमा पनि विकास गरिनेछ।’

सस्तैमा बेचे पनि एक लाख बढी

तर तकसेरामा सडक पुगेसँगै गाउँपालिकाको केन्द्र भएको हुनाले बाहिरका मान्छेको आउजाउ बढ्दा स्याउ बेच्न बाहिर जानुपरेको छैन। ०४० देखि स्याउ खेती गर्दै आएका प्रवेश बुढाले आफ्नो बारीमा २ सय ५० भन्दा बढी स्याउका बोट रहेकोमा सस्तोमा बेच्दा पनि एकलाख बढी आम्दानी हुने गरेको जानकारी दिए।

‘घरबाटै विक्री गर्दा खासै मूल्य त पर्दैन’ उनले भने, ‘तैपनि त्यत्तिकै खेर जानुभन्दा घरमै आएका ग्राहकलाई सस्तोमै दिने गरेका छौँ।’ यसवर्ष प्रतिगोटा पाँच रुपियाँका दरले स्याउ बिक्री गर्ने गरेको र स्याउ किन्न दैनिक ३/४ जना ग्राहक घरमै आउने गरेको प्रवेशले बताए। बाहिर भएका आफन्तलाई स्याउ पठाइदिने र घरमा आउने पाहुनाको स्वागतमा पनि दिने चलन भएकोले खासै आफूहरु व्यावसायिक हुन नसकेको उनको भनाइ छ।

पकेट क्षेत्र बनाउन बजेट

स्याउ राम्रो उत्पादन हुने पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न स्थानमा स्याउ पकेट क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले बजेटको व्यवस्थासमेत गरेको छ। विशेष गरी तकसेरा, पेल्मा र हुकामका कृषकको मागलाई मध्यनजर गरी चालू आर्थिक वर्ष ०७६/०७७ का लागि तीन गाउँका लागि २०/२० लाख र ८ नम्बर वडा

चारगाउँमा सुन्तला पकेटका लागि पनि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिए। स्याउ पकेट क्षेत्र विकासबाट नै बजार व्यवस्थापनका काम पनि गरिने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.